मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भुमिसुधारमन्त्री कपिलवस्तु आएर नेता कार्यकर्ता भेट्दा भूमिहिनलाई किन भेटेनन् ?

भुमिसुधारमन्त्री कपिलवस्तु आएर नेता कार्यकर्ता भेट्दा भूमिहिनलाई किन भेटेनन् ?

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

कपिलवस्तु । साँध सिमानाको विषय आएपछि बाणगंगा नगरपालिका वडा नम्बर २ राजपुरस्थित सुकुम्बासी बस्तीमा सोमबार विहान पुग्नुपर्ने काम भयो र पुगियो । त्यहाँको परिश्रम टोलमा रहेकी हरिकला शर्माको सिमाना मिचिएको भन्ने खबर आएपछि त्यहाँ गन्यमान्यसहित मेलमिलाप गराउन केहि भद्रभलाद्मी भेला भयौँ ।

साँध मिचिएको भन्दा पनि सानोसानो कुरामा चित्त सानो बनाएर आपसमा झगडाको विउ रोप्न खोजिएको पाएपछि सिमानामा किल्ला गाडेर उप्रान्त झै झगडा नगर्ने शर्तमा मिलाएर फर्कियौँ । त्यहि क्रममा ती भूमिहिन र सुकुम्बासीले आफ्ना समस्या सुनाएका छन् भने भूमिसुधामन्त्रीको पनि आलोचना गरेका छन् ।

आफूहरुले बषैाँदेखि जोतभोग गरेर उपभोग गरिरहेको जग्गामा धेरै विवाद आईरहने बताएका उनीहरुले लालपुर्जा पाएको खण्डमा यस्तो समस्या झेल्नु पर्ने समस्याबाट बञ्चित हुन्थ्यौँ कि भनेर कुरा राखेका हुन् ।
आफूहरुलाई नेताले सधैँ भोट खसाल्ने पात्रको रुपमा उभ्याएको भन्दै हरेक नेताले बाचामात्रै छोडेका, चुनाव जितेपछि कहिल्यै भेट गर्न नआएका भन्दैे उनीहरुले दुखेसो पोखे ।

लामो समय सुकुम्बासी बसोबासी रहेकी राधिका विकले नेताले आफूहरुलाई सधैँ झुक्याउने गरेको बताइन् । उनले भनिन् ‘भोट दिनुस् यहाँ बोरिङ गाडिदिन्छु । लालपुर्जा थमाइदिन्छु । बाटो बनाइदिन्छु भनेर धेरैले चुनाव जिते तर चुनाव जितेपछि फर्केर आएनन् । कहिले माओवादीले जित्यो। कहिले एमालेले जित्यो तर हामी सधैँ पीडामा भयौँ । हाम्रो अवस्थामा परिवर्तन आएन ।’
यहि सन्दर्भमा अहिले चुनाव जितेका सांसद बलराम अधिकारी भूमिसुधार मन्त्री अर्थात् तपाईहरुलाई लालपुर्जा दिने मन्त्री बन्नुभएको छ । उहाँ जिल्ला आउनुभयो तर तपाईहरुलाई भेट्नुभयो कि भएन, उहाँलाई तपाइहरुले के भन्नुहुन्छ ? भनी अपिटाइम्सले प्रश्न राख्यो ।

जवाफमा परिश्रम टोलकै राधिका विक, हरिकला शर्मा लगायतले आक्रोश पोखे । उनीहरुले भने ‘मन्त्री त के हामीलाई कसैले भेट्दैनन् । बलराम अधिकारी जि मन्त्री भएर जिल्ला आएको समाचारमा सुन्यौँ । आएर आफ्ना नेता कार्यकर्तालाई भेटेर जानुभयो रे । चुनाव जिताएका हामी होइनौँ, तिनै नेता कार्यकर्ता होलान् । हामीलाई के भेट्छन् ? हामीजस्ता सुकुम्बासीका घर र बारीमा मन्त्रीको खुट्टाले टेक्न हुन्छ र ?, हाम्रो समस्या हेर्ने कोही छैनन् । हामी सधैँ पीडामा छौँ ।’
उनीहरुले थपे ‘जिल्लाकै हाम्रै नेता लालपुर्जा दिने मन्त्री बन्नु भएछ । उहाँलाई बधाई । अब हाम्रै जिल्लाबाट मन्त्रीभएपछि त लालपुर्जा पाउँछौँ कि भन्ने आशा त छ विश्वास छैन । खै कति सरकारले लालपुर्जा दिन्छौँ भने तर दिएका छैनन् । मन्त्री ज्यूलाई लालपुर्जा दिने ब्यवस्था मिलाइदिन अनुरोध छ । ‘

आफूहरुलाई भेट्ने समय नभए पनि लालपुर्जा दिने कानुन बनाएमा मन्त्रीप्रति आभारी हुने उनीहरले बताए । यस्तै अन्य सुकुम्बासी बसोबासीहरुले पनि भूमि सुधार मन्त्री आफ्ना कुरा सुन्न आउँछन् कि भनेर आशा गरी बसेका थिए तर मन्त्री अधिकारी ३ दिनसम्म नेताकार्यकर्ता मात्रै भेटेर फर्केपछि उनीहरु दुखी भएका छन् ।

भूमि सुधार, ब्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी कपिलवस्तु आएर नेता, कार्यकर्ता, ब्यापारी ब्यवसायीलाई भेट गरेर गएका थिए । नेताकार्यकर्ताबाट फुल, माला, अविरले धुमधाम स्वागत पाएका मन्त्री अधिकारी भूमिहिनकै दैलोमा टेक्न नसक्नु, त्यसको लागि समय छुट्याउन नसक्नुलाई कतिपयले कमजोरीकै रुपमा लिएका छन् ।

मन्त्री अधिकारी श्रोतका अनुसार मन्त्री सुकुम्बासी समस्यामा चिन्तित छन् । दुईदिने भ्रमणको भाषणका क्रममा उहाँले यो विषय सम्बोधन गरेको श्रोत बताउँछ । अहिले सुकम्बासीलाई भेटन नपाए पनि पछि भेट्ने र दुखेसो सुन्ने कार्यक्रम रहेको उक्त श्रोत बताउँछ ।
भूमिहिनको घरमा जान नपाए पनि पालिकाका प्रमुख, नेता कार्यकर्ताबाट गुनासा लिएर ३ दिनपछि काठमाडौँ फिर्ता भएको मन्त्री अधिकारी श्रोत बताउँछ ।