मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऐतिहासिक तर विभेद पोखिएको बाणगंगाको त्यो कार्यक्रम

ऐतिहासिक तर विभेद पोखिएको बाणगंगाको त्यो कार्यक्रम

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
कपिलवस्तु । बडो तामझामका साथ विहिबार बाणगंगा नगरपालिकाले मायादेवी रिसोर्टमा एउटा ऐतिहासिक कार्यक्रममा गर्यो । ‘पूर्ण संस्थागत प्रसुति सेवायुक्त नगरपालिका घोषणा’ हुनु आफैमा राम्रो काम हो । लुम्बिनी प्रदेशमा तेश्रो तथा जिल्लामा पहिलो पूर्ण संस्थागत प्रसुति सेवायुक्त नगरपालिका घोषणा भइरहँदा यहाँका आमा र शिशिुको ज्यान अब जोखिममा छैन भन्ने सन्देश कार्यक्रमले दिएको थियो ।

लुम्बिनी प्रदेशका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थी, स्वास्थ्य क्षेत्रका केन्द्र र प्रदेशका विज्ञ सम्मिलित कार्यक्रममा बोल्ने अधिकांस वक्ताले नगरपालिकाको मुक्तकण्ठले प्रसंसा गरे । कार्यक्रम प्रसंसा गर्ने खालको नै थियो । यसको लागि नगरलाई धन्यबाद नै दिनुपर्दछ । यसमा नगरप्रमुख, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य स्वयम् सेविका, कर्मचारी लगायत सबैको अहम् भूमिका छ । अझै पनि मुलुकभर मातृ तथा शिशु मृत्युदरको डरलाग्दो आंकडा रहँदा यो कार्यक्रमपछि नगरले जिरो होम डेलिभरीमा सफलता हासिल गरेको छ ।

तर यति राम्रो कार्यक्रम गरेको बाणगंगाले केहि कुरामा ध्यान नदिँदा र ढंग नपुर्याउँदा सबैबाट प्रसंसा पाउनबाट चुक्यो । अभियान सफल बनाउन भूमिका खेलेका जसका लागि कार्यक्रम गरिएको थियो उनैहरु दुखि भएर घर फर्केका छन् भने मंचमा पनि दलगत र संस्थागत विभेद गरेको देखिएको थियो । ससाना कुरामा नगरले संकिर्ण मानसिकता प्रदर्शन गर्दा सहभागिले पनि आलोचना गरेका छन् ।
आखिर के भएको थियो ?

१ः सम्मान गर्ने नाममा एम्बुलेन्स चालकको अपमान
पूर्ण संस्थागत प्रसुति सेवायुक्त नगरपालिका घोषणा कार्यक्रममा नगरभित्रका एम्बुलेन्स चालकलाई सम्मान गरियो । आधादर्जन एम्बुलेन्स चालक सम्मानित भएका थिए । नगरले सम्मान गर्ने भनेर बोलाइएपछि एम्बुलेन्स चालकहरु पनि चिटिक्क परेर गएका थिए । सम्मान पनि लिए । उनीहरुलाई फ्रेम नभएको सम्मान पत्रले सम्मान गरियो ।
फ्रेम नभएकै कारण उनीहर दुखि थिएनन् । बाहिर आएर पनि सेल्फी जोनमा फोटो खिचिरहेका थिए । तर एकैछिनपछि अर्को सम्मानको पालो आयो । एउटा सहयोगी संस्थालाई नगरले सानो फ्रेम लगाएको प्रमाण पत्रले सम्मान गर्यो । त्यसपछि अर्को सम्मानको पालो आयो । त्यो भनेको वडा अध्यक्षलाई थियो । वडा अध्यक्षलाई सम्मान गर्दा झकिझकाउ पारिएको ठुलो फ्रेम थियो । एकछिन अघिसम्म खुसीले फुरुङ्ग भएका एम्बुलेन्स चालकहरु प्रमाण पत्र वितरणमा जब नगरले विभेद गरेको थाहा पाए त्यसपछि भने रिसले चुर भए,आक्रोशित भए, अपमानित महसुस गरे ।
कसले के भने ?
बनगाईका एक एम्बुलेन्स चालक नगरको यो संकिर्ण मानसिकता देखेर आश्चर्यमा परे । उनले अपिटाइम्ससंग भने ‘यो नगरले गरेको सम्मान होइन अपमान हो । यस्तो सम्मान गर्नभन्दा नगरेकै बेस हुने थियो । प्रमाण पत्रमा पनि विभेद नगरपालिकाको निर्किष्ट सोच मज्जाले पोखियो । उनले थपे ‘हामी नाम नै ल्याउँदा त्यसै खुसी थियौँ । हामीलाई प्रमाण पत्र पनि चाहिएको थिएन तर यस्तो खालको विभेद देखेपछि दुख लाग्यो ।’

‘हामीले कोभिडमा कति काम गर्यौँ । कतिजनाको ज्यान जोगायौँ । कहिल्यै सम्मान भएन । पूर्ण संस्थागत प्रसुति सेवायुक्त नगरपालिका बनाउन रातदिन भनेनौँ । जसले जतिबेला भन्छन् त्यतिबेला घरघरमा पुग्यौैँ । तर हामीलाई नै सम्मानमा विभेद गरियो । विगत स्मरण गर्दै उनले भने ‘हामी समयमा नदौडिएको भए र आमा र शिशुको मृत्यु भएको भए नगरले यो खुसीयाली मनाउन पाउँथ्यो त ? सबैलाई समान सम्मान नहुँदा हाम्रो चित्त दुखेको हो ।’

