मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक छेकेर बानेश्वरमा नेताको गाडी पार्किङ, सर्वसाधारणको भए के हुन्थ्यो ?

सडक छेकेर बानेश्वरमा नेताको गाडी पार्किङ, सर्वसाधारणको भए के हुन्थ्यो ?

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
काठमाण्डौँ । यो मुलकमा सानालाई ऐन र ठुलालाई चैन हुन्छ भन्ने कुरा आज मात्र होइन हिजोदेखि नै थाहा भएको कुरा हो । अर्थात् यहाँ सानो र कमजोर मान्छेलाई कानुन लदाइन्छ र ठुलालाई जे गर्न पनि छुट हुन्छ । हो यो कुरालाई आइतबार काठमाण्डौँको बानेश्वरमा देखिएको एक दृश्यले पनि प्रमाणित गरेको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि मनोनयनको अन्तिम दिन आउन एकदिन मात्र बाँकी रहँदा आइतबार शीर्ष दलका पार्टी कार्यालयमा भीँडभाड थियो । यहि क्रममा बानेश्वरस्थित नेकपा एकिकृत समाजबादी पार्टीको कार्यालय अघि पनि निकै भीँडभाड थियो । कार्यालय अघि लावालस्कर गाडी थिए । नेता कार्यकर्ताको आउजाउ चलिरहेको थियो । सडकको छेउछाउमा लस्कर भएर गाडी पार्किङ भएका थिए । त्यहाँ एकजना मन्त्रीको गाडी पनि थियो ।

त्यहि क्रममा एउटा कार हुँइकिएर कार्यालय अघि आयो । चालकले टक्क सडकको बीचैमा रोके । त्यहि गाडीबाट निस्किएर कोटमा ठाँट्टिएका दुईजना कार्यालयभित्र प्रवेश गरे, प्रत्यक्षदर्शी भन्छन् तर त्यो गाडीलाई नत पार्किङमा राखियो नत सडक किनारतिर साइड लगाइयो । गाडीलाई बाटो छेकेरै पार्किङ गरियो । त्यहि गाडीको अघितिर प्रहरीको गाडी पनि रोकेर राखिएको थियो ।

कारको नम्बर थियो बा ८ च १४०८ । त्यो गाडीलाई धेरै समयसम्म बाटोमै पार्किङ गरिएपछि त्यहाँ सवारी आवागमनमा बाधासमेत पुगेको थियो । बाटोमा बाधा भए पनि नत त्यो गाडीका चालक, त्यहाँका नेता कार्यकर्ताले हटाउन प्रयास गरे नत प्रहरीले त्यसरी बाटो छेकेर बसेको गाडी देख्न सक्यो । पछि बुझ्दा त्यो गाडी त नेताको रहेछ । गाडीमा कुन नेता चढेका थिए नाम भने पत्ता लाग्न सकेन ।

‘नेताको गाडी रहेकै कारण निडरतापूर्वक चालकले सडकको बीचमा राखेका रहेछन् । यो दृश्य देखेर त्यहि बाटोमा आवतजावत गर्ने सर्वसाधरण पनि अचम्ममा परिरहेका थिए । बाटोमा हिँडेका यात्रु पछि फर्किफर्कि त्यो गाडीलाई हेर्ने गर्दथे’, त्यहिँ रहेका एक जनाले अपिटाइम्ससंग भने । बानेश्वरमा मात्र होइन यी ठुला नेताको यस्तो हैकम मुलुकभर चल्ने गरेको छ । जसबाट जनता र सुरक्षाकर्मी पनि दिक्क छन् ।

यसबाट के पुष्टि हुन्छ भने हाम्रो देशका नेता र मन्त्रीहरुलाई जे गर्न पनि छुट हुन्छ । कानुन लाग्ने भनेको सर्वसाधारणलाई मात्र हो । यदि सर्वसाधारणले एक मिनेट पनि त्यसरी गाडी बाटोमा राखेको भए पुलिसले चिट काट्थ्यो । उस्तै परे लगेर थुन्न पनि सक्दथ्यो । अरु धेरै दुख दिन सक्दथ्यो । तर नेताको गाडी रहेका कारण त्यो दुख गाडी भित्र रहेका चालकले भोग्नु परेन । पुलिसको कानुन पनि सर्वसाधारणको लागि मात्र हो नेता र मन्त्रीले जे गरे पनि उनीहरुले देख्दैनन् भन्ने कुरा यो घटनाले पुष्टि गर्दछ ।

अर्कोतर्फ गाडीका चालकलाई पनि नेताले कस्तो खालको स्कुलिङ दिँदा रहेछन् भन्ने कुरा यो घटनाबाट पुष्टि हुन्छ । यदि चालकलाई नेताले कानुन मान्ने र आफूहरु पनि सर्वसाधारणजस्तो बन्नुपर्दछ भन्ने कुराको सिकाएका हुन्थे भने ती चालकले त्यसरी बीच सडकमै गाडी तेर्साएर राख्न लाज मान्न सक्थे तर नेताले आफूहरुसंग हिँड्ने चालक र अरु मान्छेलाई यस्तो स्कुलिङ गरिरहेका छन् कि कुनै नियम कानुन ठुला मान्छेमा लागु हुँदैन । यो घटनाले यहि कुरालाई इङ्गित गर्दछ ।