मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु महोत्सवमा प्रमोदको पारा, माइक बोकेर हिँडेपछि भयो हंगामा

कपिलवस्तु महोत्सवमा प्रमोदको पारा, माइक बोकेर हिँडेपछि भयो हंगामा

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

बाणगंगा । १४ औँ कपिलवस्तु महोत्सवमा मंसिर २७ गते बुधबार प्रमोद खरेलले आफ्ना सांगितिक कोशेली प्रस्तुत गरे । करिब १ घण्टा आधादर्जन बढी गीतले दर्शकलाई नचाएका खरेल स्टेजमा यति जोशिला देखिन्थे कि उनले स्ट्याण्ड माइकलाई नै गीतारको रुप दिएर गीत गाइरहेका थिए । उसो त खरेल स्टेज चढ्ने वित्तिकै सेल्फी र फोटा खिच्नेको लाइन थियो । सुरुमा स्टेजको तलै बसेर दर्शक र आफ्ना फ्यानलाई समय दिएका उनले गीत गाएको अवधिभर आयोजक, दर्शक र स्टेजको प्रसंसा गरिरहे ।

कहिले उफ्रेर, कहिले माइक नै बोकेर धूम मच्याएका खरेलले आफू सहभागि भएका सयौँ महोत्सवमध्ये जितपुरमा लाग्ने महोत्सव विशेष लाग्ने बताए । गीत गाउँदा गाउँदै बीचबीचमा उनले भन्थे ‘मलाई जितपुर मन पर्छ, यहाँको दर्शकको उपस्थिति मनपर्छ । यहाँको स्टेज मनपर्छ ।’

रातो टिका निधारमा टलक्क टल्कियो गीत प्रस्तुतिको क्रममा खरेलले माइक नै बोकेर हिँडेका थिए । यतिखेर अतिथिहरु पनि उनको पारा देखेर उत्तेजित देखिन्थे । यता त्यो दृश्यले दर्शकमा पनि हंगामा मच्चिरहेको थियो । दर्शक टिशर्ट खोलेर उफ्रिउफ्रि नाचिरहेको देखिन्थ्यो ।

उनले थपेका थिए ‘अर्को साल मलाई बोलाउनुभयो भने मेरो ब्याण्ड नै लिएर आउँछु है । हुन्छ कि हुँदैन हजुर ? यति मनपर्छ जितपुरका दर्शक ।’

सांगितिक प्रस्तुतिमा झुम्दा असिना पसिना भएका खरेलको गीतमा सहभागि करिब १० हजार दर्शक कोहि पनि ननाची बस्न नसकेको देखिन्थ्यो । बच्चादेखि वृद्धसम्मका सबैले नाचेर, गीत गाएर खरेललाई साथ दिएका थिए । महोत्सवको सातौँदिनमध्ये सर्वाधिक दर्शक पनि बुधबार नै आएका देखिन्थ्यो । खरेलले कहिले टिसर्ट खोलेर त कहिल बुरुकबुरुक उफ्रेर गीत गाउँदा दर्शक झन् उत्तेजित हुन्थे ।

प्रमोदको लागि स्टेज लाइटले झकिझकाउ थियो । स्टेजबाट धुँवा उडेर अंध्यारो देखिँदा झनै रमाइलो भएको थियो ।

दर्शकको मनोभावना बुझ्न हरेक गीतको पछाडि धन्यबाद जितपुर भन्दै आफू विदा हुन लागेको संकेत गर्दथे तर यता हरेक गीतको पछि दर्शकले वान्स मोर, वान्स मोर भन्दै चर्को स्वरमा हुटिङ गरिरहेका देखिन्थे ।उनी जतिजति गायनको अन्त्यतिर आउँथे उनी नै दर्शकमा उत्साह थपिएको देखिन्थ्यो । आयोजकले पनि प्रमोद खरेलको उपस्थितिले नयाँ उत्साह थपिदिएको बताए ।

महोत्सव हेर्न गएका दिपीका पौडेल, एलिशा शर्मा, यमुना भट्टराई लगायतले निकै रमाइलो लागेको बताउँदै प्रमोदकै दिन कुरेर बसेको बताए । हंगामा भो, ओए झुमा लगायतका गीतमा दर्शकले पनि आफूलाई थाम्न सकेका थिएनन् । स्टेजको बारमा दर्शक आएपछि सुरक्षाकर्मीलाई पनि हम्येहम्ये भएको थियो ।वाणगंगा वेलफेयर सोसाइटीले आयोजना गरेको महोत्सव पौष १ गतेसम्म संचालन हुनेछ ।