मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषि ज्ञान केन्द्र कपिलवस्तुबाट किसानले कसरी पाउँछन् सोझै अनुदान ?

कृषि ज्ञान केन्द्र कपिलवस्तुबाट किसानले कसरी पाउँछन् सोझै अनुदान ?

अपि टाइम्स

भुपाल थापा, कपिलवस्तु ।

सोझै किसानले अनुदान पाउने भएपछि कृषि ज्ञान केन्द्र कपिलवस्तुमा कृषि उपकरणका लागी ५ सय बढि किसानको निवेदन परेको छ । विगतका वर्षहरुमा फर्म वा कृषक समुह दर्ता भएको प्रमाणका आधारमा मात्र अनुदानमा उपकरण वितरण गर्ने गरिएकोमा यस वर्ष देखि सोझै किसानले निवेदन दिन पाउने भएपछि ज्ञानकेन्द्रमा निवेदनको ओईरो लागेको हो ।

ज्ञानकेन्द्रले सिचाँई सहित कृषि विकास कार्यक्रमका लागी एक करोड २० लाख रुपैयाँ बराबर अनुदान रकम बाड्दैछ । जसका लागी ३० दिनको अवधिमा ५ सय ३८ कृषक तथा फर्म समुहले निवेदन दिएका छन् ।

विगतका वर्षमा फर्म र समूह दर्ता गरेर आएकाहरुलाई मात्र उपकरण दिँदै आईएको थियो । यस वर्षदेखि ज्ञान केन्द्रले फर्म र समूह दर्ताबाहेक पनि सोझै व्यक्तिले निवदेन दिएपछि उपकरण दिने व्यवस्था गरेपछि किसानको भिड बढेको हो ।

साना सिचाइँ कार्यक्रम मार्फत अनुदानमा उपकरण वितरणका लागि लुम्बिनी प्रदेश सरकारले उक्त बजेट पठाएको केन्द्रका प्रमुख भाष्कर पौडेलले बताए । ‘विगतमा उपकरण लिन समूह र फर्म दर्तादेखि पान नम्बर र भ्याट नम्बर चाहिने भएकाले झन्झट मानेर किसानहरु कम आउने गरेका थिए, अहिले कार्यालयले सोझै किसानलाई उपलब्ध गराउने भएपछि भिड बढेको छ,’ पौडेलले भने ।

समूह र फर्मबाट उपकरण वितरण गर्दा वास्तविक किसानभन्दा पनि सीमित व्यक्तिले पाएका कारण अहिले सोझै किसानलाई वितरण गर्न लागिएको पौडेल बताउँछन् । कार्यक्रम अन्तर्गत किसानहरुलाई सोलार, पम्पसेट, बोरिङ्ग, मोटर, डेलिभरी पाइप लगायतका कृषि उपकरण वितरण गरिने छ ।

प्रदेश सरकारले यस कार्यक्रम अन्र्तगत पुर्वाधारको हकमा कुल लागतको अधिकतम ७५ प्रतिशत र अन्यको हकमा अधिकतम ५० प्रतिशत अनुदान उपलब्ध गराईने उनले बताए । साथै समुह तथा सहकारीको हकमा अधिकतम ५ लाख र व्यक्तिगत फर्म वा कम्पनीको हकमा अधिकतम १ लाख ५० हजार सम्म अनुदान दिईने हुदाँ कृषकहरुले खुसि व्यक्त गरेका छन् । आवेदन परेका ५३६ मध्ये ५०र६० योजना छनौट हुने कार्यालयले जनाएको छ ।

निवेदन संकलनपछि छनौटमा परेका किसानलाई उपकरण वितरण गरिने छ । पहिला अनुदानमा उपकरण लगेका समूह, फर्म र किसानलाई भने अहिले उपकरण उपलब्ध गराइने छैन । ‘गतवर्ष स्थानीय तह वा कार्यालयबाट अनुदानमा उपकरण लगेका कसैलाई पनि त्यो सुविधा दिइन्न, त्यसका लागि स्थानीय तहसँग समन्वय गरेर छनौट गरिने छ,’ पौडेलले भने ।

यशोधरा गाउँपालिका–५ बाट आएकी प्रेमलता भट्टले पहिलो पटक उपकरणका लागि ज्ञान केन्द्र आएको बताईन् । ‘पहिला उपकरण लिन धेरै कागज मागिन्थ्यो । अहिले सिधै किसानलाई दिने भएकाले मोटर र बोरिङ्ग आवश्यक भएकाले निवेदन दिन आएकी हुँ,’ भट्टले भनिन् ।

यो कार्यक्रम अन्र्तगत सोलार सिचाँई, थोपा सिँचाई, लिफ्ट सिचाँई, बोरिङ्ग, मोटर पाईप, पम्पसेट लगायतका सामाग्रि खरिद तथा सिँचाई कुलो, पोखरी, स्यालो ट्युबेल, डिप बोरिङ्ग आदि निर्माण तथा सुधारका लागी अनुदान दिने व्यवस्था रहेको ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाको कुल क्षेत्रफलको ४७।७५ प्रतिशत अर्थात ८३ हजार हेक्टर जमिन खेतियोग्य जमिन छ । जस्मा ८१ हजार ५७६ हेक्टरमा खेती गरिने गरिएको केन्द्रले जनाएको छ । खेतीयोग्य जमिनमा सिंचित क्षेत्रफल २० प्रतिशत मात्रै छ ।