मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीमा थपिएका मन्त्री थापा र केसीको आइतबार शपथ

लुम्बिनीमा थपिएका मन्त्री थापा र केसीको आइतबार शपथ

अपि टाइम्स

दाङ । लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्री थपेर आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले कांग्रेसबाट प्युठानका सांसद सरोज थापा र माओवादीबाट बाँकेकी सांसद कृष्णा केसीलाई मन्त्री बनाउने टुंगो लागेको बताए ।

लुम्बिनीमा थापा र केसी मन्त्री बन्दै, आइतबार शपथ गराउने तयारी

उनका अनुसार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार कांग्रेसबाट थापालाई मन्त्री बनाउने टुंगो लगाएका हुन् । थापा र केसीलाई आइतबार बिहान शपथग्रहण गराइने कार्यक्रम तय भएको पाण्डेयले बताए । केसीले खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय मन्त्री बन्ने टुंगो लागेको छ । थापालाई पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि कांग्रेसभित्र कुरा नमिलेपछि रोकिएको थियो । मुख्यमन्त्री चौधरीले शनिबार थापाको नामअघि सारेका हुन् । थापा कांग्रेस संस्थापन पक्षका सांसद हुन् । कांग्रेसमा संस्थापन इत्तर पक्षले पाल्पाका वीरबहादुर राना र पश्चिम नवलपरासीका विश्वप्रम पाठकलाई मन्त्री बनाउन दबाब दिएपछि शुक्रबारको मन्त्रिपरिषद् विस्तार रोकिएको थियो ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार लुम्बिनी कांग्रेस सभापति अमरसिंह पुनलाई मन्त्रीको नाम माग्दा दिन नसकेपछि थापालाई मन्त्री बनाउने निर्णय गरिएको हो । माओवादीले यस अघिको सहमतिअनुसार दुई मन्त्रालयका लागि केसी र रोल्पाका दीपेन्द्र पुनको नाम निर्णय सहित सिफारिस गरेको थियो । तर, कांग्रेस सभापति पुनले गठबन्धनबाट विद्रोह गरी निर्वाचित भएकालाई गठबन्धनबाटै मन्त्री बनाउन नहुने अडान लिएपछि माओवादीले पहिलो चरणमा केसीलाई पठाउने निर्णय गरेको थियो ।