चन्द्रकान्त न्यौपाने
काठमाडौँ । उद्योग बाणिज्य क्षेत्रमा कपिलवस्तुको सबैभन्दा शक्तिशाली मानिने ‘कपिलवस्तु उद्योग बाणिज्य संघ’ को अधिवेशन मिति नजिकिँदै छ । माघ २३ गते हुने आठौँ अधिवेशनलाई लिएर अहिले उममेदवारी दिने क्रम चलिरहेको छ । काँग्रेस, एमाले, स्वतन्त्र लगायतको प्यानल सार्वजनिक भइरहेका छन् ।
अहिलेसम्म अध्यक्षको उम्मेदवारमा एमालेबाट मोहन न्यौपाने, काँग्रेसबाट गणेश बहादुर क्षेत्री, स्वतन्त्रबाट लक्ष्मण कँडेल र रमेशचन्द्र भुसाल मैदानमा छन् । उनीहरुले आआफ्नो प्यानलको नामहरु पनि सार्वजनिक गरिरहँदा सर्वसम्मतिको प्रयास पनि जारी छ ।
आआफ्नो चुनावी प्रचारमा लागेका उनीहरु मंगलबार साँझ एकै स्थानमा देखिए । बाणगंगाको एक चिया पसलमा चुनावी दौडमा रहेका क्षेत्री, न्यौपाने, कँडेल र भुसालको एक्कासी जम्काभेट भएको थियो । उनीहरु एउटै टेवलमा गफिएका देखिन्थे । साथमा अहिलेका अध्यक्ष डोलकराम घिमिरे, महासचिव मनोज पौडेल, निवर्तमान अध्यक्ष उमानाथ पौडेल, पूर्व अध्यक्ष यज्ञ भट्टराई पनि सहभागि थिए ।
फोटोमा उनीहरु सबै हर्षित मुद्रामा देखिँदा सर्वसम्मतिको लागि केहि गर्न सके कि भन्ने आंकलन गर्न सकिन्छ तर भेट औपचारिकतामै सिमित भएको समाचार श्रोत छ । चियागफमा सर्वसहमतिको लागि सार्थक कुरा गर्न भने उनीहरुले सकेनन् । नत उम्मेदवार सहमतिमा लचिलो भए नत पूर्व र निवर्तमान अध्यक्षहरुले कस्न सके । भेट औपचारिकतामै सिमिति भएको देखियो ।
कतिपयले ब्यसायीलाई लड्न बाध्य बनाएका उनीहरुले नाटक मञ्चनको लागि सामुहिक फोटो खिचाएको बताएका छन् भने कतिपयले सर्वसम्मतिको लागि एकै ठाउँ रहेर छलफल गरी वातावरण मिलाउन प्रयास गरेको भन्दै सकारात्मक रुपमा लिएका छन् ।
छलफलमा सहभागि निवर्तमान अध्यक्ष उमानाथ पौडेलले सर्वसहमतिको लागि अझै पनि प्रयास जारी रहेको बताए । बिनम्र भएर सबैले सकेसम्म सहमति गर्नुपर्ने कुरा बताएका पौडेलले बताए । भेटघाट प्रतिशोधपूर्ण नभएर सौहार्दपूर्ण भएको पौडेलले अपिटाइम्सलाई जानकारी दिए ।
एक जना सहभागिले भने च्याप्टर प्रतिस्पर्धा र दलिय प्रतिष्ठासंग जोडिएर अघि बढिसकेकाले चुनाव हुने पक्का देखियो । कोहि पनि एकले अर्कोलाई सेक्रिफाइस गर्न तयार देखिएका छैनन् । सबै आआफ्नो ढिपीमा छन् । भेटमा त्यो कुरा नआए पनि सन्देश त्यहि रहेको छ उनले भने ।
प्रतिक्रिया