मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घरमा वाल छ भनेर ढुक्क नहुनू, यसरी चोरी हुन्छ सवारी (वाणगंगाको घटना)

घरमा वाल छ भनेर ढुक्क नहुनू, यसरी चोरी हुन्छ सवारी (वाणगंगाको घटना)

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, काठमाडौँ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ हरिहरपुर निवासी ब्यवसायी प्रकाश पौडेल आइतबार मध्यराति १२ बजेसम्म सिनेमा हेरेर बसेका थिए । त्यसपछि उनी सुते । चारैतिर कम्पाउण्ड बनाइएको घरमा उनले बाहिरको बत्ती बालेरै सुते ।
उनको घरमा सवारी साधनको रुपमा लु ९१प७१४५ नम्बरको १५० सिसीको नयाँ निलो/कालो पल्सर मोटरसाइकल थियो । संधैजस्तो कम्पाउण्डभित्रै मोटरसाइकलको हेण्डिल लक गरेर पौडेल सुते ।

पौडेलकी श्रीमती र आमा त्यसअघि नै सुतेका थिए । तर विहान उठ्दा उनीहरुको घरभित्र प्रवेश गर्ने बाहिरी ढोका लक गरिएको थियो । अर्थात् भित्रबाट ढोका खुलेन । त्यसपछि पौडेल अचम्ममा परे । र हतारहतार उनी घरको पछाडी भान्छातिर रहेको गल्लीको ढोका खोलर अगाडी कम्पाउण्डतिर आए । यता आएर हेर्दा त्यहाँ बाइक थिएन । उनले यताउता सबैतिर हेरे बाइक भेट्टाएनन् र थाहा भयो बाइक चोरी भएछ ।

पौडेल भन्छन् ‘चोरहरु कम्पाउण्ड नाघेर माथिबाट छिरेका हुनसक्छन् । कम्पाउण्डमा रहेको फलामको गेटका दुवै द्धारमा सुत्ने बेला लगाइएको बलियो चुकुल यथावत नै थियो । मोटो जालीको बाल पनि केहि भएको छैन । चोरहरुले निकै दिमाग लगाएर बाइक चोरेको देखिन्छ । वालमाथि कति जनाले कसरी उठाएर बाइक निकाले म छक्क परेको छु । निकै नाटकीय पाराले बाइक चोरी भएको छ’। यस आधारमा चोरहरुले बाइक गेट नघाएरै चोरेर लगेको आसंका गर्न सकिन्छ ।

‘चोरी भएको थाहा पाए पनि भित्रबाट मान्छे आउन नसकून या ढिला होओस् भन्ने ठानेर बाहिरबाट चुकुल लगाएर हामीलाई थुनेका रहेछन्, त्यसपछि चोरहरुले मज्जाले आफ्नो काम सकेको देखिन्छ’, पौडेलले भने । चोरले आफ्नो जुत्ता छोडेर मेरो नयाँ जुत्ता लगाएको छ । राम्रो खाले पञ्जा, हेलमेट पनि लगेको छ । चोरहरुले नीडरतापूर्वक बाइक चोरी गरेर लगेछन्,उनले थपे।’ थाहा भएको ब्यक्तिबाट नै सुराकी भएर चोरी भएको हुन सक्ने पौडेलको आसंका छ ।

पौडेलले चोरीको विषयमा इलाका प्रहरी कार्यालय पिपरामा उजुरी पनि दिएका छन् । उजुरी दर्ता गरेपछि प्रहरीले घटनास्थल अवलोकन गरी मुचुल्का पनि उठाएको छ ।

पौडेलले आफ्नो मात्र नभएर घर वरिपरी अरुको पनि बाइक चोरी भएको आफूले सुनेको बताए । चोरहरुले चोरी गरेर आजभोलि पहाडका दुर्गम क्षेत्रमा पुर्याएर पार्टपुर्जाहरुको कारोबार गर्ने गरेको कुरा आफूले सुनेको पौडेलले अपि टाइम्सलाई बताए । स्थानीयले पनि हरिहरपुर क्षेत्रमा पछिल्ला दिनहरुमा चोरी बढेको बताएका छन् ।

अब हरिहरपुर लगायतको क्षेत्रमा विशेष निगरानी गर्ने इलाका प्रहरी कार्यालय पिपराका प्रहरी नीरिक्षक रायमाझीले जानकारी दिएका छन् । बाणगंगामा चोरको विगविगी रहेको छ नि ? भन्ने प्रश्नमा उनले अहिले कम भएको जिकिर गरे । एक महिनाअघि चोरको गिरोहलाई नियन्त्रण लिएपछि चोरीका घटनामा कमी भएको रायमाझीको भनाई छ ।