मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वरिष्ठमा भुसालको आकस्मिक अवतरण स्वेच्छिक कि रणनैतिक ?

वरिष्ठमा भुसालको आकस्मिक अवतरण स्वेच्छिक कि रणनैतिक ?

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने,
काठमाडौँ । पत्रकार सम्मेलमार्फत् कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी नेतृत्वको लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका रमेशचन्द्र भुसाल अन्ततहः आफ्नो निर्णयबाट ब्याक भए । माघ २७ गते हुने चुनावको लागि दिइएको मनोनयनको अन्तिम समयमा उनले वरिष्ठ उपाध्यक्ष पदमा स्वतन्त्रतर्फबाट मनोनयन दर्ता गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीनिकटको प्यानलबाट अध्यक्षमा लड्ने भनिएका भुसालले पार्टीमा कुरा नमिलेपछि स्वतन्त्र रुपमा अध्यक्षमा लड्ने बताएका थिए । तर त्यहाँ लक्ष्मण कँडेल अध्यक्ष पदमा उम्मेदवार बन्ने चर्चा थियो । त्यो भए पनि भुसाल अध्यक्षमा नै चुनाव लड्ने ढिपीमा थिए । तर त्यो ढिपीबाट पछि हटेर भुसाल वरिष्ठ उपाध्यक्षमा अवतरण भएपछि यसले आश्चर्य पैदा गरेको छ । मनोनयन पछि भुसाल ब्यापक रुपमा चुनावी प्रचारमा छन् ।

भुसालको यो आकस्मिक अवतरणलाई बिभिन्न रुपमा हेरिएको छ । अध्यक्षमा जित हुने निश्चय नभएपछि वरिष्ठतिरबाट फुत्त हुन सकिन्छ कि भनेर ब्याक भएको हुन सक्ने कतिपयले बताउँछन् भने गणेश बहादुर क्षेत्री ‘साझा’ प्यानलका वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हुमानाथ पौडेललाई हराउन कसैको रणनीतिमा भुसाल ब्याक भएको चर्चा छ ।

तर यस विषयमा बुझ्दा भुसालले यो आफ्नै स्वेच्छिक निर्णय नै भएको बताएका छन् । अंग्रेजी विषयका प्राध्यापक तथा उद्योगीको रुपमा परिचित भुसालले आफू लामो समय उद्योग ब्यवसायमा संलग्न रहेको कारण ब्यवसायीकै हकहितमा काम गर्न उहाँहरुकै माग अनुसार वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार रहेको भुसालले अपिटाइम्सलाई बताए ।

उनले भने ‘यो कुनै रणनैतिक योजना होइन । कसैलाई हराउनु नहराउनुसंग मेरो सरोकार छैन । मेरो उम्मेदवारी ब्यवसायिक हितमा हो । पार्टीहरु पुरानै शैलीमा हिँडे । आफू आवद्ध रास्वपा पनि अरु दलजस्तै गरी हिँड्यो । त्यसैले धेरै सोचेर ब्याक भएको हुँ । यो रणनीति होइन मेरै लागि एउटा सर्भे हो ।’

आफ्नो चुनावी प्रचारको क्रममा धेरै राम्रो वातावरण रहेको भन्दै चुनाव जित्ने उनको दावी छ । चुनाव जितेमा आफूले संघलाई रुपान्तरण गर्ने, आफ्नो ज्ञानबाट संघलाई राष्ट्रिय अन्र्तराष्ट्रिय मंचसम्म पुर्याउन सक्ने ल्याकत राख्ने उनले बताए ।

वरिष्ठ उपाध्यक्षमा गणेश बहादुर क्षेत्रीको साझा प्यानलबाट क्रसर ब्यवसायी हुमानाथ पौडेल उम्मेदवार छन् भने एमालसमर्थित ब्यवसायीको साझा प्यानलबाट वीरेन्द्र खाण उम्मेदवार छन् । धेरैले यी दुईमध्येबाट नै एक जनाले चुनाव जित्ने बताउँछन् । यी दुईबीच कडा प्रतिस्पर्धा हुने र जितहारमा झिनो मतान्तर हुन सक्ने अनुमान गर्न सकिन्छ ।