मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेयर हर्कराजको कार्यकक्षमा त्यो ‘नमेटिने ५ मिनेट’

मेयर हर्कराजको कार्यकक्षमा त्यो ‘नमेटिने ५ मिनेट’

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने,

काठमाडौँ । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईलाई भेट्न र उनीसंग फोटो खिचाउन नरुचाउने सायदै होलान् । सुनसरी जिल्लाको इटहरी र पूर्वी नेपालको त्यसआसपासम्म पुगेका जो-कोहिलाई धरान पुग्न लालसा जाग्छ भने मौका मिलेसम्म मेयर साम्पाङलाई ‘भेटुँभेटुँ’ लाग्दछ ।

त्यस्तो हुनुको पछाडि मेयर साप्का आफ्नै विशेषता छन् । मुख्यगरी मेयरको श्रमसंस्कृतिले संसारलाई चकित पारेको छ । भनाई, अभिब्यक्ति र लेखाईमा छुद्र, रुखो र खरो भएर बेलाबेलामा विवादमा आए पनि श्रम आन्दोलनको अभियान्ता अनिर भ्रष्टाचारलाई मुख्य शत्रु ठान्ने उहाँको विशेषताका कारण मेयरका अरु कमजोरीमाथि सायदैका आँखा जान्छन् ।

‘स्वास्थ्य जनचेतना’ को लागि म पूर्वी नेपालको झापा र सुनसरीसम्म पुगेको थिएँ । मेयर साम्पाङलाई भेट्ने कुनै योजना थिएन काठमाडौँबाट निस्कँदा । माघ १४ र १५ गते झापाको दमक र सुनसरीको झुम्कामा कार्यक्रम थियो । १५ गते झुम्काको कार्यक्रम सकेर काठमाडौँ फर्कन योजना भए पनि प्लेन उडानमा समस्या भएपछि १५ गते नै म धरान टाप कसेँ । १५ गतेको रात धरानमा विताएँ ।
मेयरबारे म अनविज्ञ थिइनँ । मलाई मेयर नौलो लागेको पनि होइन । तर उहाँको सरलता, राष्ट्रप्रेम, खरो र जंगी स्वभाव, श्रम संस्कृति र श्रम आन्दोलन, भ्रष्टाचार निवारणमा गरेको अहोरात्रको कर्मले म उहाँको अनुयायी र फ्यान छु । बिभिन्न कार्यक्रम र अभियानमा जम्का भेट भए पनि उहाँसंगै उहाँकै कार्यकक्षमा मेरो भेट यो नै पहिलो थियो ।

१५ गते मंगलबार विहान ८ बजेतिर फोन गरेँ र उहाँको समय लिएँ । उहाँले १२ बजे थोरै समयका लागि भए पनि भेट्ने वचन दिनुभयो । सोहि दिन विराटनगरको उडान भएका कारण मेयर साप्ले भनेको समयभन्दा १ घण्टा चाँडो नै कार्यकक्षमा पुगेँ । एक्कासी फोन भए पनि उहाँले सजिलै अप्वान्टमेन्ट दिनुभयो ।

पालिकाको भित्र बाहिर निकै चहलपहल थियो । सोध्दै म कार्यकक्ष पुगेँ । बाहिर स्वकीय सचिवसहित केहि कर्मचारी र उहाँलाई भेट्ने मानिस थिए । मेयर साप् भित्रै हुनुहुन्थ्यो । बाहिरी कक्षमा चारैतिर उहाँका कामको वर्णन समेटिएका फोटाहरु झुण्ड्याइएको थियो ।

म लगायत धेरैले उहाँलाई कुरिरहेका थियौँ । मानिस आउने जाने क्रम चलिरहेको थियो । त्यसपछि मेयर राई बाहिर निस्कनु भयो । हामी कसैलाई हेर्दै नहेरी उहाँ बाहिर जानुभयो । हामी सबै अचम्ममा पर्यौँ । यतिखेरसम्म विहानको साढे ११ बजिसकेको थियो । त्यसपछि करिब १२ बजेको समयमा उहाँ कार्यकक्षमा आउनु भयो । त्यहाँ भएका कसैको पनि नमस्कार नर्फकाई कार्यकक्षमा छिनुर््भयो । उहाँको स्वभावबारे म त पहिले नै जानकार थिएँ तर त्यहाँ आएका केहि ब्यक्ति नमस्कार नर्फकँदा ट्वाल्ल परे । मलाई पनि अलिअलि आश्चर्य लागिरहेको थियो ।

