मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काँग्रेस र एमालेको गढ बाणगंगामा घण्टी हावी, किल्ला ढलेकै हो त ?

काँग्रेस र एमालेको गढ बाणगंगामा घण्टी हावी, किल्ला ढलेकै हो त ?

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
कपिलवस्तु । संयोग या नियोजित, राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुले शनिबार आयोजना गरेको खुला सभाकै दिन बाणगंगामा बिभिन्न कार्यक्रम आयोजना भए । नगरपालिकाको बनभोज कार्यक्रम, बुद्ध रंगशालामा खेलकुद, कपिलवस्तु उद्योग वाणिज्य संघको कार्यालयमा पदस्थापन, त्यहाँको ठुलो दलले ठाउँठाउँमा राखेका खानपानका कार्यक्रम ।

‘संयोगले यस्तो जुरेको हो भने स्वभाविक रुपमा लिन सकिएला’ होइन भने ‘बुद्ध रंगशालामा एक महिनाअघिबाट पार्टीका सभापति रवि लामिछाने आउँछन् भनेर चर्चा र पूर्वसूचना भएकोबखत् नै यहि दिन यी कार्यक्रमहरु जुधाइए’, यी कदमलाई रास्वपाका नेताले नियोजित भनेका छन् ।

रास्वपाका नेताहरुले त्यसो भने पनि नगरमा भएका अरु कार्यक्रम नियमित भएकार र नियोजित नभएका दलका नेताहरु बताउँछन् । भनेजस्तो तवरले कपिलवस्तु र बाणगंगामा रास्वपाको संगठन विस्तार हुन नसकेको मानेर अघिपछि खिसीट्युरी गरिरहेका बाणगंगाका काँग्रेस र एमालेका कार्यकर्ताहरुको मुटु लामिछाने आउने भन्ने सूचनाले एक प्रकारले थर्किएको थियो ।

लामिछानेको उपस्थिति हुने भएपछि नेताकार्यकर्तामा डर थियो धेरै जनता सहभागि भए भने के कसो गर्ने हो भनेर । त्यसकारण आफ्ना कार्यकर्ता रोक्न उनीहरुको त्यस्तो प्रयास थियो । उसो त रवि आउने कार्यक्रममा एकदुई सय मान्छे जान्छन् भनेर चोकचोकमा खिसी ट्यूरी गर्ने मान्छे पनि थिए । बाणगंगा र कपिलवस्तुमा संगठन छैन भन्ने लघुताभाष दलका नेता र कार्यकर्तामा थियो । त्यसैले रास्वपाको कार्यक्रम विफल बनाउन सकिन्छ भन्ने पूर्ण आत्मविश्वास भएर बिभिन्न कार्यक्रम आयोजना भएका थिए ।

तर ती नेताले भनेजस्तो भएन, जनता र नेता कार्यकताहरु छेकेर पनि छेकिएनन् । रविको भाषण सुन्न गाउँगाउँबाट बुद्ध रंगशालामा मान्छे आए । बुद्धरंगशाला घण्टी चुनाव चिन्ह अंकित निलो झण्डा र टिसर्टले रंगियो । बाजागाजा र फुलमालासहित हजारौँ जनताहरु अवरोधको बार भत्काउँदै सहभागि भए ।

घण्टीबाहक झण्डा लिएर नेता, कार्यकर्ता, बृद्धवृद्धा, युवा विद्यार्थी, ब्यापारी ब्यवसायी सहभागि भएर घण्टीवाहक झण्डा फहराए, नारा लगाए, रविको जयजयकार गरे । रविसंग नाचे । कतिपयले रास्वाको कार्यक्रममा बाहिरका मान्छे आएको र बाणगंगा नगरपालिकाभित्रबाट कम सहभागिता रहेको बताएका छन् ।

उसो त कार्यक्रम असफल पार्न बुद्ध रंगशालामा टिकट लाग्छ पनि भनिएको रहेछ भनेर भ्रम फिँजाईको मञ्चबाट रास्वपाका नेता गणेश पौडेलले भनेका थिए । यहाँ बिभिन्न संस्था र दलले ठाउँठाउँमा मासु भात खाने कार्यक्रम राखेर कार्यकर्ता रोक्न गरेको प्रयासबारे पनि पौडेलले मंचबाट भनेका थिए ।

सबै बार भत्काएर बुद्ध रंगशालामा उल्लेख्य संख्यामा उत्रेका हजारौँ जनताले सहभागिता जनाएर काँग्रेस र एमालेको गढ मानिएको बाणगंगामा ठुलो घण्टी बजाएका छन् । अर्थात् पुराना पार्टीको गढमा रास्वपाले घण्टी अंकित हरियो झण्डा फहराएको छ । जनताको त्यो सहभागिताले काँग्रेस र एमाले नेता र कार्यकर्ताको अनुमान फेल भएको छ ।

यति मात्रै होइन रविको विदाईमा हजारौँ जनताले रवि दाइ हाईहाई, भ्रष्टाचारी बाइबाई भन्दै नारा लगाएका थिए । मंचबाट रविलाई बाहिर निस्कन हम्यहम्य भएको थियो ।