सी एण्ड सी अस्पताल तथा पिपरा अस्पतालका एम्बुलेन्स चालकद्धय मधु बेलबासे कृष्ण पोख्रेललले पनि नगरको यो खालको विभेदले चित्त दुखाएका छन् । उनीहरुले भने ‘सबैलाई एकै किसिमले सम्मान गरेको भए हाम्रो चित्त दुखाई हुने थिएन तर हामीलाई त प्रमाणपत्र दिन नै विेभद गरियो । विभेद नभएको भए त्यसै खुसी थियौँ ।

उनीहरुले सुत्केरी बोक्दाका क्षण सम्झँदै अपिटाइम्ससंग भने ‘कतिपटक श्रीमतीले थालीमा पस्केको भात छोडेर हिँडेका छौँ ।’

यसलाई सहभागि अरुले पनि नगरको कमजोरी मानेका छन् । यहि बिषयमा नगर स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलसंग अपिटाइम्सले कुरा गर्दा गल्ती भएको स्वीकार गरे । अब फ्रेममा हालेर एम्बुलेन्स चालकलाई प्रमाण पत्र दिइने बताए ।
सो प्रमाण पत्र वितरण गर्दैगर्दा जिल्ला समन्वय समितिका सभापति बाबुराम आचार्यको ध्यान सम्मानित हुने ब्यक्तिमा थिएन । उनी फोनमा मस्त थिए । कार्यक्रम हेरिरहेका एक जना पाहुनाले पनि यो अशोभनीय भएको बताए ।

२ः भाषणमा विभेद
कार्यक्रमको मन्तव्यमा पनि विभेद थियो । उसो त नगरपालिकाले यहाँका सबै दल र संस्थालाई हरेकपटक असमान ब्यावहार गर्ने गरेको छ । सो कार्यक्रममा पनि नगरले दलगत विभेद गर्यो । नेपाली काँग्रेश र एमालेका नेतालाई मञ्चमा बोलाएर मन्तव्य नै राख्न दियो । तर कार्यक्रममा सहभागि भएका माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेतालाई मन्तव्य राख्न दिइएन । माओवादीको प्रतिनिधित्व गर्दै नगर सचिव टेकेन्द्र कुमार क्षेत्री बोल्ने अवसर नपाएपछि कार्यक्रमको बीचमै स्टाटस लेख्दै बाहिरिए ।
उनले फेसबुकमा लेखेका छन् ‘होइन यो नगरमा नेकपा माओवादी केन्द्रले के त्यस्तो अपराध गरेको छ र ? धेरै वार्डहरु जित्न नसकेपनी एउटा वार्ड त जितेकै छ। जितहार आफ्नो ठाउँमा छ । नगरको मेयरपदमा पनि आफ्नो उमेदवारी दिएकै थियो तर नगरमा हुने येस्ता कार्यक्रम्मा बोलाएर यति धेरै अपमान किन ? सामान्य मंच दिँदा नगरको के सकिने हो ? सम्माननीय मेयर साबलाइ भेटेरै सोध्न मन छ ।’

रास्वपाका नगर सभापति बुद्धिसागर बेलबासेले मंच पाएपछि केहि त राख्नैपर्दछ भनेर मनमनै भाषण पनि तयार पार्दै थिए तर उनलाई पनि मंच दिइएन । ‘यस्तो विभेद गरेको देखेपछि बेलबासेले भने ‘कि सबै दललाई भाषण गर्न नदिनु, हामी मुलकको चौथो र अहिलेको पहिलो शक्ति हौँ । नगरले आज मात्र होइन सधैँ विभेद गर्ने गरेको छ । यसलाई हामी नोटिस्ट गरी राखेका छौँ । बोल्न, मंच दिएन भन्नेमा हाम्रो गुनासो होइन विभेदमाथि गुनासो हो’, बेलबासेले भनेका छन् ।

यस्तै उद्योग ब्यापार संघ कपिलवस्तुले पनि आफूहरुलाई विभेद गरिएको बताएको छ । अध्यक्ष खिमानन्द पौडेल कोपिलले कपिलवस्तु उद्योग बाणिज्य संघलाई बोल्न दिएपछि उस्तै प्रकृतिको आफ्नो संस्थाको अपमान गरेको बताए ।

सबैलाई पत्र पठाएपछि यसैलाई सममानको रुपमा बुझ्न नगरपालिकाले आग्रह गरेको छ । समाचार श्रोत अनुसार नाम बोलाएर पनि मंचमा नचढेपछि माओवादी र रास्वपाको बोल्ने क्रम छुटेको हो ।

स्वास्थ्य शाखा प्रमुख पौडेलले नाम लिइएको तर समय थोरै भएकाले सबैलाई बोल्न समय दिन नसकिएको बताए । कार्यक्रम ऐतिहासिक भएकाले नगरले अपमान नगरेको रुपमा बुझ्न उनले सबैलाई अनुरोध गरे ।