चन्द्रकान्त न्यौपाने,
काठमाडौँ । कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी ३ बर्षे कार्यकालको लागि माघ २७ गते चुनाव हुँदै छ । निकै पेचिलो र प्रतिस्पर्धी बन्ने अनुमान गरिएको चुनावमा कसले बाजी मार्ला यसै भन्न सकिन्न । गठबन्धन सम्मिलित साझा दावी गरिएको गणेश बहादुर क्षेत्रीको प्यानल, एमाले समर्थित मोहन न्यौपानको प्यानल र स्वतन्त्र भनिएको लक्ष्मण कँडेल नेतृत्वको प्यानलमा अध्यक्ष पदमा मुख्य प्रतिस्पर्धा क्षेत्री र न्यौपानेबीच नै हुने अनुमान गर्न सकिन्छ । यद्यपी स्वतन्त्र प्यानलका कँडेलले पनि आफ्नो जित निश्चित भएको दावी गरिरहेका छन् ।
माओवादी, काँग्रेस लगायतको गठबन्धन रहेकाले न्यौपाने र क्षेत्रीमा क्षेत्रीलाई नै सजिलो हुन सक्ने देखिन्छ । तर क्षेत्रीले आफ्नो आधार इलाका मानिएको र संघमा सबैभन्दा धेरै भोटर रहेको मुख्य क्षेत्र चार नम्बरबाट कस्तो मत ल्याउँछन् त्यसमा क्षेत्रीको जित अडिएको देखिन्छ । यदि यो क्षेत्रमा क्षेत्रीको पक्षमा मत आउन सकेन भने न्यौपाने पनि नआउलान् भन्न सकिन्न । क्षेत्रीले चार नम्बरमा पल्लाभारी गर्न सकेनन् र न्यौपानेले त्यो मत हासिल गरे भने त्यहि नै अध्यक्ष पदमा निर्णयक मत रहन सक्ने अनुमान गर्न सकिन्छ ।
कस्तो क्षेत्र हो चार नम्बर क्षेत्र ?
बाणगंगा नगरपालिकाका ११ वडा, बुद्धभूमि नगरपालिका र शुद्धोदन गाउँपालिकाका केहि क्षेत्रमध्ये संघमा सबैभन्दा बढी मतदाता रहेको क्षेत्र हो ४ नम्बर । समाचार श्रोत अनुसार संघमा रहेका २ हजार ८० मतदातामध्ये ४२९ मत यस क्षेत्रमा मात्रै छ । यहि क्षेत्र जिल्लाकै समृद्ध र उर्वर क्षेत्र मानिन्छ ।
राष्ट्रिय राजनीतिमा हावी भएका नेताको बसोबास क्षेत्र पनि यहि हो भने शैक्षिक तथा सामाजिक संघ संस्था, ब्यापार ब्यवसाय भएको क्षेत्र पनि यहि हो । यहाँ नै जिल्लाका साक्षर मानिएको आवादी छ । त्यसकारण पार्टीले औलामा गनेजसरी ठ्याक्कै पार्टीमा मत जाने सम्भवना न्यून भएकाले मत क्रसको सम्भावना ज्यादा छ । चार नम्बरबाट एमाले र काँग्रेस, माओवादीले हिसाब गरे अनुसार मत नखस्ने ब्यवसायी बताउँछन् । ‘हाम्रो नजरमा क्षेत्री र न्यौपाने दुवै योग्य उम्मेदवारमा पर्दछन् । तर भोट पार्टीभन्दा माथि रहेर सोचिसोचि खसालिन्छ’, चार नम्बरका ब्यवसायी भन्छन् ।
के भन्छन् गणेश क्षेत्री ?
