मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतसंग सनसनी मच्याएको नेपालको पिएनजीसँग लज्जास्पद हार

भारतसंग सनसनी मच्याएको नेपालको पिएनजीसँग लज्जास्पद हार

अपि टाइम्स

काठमाडौँ । एसिया कपमा भारतसंग सनसनीपूर्ण प्रदर्शन गरेको नेपालले पपुवा न्युगिनी (पिएनजी) सँग भने हार भोगेको छ ।

हङकङ मेन्स टी २० सिरिजको उपाधि भिडन्तमा बुधबार नेपाल पिएनजीसँग ८६ रनको फराकिलो अन्तरले हार भोगेको हो ।

पिएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६।३ ओभरमा ८५ रनमै अलआउट भयो।

नेपालले ६ ओभरको पावर प्लेमा ३ विकेट गुमाउँदा ३४ रन मात्र जोड्न सक्यो। ओपनिङमा आएका विनोद भण्डारी तेस्रो बलमा ४ रनमा आउट भए भने तेस्रो ओभरमा कुशल भुर्तेल ५ रनमा पेभिलियन फर्के। दुवैलाई पिएनजीका मोरियाले बोल्ड गरेका थिए।

यस्तै गुल्सन झा छैटौं ओभरको पहिलो बलमा ६ रनमा रनआउटको सिकार भए। यस्तै कप्तान रोहित पौडैल आठौं ओभरमा क्याच आउट हुँदा नेपालले चौथो विकेट गुमायो। उनले १२ रन मात्र जोड्न सके।

त्यसपछि पनि नेपालको विकेट जाने क्रम रोकिएन।

नेपालका लागि सबैभन्दा बढी रन जोडेका सन्दीप जोरा १७ रन जोडेर आउट भए। विवेक यादवले १ रन मात्र जोड्न सके। यस्तै केही समय टिकेका आरिफ शेख २० बलमा १५ रन जोड्दा सेसे बाउबाट बोल्ड भए।

लोकेश बम पनि ६ रनमा कामियाको एलबिडब्लूको धरापमा परे। प्रतिश जिसी शून्य र करण केसी ३ रनमा आउट भए।

बलिङमा पिएनजीका मोरिया, कामिया, चाड सोपर र सेसे बाउले २/२ विकेट लिए।

त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पिएनजीले ८ विकेटको क्षतिमा १७१ रन जोड्यो।

उसका लागि ओपनर टोनी उराले ६१ रन जोडे। एलेइ नाओले १० बलमा नटआउट ३० रन बनाए।

बलिङमा नेपालका आकाश चन्द र कुशल भुर्तेलले ३ ३ विकेट लिन सफल भए। यो हारपछि धेरैले नेपालको खेल खस्कन थालेको भन्दै आलोचना गर्न थालेका छन् ।