मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनावको विपक्षमा ब्यवसायी, अग्रजको डबल रोलले थिलोथिलो हुँदै संघ

चुनावको विपक्षमा ब्यवसायी, अग्रजको डबल रोलले थिलोथिलो हुँदै संघ

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने,
काठमाण्डौँ । कपिलवस्तु जिल्लाकै सबैभन्दा ठुलो ब्यवसायिक संस्था कपिलवस्तु उद्योग बाणिज्य संघमा आजभोलि ब्यवसायिक हकहितका कुराभन्दा राजनीति हावी हुन थालेको छ । आन्तरिक रुपमा जहिले पनि राजनीतिले जकडिएको संघ आसन्न आठौँ अधिवेशनको कुराले घिनलाग्दो राजनीतिमा जकडिएको हो ।

अहिले देखिएको राजनीतिको जुँगे लडाई र ब्यवसायिबीचको आपसी विभाजनले संघको उभोगतिभन्दा अधोगति निश्चित भएको भन्दै ब्यवसायीमा चिन्ता थपिएको छ । माघ २३ को अधिवेशन र चुनाव मिति जतिजति नजिक आइरहेको छ त्यतित्यति प्यानलका चुनावी सार्वजनिकताले संघ झन् थिलोथिलो पर्ने निश्चित देखिन्छ ।

मुख्यगरी बाणगंगा नगरपालिकामा हावी देखिएका राजनीतिक दलका नेताको दाउपेचमा संघ परेको छ । त्यसमा केहि पूर्व अध्यक्षहरुको अर्कमण्यता र डबल रोलले आगोमा घ्यू थप्ने काम गरिरहेको देखिन्छ । २०७७ सालमा निर्वाचनबाट काँग्रेसका डोलकराम घिमिरे अध्यक्षमा चयन भएपछि संघमा बढी राजनीति भएको हो कि भन्ने कतिपयको बुझाई छ ।

उहाँकै कार्यकालमा संघका गतिविधिबाट रुष्ट भएर निर्वाचित सचिव खिमानन्द पौडेले (कोपिल) ले अर्को संघ गठन गरे । त्यसमा बाणिज्य संघकै २ सयबढी सदस्य सक्रिय देखिन्छन् । त्यसपछिका क्रियाकलापले पनि संघमा राजनीति छैन भन्ने कुराको पुष्टि गर्न सकेन ।
घिमिरेको कार्यकालमा पहिलेका नियमित हुने कार्यले निरन्तरता पाए, केहि रचनात्मक कार्य भए भने १२ औँ र १३ औँ गरी २ पटक महोत्सव आयोजना पनि सफल भए । त्यसबाहेक देखिने गरी ब्यवसायिक हकहितमा घिमिरेको नेतृत्वले सार्थक काम गर्न सकेन । यस्तैयस्तै हुँदै घिमिरेको ३ बर्षे कार्यकाल सकिन अब केहि दिन मात्र बाँकी छ ।

७७ र अहिलेको समय फेरिएको छ । ब्यवसायी पनि सचेत भएका छन् । उद्योग, ब्यापार, ब्यवसाय, दर्ता, नविकरण अनि सिजनेवल अनुगमन गर्ने कार्यको एजेण्डाले मात्र अब ब्यवसायीले कसैलाई मत नखसाल्न सक्छन् । तर ब्यवसायीको यो मनोविज्ञानले काम गर्ने स्थिति पनि देखिदैँन किनभने स्थानीय राजनैतिक दलले ब्यवसायीलाई राजनैतिक झण्डामा विभाजन गरिसकेका छन् र बाध्यताले उनैहरुका उम्मेदवारलाई भोट हाल्नै पर्ने स्थिति बनिरहेको देखिन्छ ।

अनुभवी र अग्रज मानिने अध्यक्षको चर्चामा आएका काँग्रेसका रुक बहादुर भुसाल र एमालेका गुणनिधि भुसाल अन्तिममा ब्याक भए । त्यसपछि अहिलेका युवा उममेदवारलाई एक आपसमा भीँडाएर संघलाई बर्बादीमा पार्ने रणनीतिमा दलका नेता र ब्यवसायीका अग्रज सक्रिय रहेको स्थिति देखिन्छ ।

एमालेबाट मोहन न्यौपाने, काँग्रेसबाट पूर्व वडा अध्यक्ष गणेश बहादुर क्षेत्री र स्वतन्त्रबाट लक्ष्मण कँडेल अध्यक्षको लडाईमा छन् ।प्राध्यापक तथा बयवसायी रमेशचन्द्र भुसालले पनि स्वतन्त्रबाट अध्यक्षको बाक्सा थापेका छन् । सर्वसहमति हुन सके बीचमा टोप नारायण बेलबासे पनि छन् । बेलबासेबाहेक यी तिन उम्मेदवार नै ब्यवसायीलाई चाहिने उम्मेदवार हुन् । सबै राम्रा र योग्य नै मानिन्छन् । उनीहरु सबै एक अर्काका मित्र पनि हुन् । संघमा आवद्ध सबै सदस्यसंगै तिनै थरीका उम्मेदवारको राम्रो साइनो र सम्बन्ध छ ।

