मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपाको कार्यक्रमले कपिलवस्तुमा तरंग, भीँड सक्कली कि नक्कली भन्ने वहस !

रास्वपाको कार्यक्रमले कपिलवस्तुमा तरंग, भीँड सक्कली कि नक्कली भन्ने वहस !

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

कपिलवस्तु। राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुले शनिबार बाणगंगाको बुद्ध रंगशालामा आयोजना गरेको खुला सभामा नसोँचेको भीँड जम्मा भयो । विहान १० बजेसम्म बाणगंगामा मानिसको सहभागिता थिएन । ११ देखि १२ बजेसम्म करिब ३ सयको हाराहारीमा जनसहभागिता थियो ।

कपिलवस्तु र बाणगंगा क्षेत्र खासगरी काँग्रेस, एमाले र माओवादीको गढ मानिन्छ । त्यसैले रास्वपामा खुलेर मानिसहरु लागेका छैनन् । त्यसकारण रास्वपाका नेताकार्यकर्ताको मनोबल त्यति बलियो छैन । यस्तो अवस्थाको बीच यहि गढमा ११ बजेसम्म जनताको सहभागिता थोरै भएपछि कार्यकर्ता एक प्रकारले निरास थिए । सभापति आउँदा पनि मानिसको सहभागिता नभएमा संगठन विस्तारमा झन् समस्या हुने लख् रास्वपाका नेता कार्यकर्ताले काट्दै थिए ।

सभापति रवि लामिछानेको टोली त्यतिखेरसम्म मायादेवी रिसोर्टमा खाना खाँदै थियो । अझै भीँडभाड बढेको थिएन । तर जब मध्यान्ह १२ बज्यो त्यसपछि भने एकाएक मानिस जम्मा हुन थाले । भीँड बढ्न थाल्यो ।
करिब ३ सय हाराहारीमा रहेको जनसहभागिताको ग्राफ एकैपटक उच्च भयो । सुनसान बुद्धरंगशालाको चौरको दक्षिणतिर भरिभराउ हुन थाल्यो ।

कार्यक्रमका संचालक बुद्धि सागर बेलबासेले कार्यक्रम सुरु गर्दै थिए । नाचगान अतिथिको आसन ग्रहण हुँदै थियो । उता मायादेवी रिसोर्टबाट रवि लामिछाने कार्यक्रमस्थलतर्फ आउने तयारी थिए । चार नम्बर चोकमा नेताकार्यकर्ताको सहभागिता हुँदै थियो । बाजागाज तयार थियो । त्यसबीचमा लामिछाने, उपसभापति डिपी अर्यालको टोली बाजागासहित मंचतर्फ आयो । जब रवि मंचमा आए नसोँचेको भीँड देखियो । करिब ८ हजार मान्छे रंगशालामा जम्मा भए । लामिछानेले भाषणसक्दासम्म भीँड बढिरहेको नै थियो ।

कार्यक्रममा एक्कासी यो भीँड भएपछि रास्वपाका नेताहरु पनि आश्चर्यमा परेका छन् भने काँग्रेस र एमालेको गढ मानिएको बाणगंगाामा यसरी जनसागर उर्लेपछि ती पार्टीका नेता र कार्यकर्ताले पनि चोकचोकमा यहि विषयमा कुरा गरिरहेका छन् ।
जिल्लामा पूर्ण रुपमा संगठन विस्तार हुन नसकेको र पार्टीमा लाग्नेहरु खुल्न नसकेको एउटा अवस्था, अर्कोतर्फ अन्य पार्टीको सिण्डिकेट, बिभिन्न कार्यक्रमका आयोजना । यो सबैले बाणगंगामा यतिधेरै मान्छे आउलान् भनेर कसैले आंकलन गरेका थिएन । स्वयम् रास्वपाका नेता कार्यकर्ता पनि यस्तो उपस्थिति हुनेमा विश्वस्त थिएनन् ।

तर उपस्थिति कसैले नसोचेको भयो । सभापति रवि लामिछाने लगायतका नेताहरु पनि हौसँदै भाषण गरे । त्यो जनसागर देखेपछि रवि पनि भोक्रो फुल्याईफुल्याई चिच्याए । यसले अहिले कपिलवस्तुमा तरंग सिर्जना गरेको छ ।
के बाणगंगामा आएका यी सबै कार्यकर्ता रास्वपाका सदस्यता लिएका आफ्नै कार्यकर्ता हुन् ? के कपिलवस्तुबाट मात्रै यो सहभागिता भएको हो ?कि अन्य जिल्लाबाट मानिस ओसारिए ? काँग्रेस, एमाले, माओवादी, राप्रपा लगायतका दलबाट बाणगंगाका कति नेता कार्यकर्ता गए त ? यो भीँडले बाणगंगालाई कस्तो असर गर्यो ? भनिए अनुसार के बाणगंगामा काँग्रेस, एमालेको गढ भत्किएकै हो त ? बाणगंगाको यो भीँड सक्कली हो कि नक्कली अहिले यस्तै प्रश्नमाथि बहस भइरहेको छ ।


