मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महासमिति बैठक सार्न देउवाकै जोडबल

महासमिति बैठक सार्न देउवाकै जोडबल

अपि टाइम्स

काठमाडौं । नेपाली कांग्रेसमा महासमितिको बैठक फेरि सार्ने प्रयास सुरु भएको छ । महासमितिको बैठकमा सार्न सभापति शेरबहादुर देउवाकै जोडबल रहेको कांग्रेसका नेताहरुले बताएका छन् ।

यसअघि मंसिर १३ देखि १५, मंसिर २९ देखि पुस २ र पुस १६ देखि १९ सम्मका लागि गरी तीन पटक मिति तोकिएको थियो । तर सभापति देउवाले जाडोको समयमा महासमिति बैठक नगरौं भन्ने थालेका छन् ।

‘अरु कुनै कारणले महासमिति बैठक सर्ने अवस्था छैन । अलि पाको उमेर समूहका नेताहरुले जाडो महिनामा महासमिति बैठक नभइदिओस् भन्ने छ’, कार्यसम्पादन समितिका एक सदस्यले भने । उनका अनुसार सभापति देउवाले १र२ दिनमा कार्यसम्पादन समिति बैठक बोलाएर उक्त विषयलाई प्रवेश गराउने सम्भावना छ ।

सभापति देउवाले माघको अन्त्य वा फागुनमा महासमिति बैठक गर्न चाहेको निकटवर्तीहरु बताउँछन् ।

पार्टी विधान अनुसार महाधिवेशन नभएको वर्षमा महासमिति बैठक गर्नुपर्ने व्यवस्था छ ।

यसपटकको महासमिति बैठकलाई ‘नीति महाधिवेशन’का रुपमा गर्ने कांग्रेसले निर्णय गरेको छ ।

महासमिति बैठकका लागि निर्वाचन समितिले १६५ संघीय निर्वाचन क्षेत्रमध्ये २४ क्षेत्र बाहेकमा प्रतिनिधि छनोट गरेको छ । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले मंसिर २० गतेसम्म छनोट गर्ने अवधि तोकिएपनि त्यस समयभित्र २४ क्षेत्रमा प्रतिनिधि छनोट हुन नसकेको बताए ।

‘हामीलाई आएका नामहरु पार्टीलाई पठाइदिने हो । महासमिति प्रतिनिधि आएका ठाउँबाट नाम पठाइदिएका छौं’, समितिका सचिव श्रेष्ठले भने । प्रतिनिधि छनोट नभएकै कारणले महासमिति बैठक रोकिने अवस्था नहुने श्रेष्ठले बताए । महासमितिका लागि प्रत्येक निर्वाचन क्षेत्रबाट ११ जना सहभागी हुने व्यवस्था छ ।

महासमितिका लागि नीति प्रतिवेदन पेश गर्ने जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काको छ ।

संगठनसम्बन्धी प्रतिवेदन महामन्त्री गगन थापा र राजनीतिक प्रतिवदेन अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेश गर्ने भएका छन् । प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएकाहरुबाट महासमिति सार्नुपर्ने कारण नरहेको नेताहरुको दाबी छ ।