कपिलवस्तु । वैदेशिक रोजगारीको लागि दक्षिण कोरिया गएका बाणगंगा नगरपालिकाका एक युवकको दुर्घटनामा परेर निधन भएको छ । त्यहाँको एक शहरमा काम गरिरहेका वडा नम्बर ७ बनगाईका डुकराज पन्थीको काम सकेर डेरामा फर्कने क्रममा दुर्घटनमा परी फागुनको २६ गते निधन भएको थियो । निधन भएको १२ दिनपछि चैत्र ७ गते बुधबार पन्थीको शव घरमा आएको थियो । शव आउँदैको दिन उनको लक्ष्मणघाटमा अन्त्येष्टि भयो । कान्छा बुबा मित्रलाल पन्थीले डुकराजको पार्थिक शरीरमा दागबत्ती दिएपछि उनको अन्त्येष्टि सम्पन्न भएको थियो ।
हात कपाउँदै कान्छो अंकलले जब पन्थीलाई दागवत्ती दिँदै थिए, यो दृश्यले सबैलाई भावुक बनायो । सबैको आखामा आँसु टिल्पिलायो । परिवारजन भक्कानो छोडेर रोएको देखिन्थ्यो । अन्त्येष्टिमा पनि बाक्लो सहभागिता थियो ।
अन्त्यष्टिबूर्व जब घरमा शव आउँदै थियो त्यो दृश्य अझै भयानक थियो । शव आउने सुचना थाहा पाएका छिमेकी र आफन्त अन्तिम श्रद्धाञ्जलीको लागि पन्थीको घरमा जम्मा भएका थिए । शवलाई घरको आगनमा झार्ने क्रममा दिउसो १ । २ बजेतिर त्यहाँ शोकको सन्नाटा नै छायो । ६८ बर्षका बुबा दुर्गा प्रसाद पन्थी,आमा छम कुमारी पन्थी, श्रीमती र भाइ केशव पन्थीलाई घरमा सम्हाल्न हम्यहम्य भएको थियो । वरिपरिबाट जम्मा भएका सबैको आखामा आँसु देखिन्थ्यो । यहाँ रहँदा नेपाल विद्यार्थी संघको राजनीति गरेका डुकराज सामाजिक कार्यमा पनि संलग्न थिए भने सबैका प्यारा थिए ।
इपिएस भाषा परीक्षा पास गरेर ६ बर्ष अघि कोरिया गएका डुकराज ५ बर्षको पहिलो भिसा अवधि सकेर गत बर्ष नेपाल आएका थिए । नेपाल आएर गत बर्ष नै विहे गरी फर्केका थिए । पन्थीका मित्र शंकर न्यौपाने भन्छन् ‘अत्यन्तै मिलनसार मित्रको अकालको मृत्युले निकै दुखी तुल्याएको छ । बुबाआमा र उहाँकी श्रीमती निकै पीडामा हुनुहुन्छ । उहाँको मृत्युले धेरैलाई रुवाबासीमा पारेको छ । पन्थीको अकल्पनीय निधनले अहिले गाउँ नै शोकमा डुवेको छ ।’
प्रतिक्रिया