मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगाको १२ लाखको मेयर कपमाथि प्रश्न उठाउने आइतबारको ‘त्यो घटना’

वाणगंगाको १२ लाखको मेयर कपमाथि प्रश्न उठाउने आइतबारको ‘त्यो घटना’

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
कपिलवस्तु । बाणगंगा नगरपालिकाले आयोजना गरेको पाँचौँ मेयर कपमा फितलो ब्यवस्थापन देखिएको छ । कहाँसम्म भने खेलाडी गम्भीर घाइते हुँदासमेत उनलाई अस्पताल लैजाने एम्बुलेन्स नभएको कहालिलाग्दो स्थिति देखियो ।

के भएको थियो ?
आइतबार सेमिफाइनलको लागि वडा नम्बर २ र १० बीच खेल भएको थियो । त्यस खेलमा वडा नम्बर २ का गोविन्द पालुङे घाइते भए । हेडिङको क्रममा विपक्षी खेलाडीसंग ठोक्किँदा उनलाई निधारको हड्डीमा गम्भिर चोट लाग्यो । त्यसपछि धेरै रक्तश्राव भयो । गाविन्द निकै आत्तिएका थिए भने उनको टिम र दर्शक नै भावुक देखिन्थे ।

उनलाई तत्काल एम्बुलेन्समार्फत् अस्पताल लैजानु पर्ने अवस्था थियो । तर घटनास्थलमा एम्बुलेन्स थिएन । एउटा नीजि कारमार्फत् गोविन्दलाई अस्पताल लगिएको थियो । प्राथमिक उपचारपछि गोविन्दको बुटवलको एक अस्पतलमा अहिले उपचार भइरहेको छ । उनी अहिले खतरामुक्त रहेको समाचार श्रोत छ ।
यो घटनापछि मेयर कपको ब्यवस्थापनमाथि प्रश्न चिन्ह खडा भएको छ । खेल हेर्न रंगशाला पुगेका दर्शकले गोविन्दलाई बोक्न एम्बुलेन्स नहुनु दुखद भएको बताउँछन् ।

किन भएन एम्बुलेन्स ?
‘मेयर कपमा एम्बुलेन्सको ब्यवस्थापन नगरिएको भन्ने होइन’, नगर खेलकुद विकास समितिका अध्यक्ष पदम सेन भन्छन् ‘संयोगले आइतबार संयोग त्यस्तै भयो । गोविन्द एक्कासी घाइते भए । त्यहि समयमा त्यहाँ एम्बुलेन्स भएन । रगत धेरै बग्न थालेपछि नीजि कारमार्फत् अस्पताल लगेका हौँ ।’ सेनले एम्बुलेन्स पछि आएको बताए ।

समितिका एक सदस्यले घाइते खेलाडीलाई एम्बुलेन्सले लैजानुपर्नेमा कारमार्फत् अस्पताल लैजाँदा स्वभाविक रुपमा यस्तो प्रश्न आउने बताए । तर एम्बुलेन्स नै ब्यवस्थापन नगरेको भन्न अर्थमा बुझ्न नहुने उनको भनाई छ । उनले थपे, ‘अघिपछि सधैँ एम्बुलेन्स थियो । आइतबार त्यो घटना हुँदा भएन । खेलाडीलाई चोटपटक जतिखेर पनि लाग्न सक्छ भनेर स्याण्डबाई एम्बुलेन्स राख्न नसक्नु हाम्रो कमजोरी हो ।’ समितिका अध्यक्ष सेनका अनुसार मेयर कपको लागि नगरले १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बजेट हुँदाहुँदै पनि यस्तो कमजोरी हुनुलाई धेरैले राम्रो रुपमा लिएका छैनन् । ‘खेल आफैमा जोखिमपूर्ण हुन्छन् । यसमा घटना दुर्घटना हुने पूर्व आंकलन हुन्छ । दुर्घटना जतिखेर पनि हुन सक्दछ’, एक जना खेलाडी भन्छन् ‘एम्बुलेन्स थियो तर यतिखेर भएन भन्ने जवाफ होइन । एक सेकेण्ड पनि खेल भएको स्थान एम्बुलेन्सविहिन हुनुहुँदैन । आज जे भयो त्यो लापरबाहिका कारण नै भयो । खेललाई जोखिम संवेदनशिलतासंग जोड्न सकिएन । यसबाट नगरले पाठ सिक्नुपर्दछ ।’

समितिका एक सदस्यले यो गत बर्ष भन्दा ३ लाख कम बजेट रहेको बताए । मेयर कपको लागि यति रकम पर्याप्त छैन, पुरस्कारदेखि सबै ब्यवस्थापन यसैबाट गर्नुपर्दछ । बाध्य भएर ब्यवस्थापनका धेरै कुरामा कञ्जुस्याई गर्नु परेको छ, उनले थपे ‘तर प्राथमिक उपचार र एम्बुलेन्सको लागि भने हामीले कुनै कञ्जुस्याई गरेका थिएनौँ । संयोग नै त्यस्तो भयो । गोविन्द भाइ घाइते भए । तत्काल एम्बुलेन्स उपलब्ध हुन सकेन । भाइको शीघ्र स्वास्थ्य लाभको कामना ।’

खेलमा खेलाडी घाइते हुन सक्छन्, गम्भिर चोटग्रस्त हुन सक्छन्, ग्याङफाइट नै हुन सक्छ । समयमा प्राथमिक उपचार हुन सकेन भने ठुलो क्षति निम्त्याएका उदाहरण पनि छन् । यहि पूर्व आंकलनलाई नगरले संवेदनशिल तवरबाट लिन नसक्दा मेयर कपको ब्यवस्थापनमा प्रश्न सिर्जना गरेको खेल हेर्न पुगेका दर्शकहरुले बताए ।