मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छलफल नै नगरी सरकारमा सहभागिताले रास्वपामा विवाद, मन्त्री चयनमा पनि प्रश्न

छलफल नै नगरी सरकारमा सहभागिताले रास्वपामा विवाद, मन्त्री चयनमा पनि प्रश्न

अपि टाइम्स

काठमाडौं । सरकारमा जानुअघि पार्टीभित्र पर्याप्त छलफल नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका केही केन्द्रीय सदस्यहरूले प्रश्न उठाएका छन्।

चमतिमा सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा निर्णय प्रक्रियाका सन्दर्भमा केही केन्द्रीय सदस्यहरूले असन्तुष्टि जनाएका हुन्।

केन्द्रीय समितिमा महामन्त्री डा. मुकुल ढकालले एजेन्डा प्रस्तुत गर्दै पछिल्लो राजनीतिक घटनाक्रमबारे बोलेका थिए।

त्यसमाथि धारणा राख्दै केही केन्द्रीय सदस्यहरूले सरकारमा जानुअघि पार्टीमा छलफल नभएको भन्दै प्रश्न उठाएका थिए।

‘पार्टीमा छलफल नगरी सरकारमा सहभागी भएको भन्दै केही सदस्यहरूले असन्तुष्टि राख्नुभयो। तर अधिकांश सदस्यहरूको समर्थन नै थियो। केही सदस्यहरूले अहिलेको अवस्थामा पार्टी सरकारमा जानु औचित्यपूर्ण नहुने बताउनु भएको थियो,’ एक सदस्यले भने।

त्यस्तै मन्त्री चयन पनि समावेशी नभएको गुनासो बैठकमा ती केन्द्रीय सदस्यहरूले राखेका थिए। संघीय सरकारमा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल ९डिपी० श्रममन्त्री, उपनेता विराजभक्त श्रेष्ठ खेलकुद मन्त्री र सांसद सुमना श्रेष्ठ शिक्षा मन्त्री भएका थिए।

केन्द्रीय सदस्य मनिष झाले अलिअलि असन्तुष्टिको स्वर केन्द्रीय समिति बैठकमा सुनिएको बताए।

‘शतप्रतिशत समर्थन, शत प्रतिशत सन्तुष्टि केही कुरामा पनि हुँदैन। अलिअलि असन्तुष्टि, विरोध स्वाभाविक हो,’ उनले सेतोपाटीसँग भने, ‘उहाँहरूले डेलिभरीको कुरा उठाउनु भएको हो। सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन नसक्ने हो भने अहिले दुई चार जना मन्त्री बनेकामा खुसी हुन सकिएला। तर भोलिका दिनमा कोही पनि मन्त्री बन्न नसक्ने अवस्था आउन सक्छ भन्नेमा उहाँहरूको चिन्ता देखिएको थियो।’

बैठकमा आफूलाई ‘ग्लोरिफाइ’ गर्ने भन्दा पनि निर्मम समीक्षा गरेर कामलाई प्रभावकारी बनाउनुपर्ने कुरा उठेको उनले जानकारी दिए। ‘चुनौतीप्रति सजग रहँदै कार्यसम्पादनमा जोड दिनुपर्ने अधिकांश सदस्यहरूको राय थियो,’ उनले भने।

पार्टी कार्यालयमा मन्त्रीहरूको सम्पर्क डेस्क राख्नुपर्ने र मन्त्रालयमा पार्टी नेता कार्यकर्ताको भीड लाग्न दिन नहुने कुरा बैठकमा उठेको झाले बताए।

‘मन्त्रीहरूको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन कार्यालयमा पार्टीले नेतृत्व गरेको मन्त्रालयपिच्छे डेस्क राखिनुपर्ने, त्यहाँ सुझाव, सल्लाह लिने परिपाटीको थालनी हुनुपर्ने लगायतका कुरा पनि बैठकमा उठेका छन्,’ उनले भने।

यसैबीच रास्वपाले बझाङ–१ मा हुन लागेको प्रदेश सभा निर्वाचनमा भाग नलिने निर्णय गरेको छ। रास्वपाले २०७९ मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा पनि भाग लिएको थिएन।

उम्मेदवार छान्न बन्यो कार्यदल

इलामको निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १५ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार चयन गर्न कार्यदल बनाउने निर्णय पनि केन्द्रीय समितिले गरेको छ।

कार्यदलमा ६ जना सांसद रहनेछन्। फागुन १९ गते इलामका ६ वटा पालिका पुगेर फर्किएका सांसद नै कार्यदलमा रहनेछन्।

सोबिता गौतम इलाम नगरपालिका पुगेर आएकी थिइन्। गणेश पराजुली देउमाई नगरपालिका गएका थिए भने मनिष झा माई नगरपालिकामा अन्तरक्रिया गरेर फर्किएका थिए।

अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल माङसेबुङ गाउँपालिका र असिम शाह फाकफोकथुम गाउँपालिका गएका थिए।

प्रतिनिधि सभाको निर्वाचनका लागि भने रास्वपाले पार्टी कमिटी परिचालन गरिसकेको छ।

यसअघि बसेको सचिवालय बैठकले इलाम क्षेत्र नम्बर २ को चुनावी कमान्डरका रूपमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई पठाउने निर्णय गरिसकेको छ।

नेकपा ९एमाले० का सांसद सुवास नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएपछि इलाम क्षेत्र नम्बर २ रिक्त भएको हो। चैत २४ गते उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन आयोगले चुनावी तालिका पनि सार्वजनिक गरिसकेको छ। सेतोपाटीबाट