स्वकीय सचिवसंग मेरो कुरा हुँदै थियो । मेयर साप् बाहिर जानुमा अर्थ रहेछ । उहाँले फस्ट आवर (१० देखि ११ । १२ सम्म) सबै शाखाहरुको अवलोकन गर्ने, कर्मचारी आए, नआएको हेर्ने गर्नुहुँदो रहेछ, स्वकीय सचिवले यस्तै बताइरहनुभएको थियो ।
हाम्रो कुरा हुँदै थियो मेयर साप्ले भित्र बोलाउनु भयो । उहाँसंग ५ मिनेट पनि समय थिएन । दस्तखत गर्नुपर्ने फाइलहरु आइरहेका थिए । उहाँले फाइल पढ्दै, तिनको बारेमा बुझ्दै हस्ताक्षर गरिरहनुभएको थियो ।

फाइल हस्ताक्षर गर्दै उहाँले परिचय माग्नु भयो । कहाँबाट आएको सोध्नु भयो । मैले कपिलवस्तुबाट आएको बताएँ ।
मानिसको आवतजावत जारी थियो । नगरका राजस्व फाँटका प्रमुख पनि त्यहिँ थिए । डिस्ट्रव होला कि भनेर मेयरको हस्ताक्षर जारी रहेको बखत् म ‘चुप’ रहन्थेँ । उहाँले भने भन्नुस् न भन्नुस् म त यस्तै हो भनिरहनुभएको थियो । धमाधम फाइल हस्ताक्षर गरिरहनुभएको थियो ।

उहाँले थप्नुभयो ‘कस्तो होला मेयर भनेर अचम्म माननुभए होला है । बारिह पनि नहेरी भित्र आएँ । मतलबवै नगरेजस्तो । नमस्कार पनि फर्काएन भन्नुभएको होला । मत यस्तै हो, अचम्म मान्नुभए होला (हाँस्दै) । कस्तो घमण्डी मेयर रहेछ भन्नु्भए होला है । मेरो त यस्तै चलिरहेको छ ।’

अनि उहाँले भन्नुभयो ‘केहि विशेष थियो कि चन्द्र जि, म के सेवा गरौँ ? लौन भन्नुस् त भन्नुस् म के गरौँ ‘ भनेर हाँस्दै सोध्नुभयो ? फाइल हस्ताक्षर जारी थियो ।
उहाँले फेरि भन्नुभयो के सुझाव दिन आउनु भयो ? मैले भने ‘सुझाव त के दिनु ? हजुरबाट लिन पो आएको । हजुरबाट प्रभावित मान्छे हुँ सप्रेम भेट्न आएको भनेँ ।’
उहाँले फेरि हाँस्दै भन्नुभयो म सुझाव पनि लिन्न, कसैलाई सुझाव पनि दिन्नँ । म त यस्तै हो ।

थोरै समय थियो मैले उहाँलाई विकासको प्राथमिकताबारे सोधेँ । उहाँले प्रविधि, प्रकृति र संस्कृतिलाई प्राथमिकतामा राखेर काम गरेको छु भन्नुभयो ।
वडा अध्यक्षहरुसंगको टकराव, बेलाबेलाका विवाद, अरु राजनैतिक प्रश्न पनि सोध्ने धेरै इच्छा हुँदा हुँदै पनि त्यो सम्भव नभएपछि श्रम आन्दोलन र जनसहभागिताबारे सोधेँ । मेयर साम्पाङले कसैले नेपालमा नगरेको काम आफूले गरेको सुनाउदै श्रम आन्दोलनबारे बताउनु भयो ।