जनतालाई अभिवादन गर्न रवि गाडीको माथि नै चढेको दृश्य थप रोचक थियो । यतिखेर रविको पक्षमा चर्को नारा र हुटिङ आएको थियो । बुद्ध रंगशालामा घण्टीले शनिबार देखाएको यो दृश्यले त्यहाँका पुराना पार्टी पनि अत्तालिएका सर्वसाधारण बताउँछन् ।

रोचक कुरा त के छ भने तामझामसंग भएको कार्यक्रममा रविले आगामी चुनावसम्म साथ दिन भन्दै जनतालाई कसम पनि ख्वाएका थिए । यो देखेपछि त्यहाँका ठुला दलका नेता पनि जिल्ल परेका देखिन्थे ।
घण्टीप्रति माया र स्नेह भए उठेर अनुमोदन गर्न रविले आग्रह गर्दा सबै जनता उठेर एक स्वरमा साथ दिने बताएको दृश्य थप थप रोचक थियो ।

काँग्रेस, एमाले, माओवादी लगायतका दलमा लागेकाहरु नै कार्यक्रममा सहभागि भएर सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल लगायतको भाषणमा गडगडाहक ताली बजाएका छन् । यस्तो भएपछि अब बाणगंगा र कपिलवस्तुमा रास्वपा थप शक्तिशाली भएको अनुमान गर्न सकिन्छ ।

अब संगठन विस्तार गर्न थप सहज हुने नेताहरुको भनाई छ । यदि यहि शक्ति साँच्चिकै रुपमा आएका हुन् भने काँग्रेस र एमालेको गढ ढलेकै रुपमा बुझ्न सकिन्छ । यदि रविको भाषण सुन्न आएका जनता हुन् भने पनि रास्वपाको लागि यो ठुलो प्रेरणा बनेको छ ।

के भने रविले ?
कपिलवस्तुबासीको उल्लेख्य सहभागिताले आफूलाई खुसी दिएको भन्दै आगामी चुनावसम्म घण्टीलाई साथ दिन रविले आग्रह गरे । यो सहभागिताले धेरै मान्छेको मुटु हल्लिएको बताए ।

कार्यक्रमका प्रमुख वक्ता लामिछानेले भाषणको सुरुमै आफूलाई रोक्न गरिएका बिभिन्न प्रयास र भ्रमको भण्डाफोर गरेका थिए ।
आफू आउने भएपछि बिभिन्न कार्यक्रम राखिएका, मासुभातको भोज चलाइएका, टिकट लाग्छ रे रविलाई हेर्न लगायतका भ्रम छरिएका भन्दै अब घण्टीलाई कुनै तागतले रोक्न नसक्ने उनको भनाई छ ।

अब रक्सी र मासुले जनता रोकिँदैनन् भन्ने कुराको प्रमाण कपिलवस्तुका जनता रहेको लामिछानेले बताएका थिए ।
पुराना पार्टीका नेता र कार्यकर्ताबाट आफूमाथि जहिले पनि हमला गरिरहेको हुनाले मुलुक बनाउने मिसनमा लागेको मान्छे कहिल्यै नझुक्ने लामिछानेको भनाई छ । भाषणभर उनले ताली पाइरहेका थिए ।

यहि गठबन्धनको सरकारले ८४ सम्म राम्रो काम गर्न नसक्ने भन्दै मध्यावधि चुनावतर्फ पनि सोच्नु पर्ने दिन आएको उनले बताए ।
जनता जागेपछि हिसाब खोज्छन् भन्दै रविले यी भ्रष्ट नेताले सम्पत्ति शुद्धिकरणमा आफूलाई हाल्नु नसुहाउने कुरा भएको बताए ।
यदि आफूहरु जेलमा गए पनि ८४ सालको मतपेटिकामा घण्टी छाप लगाउने जनतालाई कसैले रोक्न नसक्ने उनको दावी छ ।
नेतृत्व परिवर्तन भएपछि विश्वभरका देश बनेका हुनाले अब बदलिन आँट गर्नको लागि कपिलवस्तुबासीमार्फत् रविले देशभरका जनतालाई आग्रह गरे ।

कार्यक्रममा उपसभापति डिपी अर्याल, केन्द्रिय सदस्य अर्जुन अधिकारी, पशुविज्ञ होम क्षेत्री, लुम्बिनी प्रदेश इन्चार्ज गणेश पौडेल, जिल्ला सभापति शिव सुवेदी, नेता वीक्रम थापा लगायतले मन्तव्य राखेका थिए ।
बाणगंगा नगरसभापति बुद्धिसागर बेलबासेले संचालन गरेको कार्यक्रममा जिल्लाको संस्कृति झल्कने खालका सांगितिक प्रस्तुति पनि देखाइएको थियो ।

शनिबारको उपस्थितिले बाणगंगा र कपिलवस्तुमा के काँग्रेस र एमालेको गढ भत्कन लागेको हो त ? गढ नभत्किए पनि यो ठुलो झापड रहेको कतिपय बताउँछन् । यसले काँग्रेश, एमाले र माओवादीमा तरंग आएको सर्वसाधारणको भनाई छ । यसलाई अब शक्तिमा बदल्ने नेतृत्वको जरुरी रहेको युवाहरुको भनाई छ ।

कार्यक्रममा सहभागि जनताले अब घण्टीलाई स्थापित गराउने बताए । रविको भाषण सुन्न जिल्ला भित्र र बाहिरबाट पनि जनसहभागिता थियो ।