मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी केन्द्रको नाम फेरिएर समाजवादी केन्द्र बन्न सक्छः प्रचण्ड

माओवादी केन्द्रको नाम फेरिएर समाजवादी केन्द्र बन्न सक्छः प्रचण्ड

अपि टाइम्स

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सोचे अनुसार रिजल्ट दिन नसकेपनि असफल भने नभएको बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

‘मैले जति सोचेको हो, त्यसरी भयो भन्ने मेरो दाबी छैन । गठबन्धनको सरकार हो । धेरै सीमा अप्ठ्यारो हुन्छन् । सबैलाई मिलाएर लाने जिम्मेवारीको कुरा हो । तर, जे जति सुशासन, सामाजिक न्याय, विकास निर्माणको कुरा छ मेरो दाबी के हो भने सफल भएको छु भन्ने लागेको छ,’ उनले भने, ‘मिडियामा पनि पुरै नबुझी लेखिदिनुहुन्छ कि के गर्नुहुन्छ थाहा भएन । तर, सरकारले सामाजिक न्याय, मिटरब्याज पीडित, नागरिकता समस्या हल भयो । भ्रष्टाचार र सुशासनको पक्षमा यो लेबलको कहिल्यै छलफल भएको थियो? भू–माफियाविरुद्ध कदम चालिएको छ । अन्तर्राष्ट्रिय रुपमा पनि ऐतिहासिक रुपमा सफल छ ।’

प्रचण्डले एनसेल काण्डमा पर्याप्त तथ्य तथ्याङ्कसहित आफूले संसदीय समितिमा कुरा राखिसकेको र विधि, विधान र कानुनभन्दा माथि कोही पनि नरहेको बताए । ‘यसलाई अनावश्यक कोट्याउन आवश्यक छैन । विधि, र कानुनभन्दा बाहिर केही गर्न दिइँदैन । यसको बारेमा अनावश्यक कचिङ्गल र भ्रम सिर्जना गर्ने षड्यन्त्र असफल हुन्छ,’ प्रचण्डले भने ।

उनले आफ्नो पार्टीको नामबाट कम्युनिस्ट हटाउन लागेको भन्ने चर्चा सही नभएको पनि बताए । ‘कम्युनिस्ट पार्टीको नाम कहिल्यै पनि परिवर्तन हुँदैन । खाली माओवादी केन्द्रको ठाउँमा समाजवादी केन्द्र पनि हुनसक्छ । भेला, सम्मेलन, अधिवेशनबाट नेपाल कम्युनिस्ट पार्टी समाजवादी भन्ने पनि हुनसक्छ । हामी छलफलमा छौं,’ उनले भने, ‘संविधानले पनि समाजवाद भनेको छ भने समाजवादको भाव आउने नाम दिनु अहिलेको वस्तुसंगत हुन्छ भनेका छौं ।’

कोशी प्रदेशमा नामकरणको विषयमा देखिएको असन्तुष्टि संवाद र छलफलको माध्यमबाटै समाधान गर्नुपर्नेमा उनले जोड दिए । ‘यो विषय सबै मिलेर छलफल गरेर संवादकै तरिकाले शान्तिपूर्ण ढंगले यसको समाधान गर्नुपर्छ । नामको विषयमा आन्दोलनमा जाने साथीहरुलाई पनि भेटेर कुराकानी गरेको छु । यसलाई एक्स्ट्रिममा जान दिनुहुँदैन भन्ने छ । अतिवाद तिर जान दिनुहुँदैन,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले आफूले पुस लागेदेखि सामूहिक रुपले मन्त्रालयको ब्रिफिङ लिइरहेको बताउँदै ६ वटा मन्त्रालयको सकिएको बताए । ‘सबै मन्त्रालयको ब्रिफिङ लिएर समीक्षा गरिरहेको छु । अब नयाँ ढंगले जाने, विकास निर्माण र जनताको सेवा अगाडि बढाउने योजना बनाउने हो । अब टार्गेट दिइन्छ । त्यो अनुसार भएन भने सोच्नुपर्छ,’ उनले भने ।