मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पक्राउ पुर्जी जारी भए पनि सहकारीमा ठगी गरेर फरार भए यी दम्पती

पक्राउ पुर्जी जारी भए पनि सहकारीमा ठगी गरेर फरार भए यी दम्पती

अपि टाइम्स

लमजुङ । प्रहरीले बेंसीसहरस्थित कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडसम्बद्ध ६ जनालाई पक्राउ गरे पनि मुख्य दोषी भनिएका २ जना १ सातादेखि फरार छन् ।

सहकारीले बचत फिर्ता दिन नसकेपछि सहकारीका अध्यक्षसहित ६ जनालाई मंसिर १० गते आइतबार पक्राउ गरेको थियो । तर, सहकारी रजिष्ट्रार कार्यालयले गरेको कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक गतिविधि तथा वित्तीय विवरण सम्बन्धमा गरिएको छानबिनउपर रायसहितको प्रतिवेदनमा मुख्य दोषी देखाइएका तत्कालीन कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मृगेन्द्र घिमिरे र उनकी श्रीमती तत्कालीन कालिका सहकारीका प्रबन्धक हाल एकीकरणपछि बनेको कालिका सहकारीका कोषाध्यक्ष विनिता घिमिरे फरार छन् ।

केही बचतकर्ताको निवेदन परेपछि लमजुङ प्रहरीले कात्तिक ३ गते एक सूचना जारी गरी मंसिर १० गतेभित्रमा बचतकर्ताहरुलाई उजुरी दिन आग्रह गरेको थियो । सूचनाको म्याद सकिएको दिन सहकारीका अध्यक्ष शिवराम सिलवाल, उपाध्यक्ष श्रीकृष्ण लामिछाने, सचिव कृष्णबहादुर खत्री, सदस्य मिलन शर्मा दनाइँ, प्रमुख कार्यकारी अधिकृत वेदराज खनिया र लेखापरीक्षक महेन्द्र शर्मा पौडेललाई पक्राउ गरे पनि घिमिरे दम्पती भने फरार हुन सफल भएका हुन् । उनीहरुलाई राजनीतिक संरक्षण र प्रहरीले नै भगाएको आरोप लागेको छ । प्रहरी हिरासतमा रहेका ६ जनामध्ये कृष्णबहादुर खत्रीको नाम प्रतिवेदनमा कहींकतै उल्लेख छैन ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले फरार रहेकाको खोजी तीव्र पारिएको बताए ।

प्रहरीका अनुसार सहकारीले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको भन्दै ३५ जना बढीको निवेदन उजुरी परेपछि ‘सहकारी ठगी’ मुद्दामा अनुसन्धान गर्न पहिलो चरणमा ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । मुख्य दोषीलाई पक्राउ नगरी आफूहरुलाई मात्रै पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको भन्दै थुनामा रहेकाहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।कान्तिपुरबाट