गणेश क्षेत्री बाणगंगा नगरपालिका वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष हुन् । त्यसको साथमा कपिलवस्तु सामुदायिक अस्पतालका संस्थापक अध्यक्ष तथा वरिष्ठ समाजसेवी स्वर्गिय शेर बहादुर क्षेत्रीको छेरा भएको हुनाले उहाँको आंसिक क्रेडिट पनि क्षेत्रीलाई जान सक्छ ।
स्थापना कालदेखि नै संघमा जोडिएका क्षेत्री वरिष्ठ उपाध्यक्ष र सल्लाहाकार भइसकेका ब्यक्ति हुन् । त्यसकारण सबै उद्योगी ब्यापारीसंग क्षेत्रीको राम्रो सम्बन्ध रहेको छ ।
लामो समयदेखि वडा नम्बर चार मै रहेकाले चार नम्बरबाट भोट क्रस हुनेमा उनी विश्वास गर्दैनन् । क्षेत्री भन्छन् ‘चार नम्बरबाट मत क्रस हुने कुरा त कता हो कता ? विपक्षीहरुबाट पनि धेरै मत आउने निश्चित छ । साझा प्यानल रहेकाले सबैबाट राम्रो साथ पाएको छु ।’ उनले थपे ‘चुनाव हो ढुक्क भएर बस्ने स्थिति छैन । साथीहरुसंग भेटघाट जारी छ । अन्य वातावरण राम्रो छ ।’चार नम्बर क्षेत्र काँग्रेस, माओवादी लगायतको राम्रो मत रहेको क्षेत्र रहेकाले पनि क्षेत्री मत आउनेमा विश्वस्त छन् ।
तर कतिपय जानकार भन्छन् ‘क्षेत्री विवादरहित राम्रो मान्छे नै हुनुहुन्छ । तर ४ नम्बरमा क्षेत्री ढुक्क हुने स्थिति छैन । किनकि ब्यवसायीले मत खसाल्दा संघको अघिल्लो नेतृत्वलाई पनि सम्झन्छन् ।’
लामो समय चार नम्बरमै बसोबास गरेका एक जना पाका ब्यवसायीले भने ‘अघिल्लो नेतृत्वले राम्रो काम गरिदिएको भए, बजार बन्दका विषयमा विवाद नआएको भए, ब्यापारी ब्यवसायीको क्षेत्रमा काम गरिदिएको भए क्षेत्रीलाई एक छापे भोट जान सक्थ्यो तर अघिल्लो कार्यकाल सुखद नभएकाले मत क्रस हुने सम्भावना ज्यादा देख्छु ।’ उनले थपे ‘तर न्यौपाने र कँडेलकोभन्दा चार नम्बरमा क्षेत्रीको पकड बलियो छ ।’ क्षत्रीको विश्वास अनुसार गठबन्धनका सबैले क्षेत्रीलाई भोट हाल्नेमा शंका गर्न सकिन्छ ।
यसो भने मोहन न्यौपानेले
क्षेत्रीका प्रतिद्वन्दी न्यौपानेलाई कतिपयले नगरबाहिरको ब्यक्ति पनि भन्ने गर्दछन् । तर न्यौपाने भन्छन् ‘त्यो मलाई हराउने रणनीति हो । यस्ता हल्लाले चुनाव जितिँदैन । चुनाव जित्न ब्यवसायीको भरोसा जित्नुपर्दछ ।’ उनले वडा नम्बर ८ बोडगाउँमा घर रहेको र त्यहाँ उद्योग रहेकोे बताए ।
आफ्नो आधार इलाका नरहे पनि ब्यवसायिक संलग्नताको आधारमा चार नम्बर क्षेत्र आफ्नो घर जस्तो रहेको बताउँदै राम्रो मत आउने न्यौपानेको दावी छ ।
अपिटाइम्ससंग उनले भने ‘मैले चार नम्बरबाट २ सय मत हासिल गर्दछु । यो मेरो ठोकुवा हो । मेरो वातावरण राम्रो छ ।’ न्यौपानेले आफूले मिहिनेत गर्नुपर्ने क्षेत्रको रुपमा चार नम्बर रहेको भने स्वीकार गरे । संघ मातहतका अन्य सबै क्षेत्र राम्रो रहेकोले नतिजा सुखद आउने न्यौपानेको भनाई छ ।
न्यौपानेको ठोकुवा अनुसार उनलाई मत आउने सम्भावना भने कम छ । गठबन्धनमा आवद्ध काँग्रेससंगै, माओवादी लगायतको भोट क्षेत्र पनि चार नम्बर हो । गठबन्धनमा आवद्ध दल इमान्दार रहे भने क्षेत्रीको पक्षमा मत जान सक्छ । यदि त्यस्तो हुँदा न्यौपानेले आशा गरेभन्दा थोरै मत ल्याउने क्षेत्री पक्षको दावी छ । न्यौपाने संघका पूर्व कोषाध्यक्ष तथा हालका लेखा समिति संयोजक हुन् ।
अर्कोतर्फ न्यौपानेको पक्षमा एमालेबाटै मत क्रस हुने सम्भावना रहेको समाचार श्रोत बताउँछ । श्रोत भन्छ ‘त्यो भनेको एमाले पार्टीभित्रको आन्तरिक किचलो हो । नेतानेतामा गुटबन्दी छ । कतिपयले न्यौपानेलाई असहयोग गर्ने पनि भनिरहेका छन् । यदि त्यस्तै भएमा एमालेतर्फको मत स्थानीय ब्यक्तिको आधारमा क्षेत्रीलाई नजाला भन्न किन्न ।’
चार नम्बरबाट क्षेत्रीले अपेक्षा गरे अनुसार मत नआउने एमाले नेताहरु बताउँछन् । क्षेत्रीतर्फको मत क्रस भएर न्यौपानेमा आयो भने क्षेत्रीले चुनाव हार्ने उनीहरु बताउँछन् ।
यता स्वतन्त्र प्यानलका कँडेलले आफ्नो पक्षमा चार नम्बरबाट अढाई सय बढी मत आउने दावी गर्दा चुनाव झन् रोचक हुन अनुमान गर्न सकिन्छ । आफूले चार नम्बरबाट क्षेत्री र न्यौपाने दुवैको मत तान्ने कँडेलको भनाई छ ।
प्रतिक्रिया