मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु महोत्सवमा डा. भण्डारीको ४० मिनेटः राजादेखि सरकारसम्मका कुरा

कपिलवस्तु महोत्सवमा डा. भण्डारीको ४० मिनेटः राजादेखि सरकारसम्मका कुरा

अपि टाइम्स

कपिलवस्तु । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य डाक्टर चन्द्र भण्डारीले कपिलवस्तु आएर करिब ४० मिनेट लामो सार्वजनिक मन्तव्य दिएका छन् ।

जिल्लाको बाणगंगा नगरपालिकामा बाणगंगा वेलफेयर सोसाइटीले आयोजना गरेको १४ औ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै डाक्टर भण्डारीले राजा फालेपछि पनि मुलुकले विकासमा गति लिन नसकेको बताए । वर्तमान सरकारले काम गर्न नसक्दा जताततै निरासा सिर्जना भएको बताउँदै भण्डारीले राजनैतिक दल र ती दलका नेताहरूको कामबाट जनताका अपेक्षाहरू पुरा हुन नसकेको बताए । अब पनि नेताहरू नसुध्रिए जनताबाट ठुलो विद्रोह सुरु हुने उनको भनाई छ । नेताहरुले मुलुक लुटिरहेको स्विकार गर्दै भण्डारीले अब त्यो छुट जनतालाई सह्य नहुने बताए ।

यहि अवस्था जारी रहे जतिसुकै लामो इतिहास र योगदान रहे पनि पुराना दलहरु सिद्धिनुको विकल्प नभएको भण्डारीको ठहर छ । राजा, राणा फालेर मुलुक विकास हुन्छ भन्ने जनताको आशामा नेता र बन्ने सरकारले विश्वास घात गरेको उनको ठहर थियो ।
बिभिन्न नाममा जनता सडकमा उर्लनुको दोष पनि राजनैतिक दलहररुले लिनुपर्ने भण्डारीको भनाई छ । विश्वमा शान्ति छरेको बुद्धस्थल नै अशान्त हुनु मुलुकको लागि दुर्भाय रहेको उनको भनाई छ । बुद्ध रंगशालामा देखिएको महोत्सवका देश्यले आफु प्रभुल्लित रहेको बताउँदै उहाँले अब स्थायी संरचना खडा गरेर महोत्सवहरु लगाउँदा ठिक हुने बताए ।

पछिल्लो समय देशको अर्थतन्त्र बिग्रिएको अवस्थामा बैंकहरूको ब्याजदर ८ प्रतिशतबाट १६ प्रतिशत सम्म पुग्दा किसान र उद्योगीहरू बढी समस्यामा परेको औँल्याउदै जनताको समस्यामा राज्य मौन बस्ने हो भने त्यो राज्य किन चाहियो भनेर उनले प्रश्न गरे । महोत्सवमा रहेका स्टलहरूमा स्थानीय उत्पादन हुनुपर्ने उनको भनाई छ ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सके मात्र महोत्सवको औचित्य रहने सांसद भण्डारीले बताए । अहिले महोत्सव लागिरहेको बुद्ध रङ्गशालामा आवश्यकताको आधारमा भौतिक संरचना बनाएर खेलको विकास गर्नुपर्ने बताए। पछिल्लो समय नेपाली खेलाडीहरूले विश्वभर नाम कमाई रहेको भन्दै खेल क्षेत्रको प्रवर्द्धन गर्नुपर्ने बताए ।

यता प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले जिल्लाको अर्थतन्त्रलाई चलायमान गराउनको लागि कपिलवस्तु महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताए । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रलाई प्रवर्द्धन गर्दै अर्थतन्त्रलाई माथि उठाएको जानकारी दिए । महोत्सवलाई व्यवसायिक दृष्टिकोण बाट मात्र नहेरेर समग्र जिल्लाको स्थानीय कृषि र कृषक, व्यापार, व्यवसायको हित हुनेगरि अघि बढाउनुपर्नेमा जोड दिए । साथै उनले फरक प्रसङ्गमा बोल्दै वर्तमान सरकार गठबन्धन टिकाउन मात्र सीमित रहेको बताउँदै जनताको आवश्यकतालाई कुनै सरोकार नराखेको दाबी गरे ।

काङ्ग्रेस नेता अत्तहर कमाल मुसलवानले जिल्ला धार्मिक तथा पर्यटकीय हिसाबले पनि ऐतिहासिक रहेकाले पर्यटकहरूको सङ्ख्या बढाउने गरि योजना बनाउनुपर्ने बताए । त्यस्तै जिल्लाको समग्र विकासको लागि वेलफेयर सोसाइटीका जस्ता जुझारु युवा नेताहरूको आवश्यकता रहेको औँल्याएका थिए । त्यस्तै कार्यक्रममा बोल्दै सांसद रूपा विक, प्रदेश सांसद विष्णु पन्थी, वाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्याल लगायतले बोल्दै महोत्सवले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न मद्दत पुग्ने बताए ।

महोत्सव संयोजक तथा आयोजक संस्था बाणगङ्गा वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणले जिल्लाको समग्र पहिचान बोकेको यस महोत्सवलाई सफल पार्न हरेक क्षेत्रका व्यक्ति र संघ संस्थाले सहयोग गर्ने बताए । उनले जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने महोत्सवको लक्ष्य रहेको बताए । युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार र प्रवर्द्धनमा प्रोत्साहन’ भन्ने मूल नाराका साथ विहीबार देखि सुरु भएको महोत्सव पौष १ गते सम्म सञ्चालन हुने छ । स्थानीय उत्पादन, कृषि, हस्तकला लगायतको स्टल रहेको छ ।

यसैबीच महोत्सवमा शुक्रबारदेखि अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगिता समेत हुने छ । यस्तै शुक्रबार अनु चौधरी, प्रिन्स लम्साल, रमेश निर्दोष, संगीता चितौरे लगायत स्थानीय कलाकारको समेत प्रस्तुती रहने जनाईएको छ । यस्तै शुक्रबार देखि नै १२ औ कपिलवस्तु डान्स आइडल प्रतियोगिता सुरु हुने छ ।