मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उद्घाटन गर्दागर्दा बरु बजारको रिबन सकिएला तर मेलम्चीको उद्घाटन सकिँदैन

उद्घाटन गर्दागर्दा बरु बजारको रिबन सकिएला तर मेलम्चीको उद्घाटन सकिँदैन

अपि टाइम्स

तस्बिरःरासस
काठमाण्डौ – सरकारले ७५ अर्ब रुपैयाँभन्दा धेरै रकम र २५ वर्षको समय लगाए पनि सिन्धुपाल्चोकको मेलम्ची नदीको पानी स्थायी रूपमा काठमाण्डौ ल्याउन असफल भएको छ । कुरा पहिलेदेखि नै चले पनि २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति स्थापना गरेर काम थालेको २५ वर्ष बितेको छ तर अहिलेसम्म काठमाण्डौवासीले वर्षैभरि मेलम्चीको पानी उपभोग गर्न पाएका छैनन् ।

२७ किलोमिटर लामो सुरुङ छिचोल्दै २०७७ सालको फागुन २२ गते मेलम्चीको पानी काठमाण्डौको सुन्दरीजल आइपुगेको थियो । चैतको १५ गते काठमाण्डौवासीको धारामा पानी पुग्यो, पाँच दिनपछि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । तर तीन महिनापछि अर्थात् २०७८ सालको असार शुरुमै मेलम्चीमा आएको भीषण बाढीले आयोजनाको ड्याम क्षेत्र क्षतविक्षत बनाइदियो । काठमाण्डौ आउने पानी रोकियो । सरकारले बर्खा सकिएपछि सङ्लो पानी मेलम्चीको मुहानबाट पठाएर वितरण गर्दै आएको छ तर बर्खा लागेसँगै फेरि सुरुङ बन्द गर्नुपर्छ, काठमाण्डौमा मेलम्चीको पानी रोकिन्छ ।

मेलम्चीबाट सुरुङ हुँदै सुन्दरीजलसम्म पानी ल्याउन सरकारले ३० अर्ब रुपैयाँभन्दा धेरै रकम खर्च गरेको छ । सुन्दरीजलबाट घरघरसम्म पाइप बिछ्याउन झन्डै ३५ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।शोधभर्नासहितका विभिन्न शीर्षकमा झन्डै १० अर्ब रुपैयाँ लगानी भएको छ । ७५ अर्ब रुपैयाँभन्दा धेरै रकम र २५ वर्ष लगाएर बनाएको परियोजनाबाट स्थायी रूपमा पानी आउन सकेको छैन । तर हरेक वर्ष हिउँदमा अस्थायी संरचना बनाएर ल्याउने पानीको भने उद्घाटन गर्न तँछाडमछाड हुन्छ । यो हिउँदका लागि आजदेखि पुनः मेलम्चीको पानी वितरण शुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कार्यालय सिंहदरबार परिसरमा रहेको धाराबाट पानी पिएर खानेपानी वितरणको पुनः शुभारम्भ गरेका हुन् । आज पाँचौँ पटक शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले सबैलाई समान रूपमा खानेपानी वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिए । उनले बाह्रै महिना उपभोक्तालाई पानी वितरण गर्ने आश्वासन दिएका छन् ।

यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एक–एक पटक तथा पूर्वखानेपानी मन्त्री उमाकान्त चौधरीले दुई पटक उद्घाटन गरेका थिए ।

मेलम्चीको पानी स्थायी रूपमा ल्याउन पहल नगर्ने तर हरेक हिउँदमा उद्घाटन गर्ने प्रवृतिलाई आज सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना र व्यङ्ग्य गरेका छन् । कवि अर्जुन पराजुलीलले लेखेका छन् । ‘उद्घाटन गर्दा गर्दा बरु बजारको रिबन सकिएला तर मेलम्चीको उद्घाटन सकिँदैन ।’ काठमाण्डौ महानगरका मेयर बालेन्द्र शाहले पनि ‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्व कीर्तिमान कायम गरेर’ भन्दै व्यङ्ग्य गरेका छन् ।

बाढी पहिरोबाट क्षतिग्रस्त भएपछि मेलम्ची मुहानबाट बर्खामा पानी पठाउने काम बन्द हुँदै आएको छ । मेलम्चीको पानी बर्खामा पनि काठमाण्डौ ल्याउन पुनः अध्ययन गरेर अर्बौँ रुपैयाँ खर्च गर्नुपर्ने देखिएको आयोजनाले जनाएको छ ।