तर राजनीतिको फोहोरी खेलले उनीहरुलाई बिभाजन गरेको छ । त्यो विभाजनमा ब्यवसायिक हकहित देखिन्न केवल देखिन्छ त प्रतिशोध, आग्रहपूर्वाग्रह । दलको झण्डामा विभक्त भएर उनीहरु एक अर्कामाथि हिलो छ्याप्ने कार्यमा लागिसकेका छन् । ब्यवसायीलाई लोभ लालच र प्रलोभनमा पारेर मत तान्न अध्यक्षका उम्मेदवार र नेताहरु कोठे वैठक र भेटघाटमा उनीहरुको सक्रियता बढिसकेको छ । अहिलेसम्मका सिनारियो हेर्दा अब कोहि पछि हट्नेवाला छैनन् ।

अध्यक्ष बाहेकका पदमा पनि प्यानल बनिसकेका छन् । योग्य र राम्रा ब्यवसायी एक अर्काका प्रतिद्वन्दी उम्मेदवार बनिसकेका छन् । आपसमा उक्साएर लडाउने, बिभाजन गर्ने, संघलाई टुक्रयाउने अनि बसेर राम हेर्ने एउटा तप्का पनि यस कार्यमा उस्तैगरी सक्रिय देखिन्छ ।

यो प्रतिशोधले संघ बलियो हुनभन्दा पनि कमजोर हुनेमा दुई मत छैन बर्तमान पदाधिकारीका केहि जिम्मेवार ब्यक्तिले अपिटाइम्सलाई भनेका छन् । उनीहरु थप्छन् ‘हामीले सकेनौँ । साथीहरुले पनि संघमा राजनीति हावी गराए । पूर्वअध्यक्षहरुको डबल स्ट्याण्ड देखियो । यहाँ मिल्ने, मिलाउने भन्दा पनि भाग लगाउने, भाँड्ने र संघलाई कमजोर बनाउने खेल छ । हाम्रो टाउको दुखिसक्यो । अब हामी त्यो रेसमा छैनौँ । अधिवेशनसम्म त पर्खनै पर्यो । यस्तो घिनलाग्दो खेल भइरहेको छ संघमा ।’


अर्का पदाधिकारीले भने ‘हामीले त पूर्व अध्यक्षहरुलाई अग्रज मान्छौँ । उनीहरुले मिलाए सबै कुरा मिल्न सक्छ । तर उनीहरु नै ब्यवसायीलाई बिभाजन गर्न कम्मर कसेर लागेका छन् । ब्यवसायी मारमा छन् । सानाठुला उद्योग, ब्यापार र ब्यवसाय चौपट छ । पैसा छैन । संघ फुटेको छ । यस्तो अवस्थामा चुनाव गराएर के गर्न खोजेका हुन् कुन्नि ?’

ब्यवसायीले भनेका अग्रजहरुमा पूर्व अध्यक्षहरु विष्णु न्यौपाने, देवी पाण्डे, यज्ञ भट्टराई, निवर्तमान अध्यक्ष उमानाथ पौडेल, वर्तमान अध्यक्ष डोलकराम घिमिरे लगायत अरु संस्थापकहरु पर्दछन् । संघमा राम्रो ब्यक्तिले नेतृत्व गर्ने बातावरण मिलाउने भन्दा पनि आफ्नो दलको मान्छे भर्ति गर्ने रणनीतिमा अग्रजहरु लागेको अधिकांस ब्यवसायी बताउँछन् । यो नै अहिलेको मुखय समस्या रहेको उनीहरुको विश्लेषण छ ।

हुन पनि अग्रजहरुको क्रियाकलाप हेर्दा त्यस्तै देखिन्छ । एकातिर गयो उउटा कुरा गर्यो, एउटालाई उचाल्यो, अर्को पक्षसंग गयो अर्को कुरा गर्यो अर्कोलाई उचाल्यो । तर यस कुरालाई पनि अग्रहरु स्विकार गर्दैनन् ।

सकेसम्म नयाँ पुराना दललाई मिलाएर सहमतिमा नेतृत्व चयन गर्ने कार्यमा लाग्न अग्रजलाई सुझाउँदै आफूहरु पनि सहयोग गर्न तयार रहेको उनीहरु बताउँछन् । अहिले कसैले पनि चुनाव नचाहेको ब्यवसायी बताउँछन् । जर्वजस्त चुनाव गराए संघ अर्को टुक्राको बाटोमा जाने र अहिलेसम्मको इतिहास र विरासत पनि मेटिने भन्दै मिल्न उनीहरुले चेतावनी दिए ।