मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जीप दुर्घटनामा ८ जनाको ज्यान गयो, सबैको शनाखत

जीप दुर्घटनामा ८ जनाको ज्यान गयो, सबैको शनाखत

अपि टाइम्स

तस्बिरः रासस
काठमाण्डौ – धरानबाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको जीप उदयपुरको मैनामैनीमा दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या आठ जना पुगेको छ । सात जनाको घटनास्थलमै र थप एक जनाको उपचारका क्रममा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका सबै जनाको परिचय खुलेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ज्यान गुमाउनेमा सुनसरीको इटहरी–९ का जीप चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी–२ की ७० वर्षीया पर्वतमाया राई, त्यही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई, छ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी–५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी–५ का ४२ वर्षीय किशन राई रहेका छन् । किशन राईको उपचारका क्रममा ज्यान गएको हो ।

दुर्घटनामा घाइते भएका नौ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय घोरेटारबाट सात र हसनपुरबाट पाँच गरी १२ जना प्रहरीको टोलीलाई तत्काल घटनास्थलमा पठाएर उद्धारको व्यवस्था मिलाएको उदयपुर प्रहरीले जनाएको छ ।

आज दिउँसो धरानबाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको जीप उदयपुरको बेलका–७ मैनामैनीमा दुर्घटना भएको थियो । जीपमा क्षमताभन्दा बढी यात्रु रहेकाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।