मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजदेखि उपत्यकाबासीको धारामा मेलम्चीको पानी, यस्तो छ तालिका

आजदेखि उपत्यकाबासीको धारामा मेलम्चीको पानी, यस्तो छ तालिका

अपि टाइम्स

काठमाडौँ । मेलम्चीको पानी मर्मतपछि फेरि काठमाडौँ आइपुगेको छ । वर्षायाममा मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुगेपछि बन्द भएको थियो

पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी आइरहेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा रहेको धारा खोलेर मेलम्चीको खानेपानी वितरणको पुनः शुभारम्भ गर्ने भएका छन् । सोमबार बिहान वितरण शुभारम्भ गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जाक्की अहमद अन्सारीले जानकारी दिए ।

जसअनुसार भोलिदेखि मीनभवन र अनामनगर क्षेत्रमा पानी वितरण हुनेछ । मेलम्ची खानेपानी विकास समितिका प्रमुख अन्सारीले भने, ‘सोमबारदेखि काठमाडौँको खानेपानी सिस्टममा दैनिक १७ करोड लिटर पानी आउँछ । सबै पानी सबैतिर एकैचोटी वितरण गर्न सकिँदैन, एउटा एउटा गरेर पानी भण्डारण तथा वितरण केन्द्रमा भर्ने काम भइरहेको छ । सुरुमा अनामनगर र मीनभवनको पानी भण्डारण तथा वितरण केन्द्र भर्ने काम भइरहेको छ । त्यसपछि क्रमशः खुमलटार, बालाजु, बोडे सबैतिरका खानेपानी भण्डारण केन्द्रमा पानी भरेर वितरण गरिनेछ ।’

एक दुई दिनभित्र सबै ठाउँमा पानी वितरण भइसक्ने अन्सारीले जानकारी दिए । मेलम्ची खोलाबाट गत बुधबारदेखि पानी पठाउन थालिएकोमा सुन्दरीजलको पानी भण्डारण तथा प्रशोधन केन्द्रमा शनिबार साढे ८ करोड हाराहारी पानी आएको थियो । आइतबारदेखि सुरुङ पूर्ण रूपमा भरिएर १७ करोड लिटर पानी आइरहेको उनले बताए । सुन्दरीजलमा पानी प्रशोधन भएर सो परिणामको पानी वितरण प्रणालीमा जाने अन्सारीले जानकारी दिए ।

गत पुस ३ गते मेलम्ची खानेपानी विकास समितिले २८ दिनभित्र काम सक्नेगरी निर्माण व्यवसायीसँग सम्झौता गरेको थियो । त्यसपछि दिउँसो र राति गरेर दुई सिफ्टमा काम गराएर २८ दिनको कार्य योजना भन्दा अगाडि नै पानी ल्याउन सफल भएको अन्सारीले बताए ।

मेलम्ची खानेपानी काठमाडौँमा वितरण गर्न थालिएको ३ वर्ष भएको छ । बाढी पहिरोका कारण मेलम्ची पानी पठाउने स्थल हेलम्बु गाउँपालिकाको अम्बाथानमा पटक पटक निर्माणको काम गर्दा अर्बौँ रुपैयाँ खर्च भएको छ । बाढी पहिरोले आयोजना स्थलमा यो वर्ष पनि क्षति पुगेका कारण बन्द भएको ७ महिनापछि बल्ल काडमाडौंमा पानी आइपुगेको हो ।