मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५० लाख खर्च गरेर सगरहवामा बनाइएका ढुंगाका मूर्ति हटाउन निर्देशन

५० लाख खर्च गरेर सगरहवामा बनाइएका ढुंगाका मूर्ति हटाउन निर्देशन

अपि टाइम्स

लुम्बिनी । कपिलवस्तु नगरपालिका–९ स्थित शाक्यहरूको नरसंहारस्थल सगरहवामा बनाइएका पत्थरका मूर्ति र दोहनीकोटमा निर्माण गरिएको गौशाला तत्काल त्यहाँबाट हटाउन पुरातत्त्व विभागले निर्देशन दिएको छ । ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदा स्थललाई असर गर्ने हुँदा ढुंगाका मूर्ति र गौशाला अन्यत्र सार्न विभागले लुम्बिनी विकास कोष र नगरपालिकालाई पत्राचार गरेको हो ।

त्यहाँ राखिएका ढुंगाका मूर्ति र नगरपालिकाले निर्माण गरेको गौशाला उपयुक्त ठाउँमा छैन,’ पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भने, ‘त्यसले ती दुवै त्यहाँबाट हटाउन भनेका हौं ।’ पुरातात्त्विक ठाउँको स्वरूप परिवर्तन हुँदा राम्रो मानिँदैन । त्यहाँ मानवीय क्रियाकलापले नयाँ नयाँ संरचना सिर्जना भएका छन् । यसले पुरानो परम्परा र मान्यतालाई द्विविधामा पार्ने हुँदा समस्या थपिने सम्पदाका जानकार बताउँछन् ।

सगरहवालाई पर्यटकीय गन्तव्य बनाउने भन्दै कोषले गत पुस २३ देखि माघ ८ सम्म राष्ट्रिय मूर्तिकला कार्यशाला गोष्ठी नै आयोजना गरेर त्यहाँ ढुंगाका मूर्ति कुँद्न लगाएको थियो । सगरहवामा भएको कठोर, ऐतिहासिक र त्रासदीपूर्ण घटनासँगै शान्तिका लागि गरिएको प्रयासका गाथा पत्थर–कलामा कुँदिएका छन् । देशभरका ख्यातिप्राप्त १५ मूर्तिकारले १७ वटा पत्थरमा आफ्नो कला, सीप र सिर्जना उजागर गर्दै मूर्ति बनाएका हुन् । मूर्ति कार्यशालामा ५० लनख लगानी भएको थियो ।

कौशल नरेश बिढुरकको सगरहवा आक्रमणमा ९ हजार ९ सय ९० जनाको मृत्यु भएको कुरा चिनियाँ यात्री ह्वेङ साङले आफ्नो यात्रा वर्णनमा उल्लेख गरेको वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारीले बताए । चिनियाँ यात्री ह्वेङसाङले तिलौराकोटदेखि उत्तर रहेको सगरहवामा हजारौं स्तूप बनाइएको उल्लेख गरेका छन् ।

विज्ञहरूका अनुसार सम्पदा क्षेत्रमा नगरी नहुने काम मात्र गर्नुपर्छ । त्यसका लागि सबैभन्दा पहिला एचआईए ‘हेरिटेज इम्प्याक्ट एसिसमेन्ट’ गर्नुपर्ने पहिलो सर्त हो । एचआईएले त्यो काम गर्दाको प्रभाव मूल्यांकन गर्छ र त्यसैका आधारमा काम गर्न मिल्न नमिल्ने निर्क्यौल गरिन्छ । तर, यहाँ एचआईए गरिएको छैन । सम्पदाविज्ञसँग सरसल्लाह गरिएको छैन । हचुवाका भरमा यी सबै काम गर्न खोजिएको छ । ‘यसले गम्भीर समस्या थप्ने निश्चित छ,’ एक सम्पदाविज्ञले भने, ‘त्यसको मूल्य भविष्यमा हामीले नराम्ररी चुकाउनुपर्नेछ ।’

पुरातात्त्विक महत्त्वको कपिलवस्तु नगरपालिकास्थित दोहनीकोटलाई अहिले नगरपालिकाले छाडा चौपाया राख्ने ठाउँ बनाएको छ । लुम्बिनी–तौलिहवा सडक खण्डको दोहनीमा बाटोसँगै सटेर दक्षिण रहेको कोटमा अहिले डेढ सय बढी चौपाया राखिएका छन् । नगर क्षेत्रमा छाडा चौपायाले समस्या दिएपछि पर्खाल लगाएर साढे ३ बिघा जमिनमा चौपाया राखिएको हो ।

गाईबस्तुको दिसापिसाबले पुरातात्त्विक बस्तु नासिने खतरा रहेको सरोकारवाला बताउँछन् । भुइँमा पिसाब चुहिएर जमिनमुनि पुग्छ । त्यसले हड्डी, हस्तीहाडलगायतका पुरातात्त्विक वस्तुलाई नाश गर्ने खतरा हुने विज्ञहरू बताउँछन् । पिसाबमा एसिडलगायतको रासायनिक तत्त्व हुन्छ । त्यसको रासायनिक प्रतिक्रियाले पुरातात्त्विक वस्तु नासिने खतरा रहेको पुरातत्त्वविद्हरू बताउँछन् । दोहनी पनि महत्त्वपूर्ण पुरातात्विक स्थल हो ।

चिनियाँ तीर्थयात्री ह्वेङसाङले तिलौराकोट वरिपरि १० वटा भग्नावशेषमा परिणत सहर देखेको कुरा गरेका छन्, त्यसमध्येको दोहनी पनि एउटा भएको अनुमान गरिएको वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारीले बताए । प्राचीनकालमा तिलौराकोटबाट लुम्बिनी जाँदा दोहनी विश्रामस्थल हुन सक्ने पनि पुरातत्त्वविद्हरू बताउँछन् ।

त्यहाँ जियोफिजिक्स सर्भे गर्दा प्राचीन मानव बस्ती रहेको पाइएको थियो । त्यहाँ स्तुपाकार अग्लो ढिस्को छ । प्राचीन इनार पनि छ । पुरातात्त्विक सम्पदालाई जोगाउन चौपायास्थल हटाउन कपिलवस्तु नगरपालिकालाई पत्राचार गरिसकेको विभागका प्रवक्ता कुँवरले बताए । नगरपालिकाले छिट्टै हटाउन प्रतिबद्धता गरेको पनि उनले बताए । कान्तिपुरबाट साभार