श्रोतका अनुसार बाणगंगामा जम्मा भएको यो सक्कली होइन र नक्कली पनि होइन । सक्कली भन्नाले यहाँ सबै कपिलवस्तुबाट मात्र सहभागि भएनन् । नक्कली अर्थात् यहाँ बाहिरी जिलाबाट पनि बसमा मान्छे ल्याइएको थियो ।

रास्वपाका नेता र कार्यकर्ताले यो सक्कली भीँड रहेको बताउँछन् । पार्टीमा सदस्यता नलिए पनि, संगठनमा नलागे पनि अरु पार्टीबाट विरक्तिएका सबै कार्यक्रममा सहभागि भएकाले यो भीँडलाई सक्कली मान्नु पर्ने पार्टी उपसभापति डिपी अर्याल बताउँछन् ।

उनले भने ‘सक्कली नक्कली भन्ने मलाई थाहा भएन पार्टीलाई माया गरेर आएको देख्यौँ । स्वागत गर्नुभयो, फोटाहरु खिच्नुभयो । बिदाईमा नारा र हुटिङ आए । उहाँहरुले सदस्यता लिनुभएको छ छैन थाहा छैन नलिए पनि अब रास्वपामा मत खसाल्न सबै आतुर रहनुभएकाले उहाँहरु हाम्रै शुभचिन्तक हुनुहुन्छ ।’ देशभर अहिले पार्टी र सभापति लामिछानेको क्रेजले यो पुष्टि गर्ने उनले बताए ।

तर बाणगंगाका एमाले नेता गोपाल भट्टराइले यो भीँड नक्कली रहेकाले बाणगंगामा आफूहरुलाई कुनै असर नपरेको बताउँछन् ।
मानिसहरु यहाँ रुपन्देही, अर्घाखाँची लगायतका जिल्ला र कपिलवस्तुको पश्चिम र दक्षिणबाट आएको भन्दै यो भीँडले बाणगंगामा एमालेको संगठनलाई असर नगर्ने भट्टराइले बताए । बाणगंगाबाट सबै दलबाट न्यून सहभागिता रहेको उनको दावी छ।

काँग्रेसका एक नेताले पनि कपिलवस्तु र बाणगंगामा यो भीँडले कुनै असर नगर्ने बताए । बाणगंगाका एक नेताले भने ‘आज मान्छे राम्रै आएका हुन् । नराम्रो भन्न मिल्दैन तर यस सहभागिताले काँग्रेसको संगठनलाई असर गरेको छैन । यहाँ बाहिरबाट मान्छे आएका छन् । यो नक्कली भीँड हो ।’

यता कपिलवस्तु र वाणगंगा नगरपालिकाका बुद्धिजिवी र सरोकारवालाहरुले भने आजको कार्यक्रमले ठुलो पार्टीको निद्रा हराम भएको बताए ।

चार नम्बर घर भएका एक जनाले भने ‘कार्यक्रममा आउन रोकिएको कुरा पनि सुनियो । त्यसबीचमा पनि यतिका धेरै मानिस जम्मा भए । पार्टीका नेता र कार्यकर्ता त्यहाँ पुगेर तालि बजाएका छन् । नारा लगाएका छन् । जयजयकार गरेका छन् । यसलाई नक्कली भन्न मिल्दैन । यसलाई कमजोर सोच्नु एमाले र काँग्रेसको मुर्खता हुनेछ ।’

पार्टीमा लाग्ने अर्थमा भन्दा पनि रवि लोककप्रिय नेता रहेकाले काँग्रेस, एमाले र माओवादीका नेता उनलाई सुन्न आएको भन्दै एमाले र काँग्रेसको गढ नै भत्कियो भन्न अहिले हतार हुने उनीहरुको भनाई छ । तर यो कार्यक्रमले ठुला दल र नेतालाई राम्रै झड्का लगाइदिएको उनीहरु स्वीकार गर्दछन् ।

कार्यक्रममा सहभागि भएका कतिपयले शनिबारको कार्यक्रममा अर्घाखाची र रुपन्देहीबाट पनि धेरै मानिस जम्मा भएका बताउँछन् । बाणगंगाका मानिससको कम सहभागिता सत्य रहेको उनीहरु बताउँछन् ।

रास्वपा बाणगंगा नगरसभापति बुद्धि सागर बेलबासेले बुद्ध रंगशालाको भीँड नक्कली भन्नु हार मानसकिताको उपज भएको बताए । आफूहरुको कार्यक्रमका मान्छेलाई नक्कली भीँड भन्नेलाई आफ्नो कार्यक्रममा यति मान्छे जम्मा गर्न उनले चुनौति दिए । बिभिन्न पार्टी छोडी धेरै मान्छेहरु कार्यक्रममार्फत् रास्वपामा प्रवेश गर्नुले पनि भीँड सक्कली रहेको रास्वपाका नेताहरुको भनाई छ ।