मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगामा छाडा गाईगोरुको आतंक उस्तै, किसानसंगै ब्यापारी पनि हैरान !

बाणगंगामा छाडा गाईगोरुको आतंक उस्तै, किसानसंगै ब्यापारी पनि हैरान !

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तुको बाणगंगा नगरपालिकामा छाडा गाइगोरु आतंकले छोडेको छैन । लामोसमयदेखि छाडा पशु चौपायको ब्यवस्थापन हुन नसक्दा नगरपालिकामा गाईगोरुको आतंक नरोकिएको हो ।

छाडा गाइगोरुले राती किसानले बारीमा लगाएको बाली खाएर हैरान पारेका छन् भने दिउसो सडक जाम नै गरेर मन्द्रिँदा दुर्घटना बढिरहेको छ । महेन्द्र राजमार्ग भएर चल्ने धेरै सवारी नगरको बनगाईदेखि पिपरासम्म सुस्त हिँड्नु पर्ने स्थितिमा छन् भने धेरै अटो, मोटरसाइकल, जीप, भ्यान दुर्घटनामा परिरहेका छन् ।

विहान र दिउँसोको समयमा गाइगोरु सडकभरी लामबद्ध देखिन्छन् भने राति किसानको बारीमा रजाँई गरेका हुन्छन् । ११ वडा वडामध्ये अधिकांस वडाका धेरै किसानको ड्युटी रातभर गाईगोरु खेद्नमै वित्छ भने दिउसो र विहानमा ब्यापारी हैरान हुन्छन् ।
आइतबार विहान पिपराका ब्यवसायी कृष्ण प्रसाद गैरेले गाई आतंकले हैरान भएको भनेर फेसबुकमा पसल अघि रहेका गाईगोरुको फोटो राखेका छन् । गैरले पिपरा क्षेत्रका धेरै ब्यवसायी गाईगोरुबाट हैरान रहेको बताए ।

पिपरामा मात्र होइन वडा नम्बर ७ को बनगाईसम्मका ब्यापारी नै छाडा गाईगोरुका कारण हैरान छन् । कतिपय पसलमा त गाईगोरुले सटर उधिन्ने, सिसा फोड्ने लगायत कार्य गरेको ब्यापारी बताउँछन् ।
यता किसानहरुले दुख गरेर लगाएको गहुँ, मुसुरो, मकै लगायतका बाली छाडा गाईगोरुले सखाप पारेको भन्दै किसान नगरपालिकासंग रुष्ट छन् ।

नगरपालिकाले १ करोड १० लाख बजेट विनियोजन गरेर काम गरिरहेको दावी गरे पनि किसान र सर्वसाधारणले नगरले छाडा पशु चौपायको ब्यवस्थापनको लागि काम गरेको अनुभूति गरेका छैनन् ।
वडा नम्बर २ का वडा अध्यक्ष तथा नगरप्रवक्ता विष्णु पौडेलेको संयोजकत्वमा यससम्बन्धि समिति बनाइए पनि वडा नम्बर २ मै गाईगोरुको दिनुहुँ आतंक देखिन्छ । छाडा पशु चौपाय ब्यवस्थापन समितिको जिम्मा पाएका पौडेलले काम भइरहेको बताए पनि त्यो भाषणमै सिमित रहेको सर्वसाधारण बताउँछन् ।

समितिका संयोजक पौडेल भन्छन् ‘पहिलेभन्न्दा धेरै नियन्त्रणमा आइसकेको हुनाले विस्तारै सबै ठिक पारिँदै छ । वडावडामा गौशाला बनिरहेका छन् । यो राष्ट्रिय समस्या हो । एउटा नगरपालिकाले सबै गर्न कहाँ सक्छ र ? यहाँ जिल्लाभरका गाईगोरु आउँछन् । अहिले करिब ९ सय गाईगोरुलाई नियन्त्रण गरेका छौँ ।’नगरले विनियोजन गरेको १ करोड १० लाखको काम भइरहेको उनले बताए ।

गैरेको फेसबुक स्टाटसमा पनि पौडेलले प्रतिक्रिया जनाएका छन् । उनले लेखेका छन् ‘गाईकोआतंक हैन, यो मानिसको आतँक हो किनभने रातको समयमा तार खोलिदिने काम हामीमध्ये बाट नै भएको छ। तारबारभित्र गाई ब्यबस्थापन गर्दा कसको के हानि नोक्सानी भएको छ र ? एक दुई पटकको लागि सचेत गराइएको छ। पुन सोही कार्य दोहोराएमा तार काट्नु हुन तगालो खोलिदिने महान दाजुभाइ दिदीबहिनी सबै गाई पाल्नको लागि तयार हुनुहोला सबै गाइहरु तपाईको जिम्मा लगाउन हामी बाध्य हुने छौ।

नगरले हरेक बर्ष छाडा पशु चौपाय ब्यवस्थापनको बजेट छ्ट्याए पनि सार्थक ढंगबाट काम नहुँदा किसान आक्रोशित छन् । छाडागाईगोरुले बालीनाली सखाप पारेमा अब नगरपालिकाले क्षतिपूर्ति दिनुपर्ने किसानको माग छ ।