‘अरुले गर्न सक्दैनन् । मलाई पैसा दिने मान्छे छन् । जापान, हङकङ, अष्ट्रेलिया, अमेरिका आदि देशबाट पैसो आउँछ । भातै खानुपर्छ ५० केजि चामलको । अरुले सक्दैनन् । यहाँ पब्लिकै हो । अन्त श्रमदान गर्न धरानको जस्तो पब्लिक हुनुपर्यो । त्यस्तो पब्लिक अन्यत्र छैनन् । पैसा दिइदिई आउँछ श्रम गर्न । पैसा पनि दिन्छन् । श्रमदान पनि दिन्छन् । श्रमदानको लागि नगरको बजेट खर्च नै गर्दिनँ’, उहाँले हास्दैहाँस्दै भनिरहनुभएको थियो ।

मलाई मेरो बाणगंगा नगरपालिलकाको विकासबारे चिन्तन रहेकाले यसको बनावट र वडागत संरचना र सम्भावना बताएँ । बाणगंगाको विकासबारे प्रश्न राखेँ उहाँले भन्नुभयो ‘केहि गर्नुपर्दैन सांस्कृतिक, प्राकृतिक र सांस्कृतिक काम गर्नुस् । पालिकाको नेतृत्वलाई यहि भन्नुहोस् । अरु केहि गर्न पर्दैन । मैले अरु बुझेको छैन । ठुलो भयो, । जान्ने भयो भन्छन् । अरुले मलाई बुझ्दैनन् । मैले भन्दै गरेको कुरा बुझ्न २५ बर्ष लाग्छ अरुलाई । पछिपछि मात्रै बुझ्छ । यता जंगलै फलफुलको वन बनाउँदै छौँ । जाने टिप्ने खाने फ्रिमा । पैसाविनाको संसार बनाउनुपर्छ ।’

मेयरले पैसाविनाको संसार बनाउनुपर्छ भन्दै गर्दा त्यहाँ भएका धेरै अचम्ममा पर्यौँ । मैले फेरि सोधेँ नेपालमा विकासमा बाधक को बन्यो ? कर्मचारीतन्त्रलाई दोष दिने कि नेतालाई ?, अथवा हाम्रो नियत खराब भयो ? यस प्रश्नमा उहाँले एक वाक्यमै उत्तर दिनुभयो त्यस्तो छैन । हामी नेपाली इमान्दार रहन सकेनौँ । हामीले कतिखेर टाइमपास हुन्छ ? कतिखेर घर जाऔँ भन्ने चटारो हुन्छ । मचाहिँ कतिखेर विहान हुन्छ र काममा जाऔँ भन्ने सोच्छु ।

दैनिन्दिनी कस्तो रहेछ त मेयर साप्को ? यस प्रश्नमा मेयर साम्पाङले भन्नुभएको थियो ‘केहि हुँदैन मेरो आयो यस्तै छ । रफरफ टाइपको मान्छे छु । धेरै जना बोल्न आउँछन् । बोल्नु मन लाग्दैन । अलि घोचेरै बोल्नुपर्ने रैछ के । अनि मान्छेले सम्झिराख्दो रैछ । नत्र भने नर्मल आयो गयो । मुख चलायो । भ्याभ्या भन्यो भन्ने लाग्छ होला अरुलाई ।’ अनि कुराकानीको शिलशिलामा उहाँ खित्का छोडेर हाँस्नुभयो ।
यति कुरा हुँदासम्म पनि मेयरले उता फाइल हस्ताक्षरको काम गरिरहनुभएको थियो । उहाँको कार्यकक्षको बारिह प्रवेशद्धारमाथि नै लेखिएको छ सदाचारीलाई स्वागत छ, भ्रष्टाचारीलाई निशेध छ । आफू यस लाइनमा कटिवद्ध रहेको उहाँले बताउनुभयो । त्यसपछि मैले कुराकानीलाई त्यहि रोकेँ । उहाँ आफैले फोटो खिच्न बोलाउनु भयो । फोटो पनि खिच्यौँ । अंकमाल गर्यौँ र अर्कोपटक लामो कुराकानी गर्ने गरी छुट्टियौँ ।

