मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डले प्रतिपक्षीलाई भने राजनैतिक संस्कार देखाउनू, बालकुमारी घटना अध्ययनमा छः प्रधानमन्त्री

प्रचण्डले प्रतिपक्षीलाई भने राजनैतिक संस्कार देखाउनू, बालकुमारी घटना अध्ययनमा छः प्रधानमन्त्री

अपि टाइम्स

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरेको र अध्ययनकै क्रममा रहेको बताएका छन्।

शनिबार सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाबारे छानबिन आयोगले बुझाएको प्रतिवेदन अध्ययनकै क्रममा रहेको बताएका हुन् ।

अध्ययनपछि त्यसबारेमा निर्णय गरिने बताउँदै प्रधानमन्त्री प्रचण्डले संसदमा प्रतिपक्षी दलले राजनीतिक संस्कार देखाउनुपर्ने बताए।

‘आयोग बनाएर छानविन गर्ने निर्णय सरकारकै हो। प्रतिवेदन अध्ययनको प्रक्रियामा छ। अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौं। यो सरकारको क्षेत्राधिकार हो। प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ,’ उनले भने।

गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो।

घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिस सहितको प्रतिवेदन पेस गर्ने गरी मन्त्रिपरिषदको बैठकले पुस १६ मा जाँचबुझ आयोग बनाएको थियो। आयोगले ४४ दिन छानबिन गरी प्रतिवेदन बुझाएको थियो।

आयोगले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेको थियो।

प्रतिवेदनमा मन्त्रीको गल्ती भनिएपनि उनलाई कारबाही नगरिएको भन्दै संसदमा प्रतिपक्षी दलहरूले लगातार विरोध जनाउँदै आइरहेका छन्। उनीहरूले मन्त्री ज्वालासँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि नैतिक जिम्मेवारी लिएर पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्।

त्यसबारेमा पार्टीको संसदीय दलको बैठकमा विषय उठेपछि प्रधानमन्त्री प्रचण्डले आवश्यक निष्कर्षमा पुग्ने बताउँदै प्रतिक्षलाई राजनीतिक संस्कार देखाउन भनेका हुन्।

आगामी मन्त्रिपरिषद बैठकपछि सरकारको तर्फबाट संसदमा विधेयकहरू प्रस्तुत गर्ने भएकाले प्रस्तुत विधेयकहरू पारित गराउन प्रधानमन्त्रीले आफ्ना दलका सांसदहरूलाई निर्देशन दिए।

सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटबारे सांसदहरूलाई अभिमुखीकरण गर्न सिंहदरबारमा आज बिहान माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको हो। तस्बिरः प्रधानमन्त्रीको सचिवालयतस्बिरः प्रधानमन्त्रीको सचिवालय