चन्द्रकान्त न्यौपाने
काठमाडौँ । कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी नेतृत्वबारे प्यानलहरु सार्वजनिक गर्ने क्रम जारी छ । अहिलेसम्म काँग्रेसबाट गणेश बहादुर क्षेत्रीको नेतृत्वमा प्यानल सार्वजनिक भएको छ भने स्वतन्त्र प्यानलमा लक्ष्मण कँडेलको नेतृत्व छ ।
संघमा पटकपटक नेतृत्व गरेको एमालेको तर्फबाट कस्तो प्यानल बन्छ त्यो भने अझै सार्वजनिक भएको छैन ।
पार्टीले बुधबारसम्म प्यानल सार्वजनिक गर्ने समाचार श्रोत बताउँछ । संघका पूर्व कोषाध्यक्ष तथा हालका लेखा समिति संयोजक मोहन न्यौपानेलाई पार्टीले अध्यक्षको उम्मेदवारको रुपमा अघि सारेको छ । न्यौपानेले पनि ककसलाई समेटेर प्यानल बनाउँदै छन् त्यो पनि थाहा हुन सकेको छैन ।
यद्यपी अपिटाइम्सले न्यौपाने प्यानलमा अटाउन सक्ने केहि उम्मेदवारबारे लिएको सुक्ष्म जानकारी अनुसार वरिष्ठ उपाध्यक्षमा वीरेन्द्र खाँण उठ्ने सम्भावना छ । उद्योग, बाणिज्य, वस्तुगत र एशोसियट उपाध्यक्षमा कृष्ण गैरे, नारायण पौडेल, बुद्धि पौडेल र रनेन्द्र सेन रहन सक्ने छन् । महिला उपाध्यक्षको टुङ्गो लागेको छैन ।
यस्तै मदन पौडेल महासचिवमा उठ्ने हल्ला छ । यद्यपी उनीहरुको पदको छिनोफानो भएको छैन । कोषाध्यक्ष र सचिवमा पनि को आउँछ बुधबार मात्र थाहा हुने छ । अन्य महत्वपूर्ण पदमा सुरेन्द्र घिमिरे, यज्ञ भट्टराई, पंकज पाण्डे, डम्मरदेव भट्टराई, रामचन्द्र अर्याल लगायतको चर्चा छ ।
नगरको तेश्रो दल माओवादीले काँग्रेस या एमालेमध्ये कसलाई सघाउँछ त्यो अझै थाहा हुन सकेको छैन । माओवादीसंग काँग्रेस र एमाले दुवैले बार्गेनिङ गरिरहेका छन् । यता माओवादीले पनि सम्मानजनक स्थिति खोजिरहेको छ । भरपर्दो जानकारी अनुसार एमालेले माओवादीलाई तान्न सक्ने सम्भावना देखिन्छ । संघको अधिवेशन माघ २३ गते संघको कार्यालय बुद्ध रंगशाला जितपुरमा हुँदैछ ।
प्रतिक्रिया