त्यहाँबाट छुट्टिए पनि उहाँका ५ ६ कुरा मनमा अमिट रहे । किनकि नेपालका उनीबाहेकका विरलै जनप्रतिनिधिको पहिलो प्राथमिकता सेवाग्राही र नगरको काम पर्दैन । मैले अहिलेसम्म त्यस्तो जनप्रतिनिधि देखेको थिइनँ जसले विहान १० बजे अफिस पुगेपछि मातहतका काम गर्ने शाखा र कर्मचारीको स्थिति सुक्ष्म अनुगमन गरी आवश्यक निर्देशन दिएको होओस् ।
मेयरको पहिलो आवर साँच्चैको सबैले सिको गर्ने खालको नै रहेछ ।

पहिलो, कार्यकक्षको ढोकामै सदाचारीलाई स्वागत र भ्रष्टाचारीलाई निशेध लेखिएाकोबाट बुझ्नुपर्दछ कि मेयर हर्क राई भ्रष्टाचारको जालो च्यात्न चाहानुहुन्छ । यस्तो जो कोहिले लेख्न आँट गर्दैनन् । किनकि प्रत्यक्ष र नीति मिलाएर जनप्रतिनिधिले भ्रष्टाचार गरिरहेकै छन् । त्यसकारण यस्तो वाक्य लेख्ने आँट अरुमा हुँदैन ।

दोश्रो, पहिलो आवरमा कर्मचारी र मातहतका शाखामा के हुँदैछ, कर्मचारी आए कि आएनन् ? त्यसको अनुगमन गर्न आफै खटिने, आवश्यक निर्देशन दिने ।

तेश्रो कुरा आफूलाई भेट्न आएका अतिथिभन्दा पनि सेवाग्राहीका फाइल प्राथमिकतामा । फाइल रोकेर अतिथिसंग नगफ्निे ।

चौथो, हाँसेर प्रष्ट कुरा गर्ने, पाँचौँ अनावश्यक रुपमा मान्छेसंग समय बर्बाद नगर्ने, हस्ताक्षर गर्नुपूर्व फाइलबारे निकै बुझ्ने ।
उसो त मेयरलाई भ्ट्नूपूर्व गाडी चालक, पैदलयात्री र अटोचालक, केहि स्थानीयसंग पनि उहाँबारे बुझेको थिएँ । कसैले पनि नराम्रो भनेनन् । पार्टीका सिमित घेरामा रन्थनिएका मान्छे बाहेकले मेयर साम्पाङको आलोचना गर्ने रहनछन् । अटो चालकदेखि मकै बेच्नेसम्मले मेयरको कामको तारिफ गर्दछन् ।

धरानको बाटोमा विगत ५२ बर्षदेखि घडी मर्मत गर्दै आइरहेका ७२ बर्षका वृद्ध अत्तर मौर्यासंग पनि मेयरबारे कुराकानी गरेको थिएँ । उहाँले त मेयरबारे निकै खुलेर भन्नुभयो । मेयरको प्रसंसा गर्नुभयो । इतिहासमा यस्ता मान्छे जन्मने रहेछन् भनेर उहाँले हर्कको बयान गर्नुभयो ।

समाज र राजनीतिप्रति चासो राख्ने ती वृद्ध बुबाले कहिले काहिँ मेयर विवादमा आउने गरेको कुरा पनि सुनाए । उनले भने मेयरका नीजि कुरा आफ्नै खालका छन् उहाँको त्यो जन्मजात स्वभाव हो । लेख्दा बोल्दा चिल्लो घस्नुहुन्न । ठाडो र खरो लेख्नुहुन्छ । लेखाईजस्तै ब्यावहार पनि छ ।

धरानको महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल नआए पनि बालेन आएको कुरा पनि वृद्धले सुनाए । उनको बुझाई रहेछ धरानको खाने पानी, अस्पताल र एयरपोर्टबारे बोल्न पर्छ भनेर प्रधानमन्त्री आएनन् । त्यसपछि उनी पनि के कम मेयरले बालेनलाई बोलाई दिए ।

यस्तै जनताको सन्तुष्टि अनि त्यो कार्यकक्षमा मेयरले देखाएको गतिविधिको ५ मिनेट साँच्चै मेरो लागि अमिट बन्यो । सन्देशमुलक बन्यो । र आफैमा गमेँ हामीले पनि यसैगरी समयको सदुपयोग गर्नुपर्ने रहेछ ।