मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जब एक्स्ट्राटेकको उद्घाटनमा कुँवरको बलिङमा प्रदेश प्रमुखले ब्याट चलाए

जब एक्स्ट्राटेकको उद्घाटनमा कुँवरको बलिङमा प्रदेश प्रमुखले ब्याट चलाए

अपि टाइम्स

बुटवल । रूपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला उद्घाटन गरिएको छ।
सोमबार तिलोत्तमा १७ दरखसवामा निर्माण गरिएको क्रिकेट रंगशालाको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले ब्याटिङ र एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक बिनोद कुँवरले बलिङ गर्दै उद्घाटन गरेका हुन्।

रंगशालाको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले सरकारले गर्न नसकेको काम निजी लगानीमा गरेको भन्दै रंगशाला लुम्बिनी प्रदेशको मात्रै नभई नेपालकै गहनाको रूपमा स्थापित हुने बताए।

एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले क्रिकेट रंगशालासम्म पुग्ने सडक, विद्युत लगायतका आवश्यक पूर्वाधारका लागि आफ्नो तर्फबाट सहयोग रहने बताए।

उद्घाटनको अवसरमा प्रतिनिधिसभा सदस्यहरू छविलाल विश्वकर्मा, चन्द्र भण्डारी, गोकर्ण विष्ट, बासुदेव घिमिरे, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह लगायतले शुभकामना दिएका थिए।

अष्ट्रेलियामा सूचना प्रविधि सम्बन्धी व्यवसाय गर्दै आएका गुल्मीका बिनोद कुँवर र उनकी श्रीमती सुदिक्षा गौतमले निजी लगानीमा तिलोत्तमा १७ दरखसवामा क्रिकेट रंगशाला निर्माण गरेका हुन्।

गत जेठ ३० गते शिलान्यास गरिएको रंगशाला ९ महिनामै खेल खेल्न मिल्नेगरी तयार भएपनि अन्य संरचना निर्माण गर्न भने बाँकी छ।

पहिलो चरणमा पाँच बिगाह जग्गामा निर्माण गरिएको रंगशालामा अहिलेसम्म साढे ६ करोड बढी खर्च भइसकेको एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक कुँवरले जानकारी दिए।

मैदानमा प्यारापिट र अन्य संरचना पूरा हुँदा ४० करोड खर्च हुनेछ। प्यारपिट मात्र करिब १८ करोड खर्च लाग्ने अनुमान छ।

युएईमा लामो समय बसेर अबुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठक एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भूमिकामा छन्। करिब २५ हजार दर्शक क्षमताको रंगशालासहित एकेडमी भवन बनाउने र राम्रा खेलाडी उत्पादन गर्ने कुँवरको लक्ष्य छ।

रूपन्देही क्रिकेट उत्पादनको हिसाबले उर्वर भूमि मानिन्छ। राष्ट्रिय खेलाडी राजु खड्का, शक्ति गौचन, बसन्त रेग्मी, सुशन भारी, कुशल मल्ल, अमृत भट्टराई, देव खनाल, ईन्दु वर्मा लगायत खेलाडी रूपन्देही जिल्लाकै उत्पादन हुन्।

यसैबीच रंगशाला उद्घाटनको अवसरमा आज ४ टोलीबीच तिलोत्तमा लेजेण्ड्स कप क्रिकेट भइरहेको छ।

नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी २० विश्वकप खेलेको टोली, रूपन्देही लेजेण्ड्स र रेस्ट अफ नेपाल गरेर ४ टोलीले लेजेण्ड्स कपमा सहभागिता जनाउँदै छन्।