चन्द्रकान्त न्यौपाने
काठमाडौँ । भोलिदेखि कपिलवस्तुको बाणगंगास्थित बुद्ध रंगशालामा प्रथम कपिलवस्तु (तिलौराकोट) गोल्डकपको सुरु हुँदैछन् । खेलको उद्घाटन भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्नेछन् भने समापन पूर्व बालबालिकामन्त्री सुरेन्द्रराज आचार्यले गर्नेछन् ।
जिल्लामा पहिलोपटक आयोजना गरिएको फुटबलको सबैभन्दा ठुलो प्रतियोगितामा ए डिभिजनका थ्रीस्टार, मछिन्द्र्र, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लवले सहभागिता जनाएका छन् भने मोफसल बाहिरका कपिलवस्तु ११ सहितका टिमले भाग लिँदैछन् । विजेताले ११ लाख ११ हजार १ सय ११ र उपविजेता टिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छन् ।
प्रदेशको सर्वाधिक पुरस्कार राशी भएको खेलकुदको उद्घाटन र समापनमै खेलकुद मन्त्री आउने समाचार नभएपछि खेलकुद प्रतियोगितामा किन खेलकुद मन्त्रीलाई नबोलाइएको होला ? भनेर केहि सरोकारवालाबाट प्रश्न आउन थालेको छ ।
हुन पनि खेलकुदको ठुलो कार्यक्रममा खेलकुदमन्त्री नै नआउँदा यस्तो प्रश्न आउनु स्वभाविक पनि छ । अर्कोतर्फ अहिलेका खेलकुद मन्त्री चर्चामा पनि छन् । भाइरल छन् । त्यसकारण उनलाई हेर्नको लागि सर्वसाधारणले यस्तो जिज्ञासा राख्नु स्वभाविक हो । खेलकुदको कार्यक्रमममा खेलकुद मन्त्री आउँदा यहाँको खेल क्षेत्रबारे केहि बोल्न सक्थे, यहाँका दर्शकको माहौल देखेर मैदानबारे केहि बोल्न सक्थे तर सम्बन्धित मन्त्री नभएपछि यसबारे आउने जिज्ञासालाई अन्यथा लिन मिल्दैन ।
खेलकुदमन्त्री आएनन् कि बोलाइएन ?
अहिलेका युवा तथा खेलकुदमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठ छन् । उनका कतिपय निर्णयले अहिले खेल क्षेत्र नै तातेको छ । उनको आगमनलाई आशाको रुपमा पनि हेरिएको छ । विराजको यस्तो क्रेज भएको अवस्थामा पनि उनलाई बोलाउनेबारे छलफल नै भएन कि बोलाइएन भन्ने प्रश्नमा आयोजक कपिलवस्तु फुटवल संघका अध्यक्ष तिलक थापा भन्छन् ‘हामीले खेलकुद मन्त्रीलाई नै बोलाएका हौँ सुरुमा तर उहाँले बजेट लगायतका कारण समय नभएको बताएपछि हामीले अर्को विकल्प सोचेका हौँ । नबोलाइएको भन्ने होइन ।’ राजनैतिक कारण भएकाले नबोलाइएको त होइन भन्ने प्रश्नमा उनी भन्छन् ‘खेल क्षेत्रमा पनि केको राजनीति ? हामीले खेलकुद मन्त्रीलाई नै बोलाएका हौँ तर नआउने भएपछि अर्कोतर्फ लाग्यौँ ।’
‘नयाँ गठबन्धनले भर्खर मन्त्री बनेका बलराम अधिकारी यहाँका क्षेत्रनम्बर १ का प्रतिनिधि सभा सदस्य पनि हुन् त्यसैले उनी उद्घाटनमा परे । भर्खर बालबालिका मन्त्रीको पद त्याग्न बाध्य सांसद आचार्य क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य हुन् । त्यसैले उनी समापनको प्रमुख अतिथि भए ।
विराज भक्त भने भाइरल, लोकप्रिय खेलकुद मन्त्री र सांसद त हुन् तर यो भुगोलका परिचित ब्यक्ति होइनन् । त्यसैले उनलाई नबोलाइएको हुन सक्छ’ कतिपय भन्छन् ।’
जिल्लाकै मन्त्रीहरुको सम्मान गर्नु पहिलो कर्तव्य रहेकाले पनि खेलकुदमन्त्रीलाई नबोलाएर अधिकारी र आचार्यलाई नै डाकिएको हुन सक्ने श्रोत बताउँछ । जानकार भन्छन् ‘आयोजकमा पनि काँग्रेस, एमाले पार्टीको दबदबा छ, उनीहरुले रास्वपाका नेतालाई बोलाउने कल्पनै गर्न सकिन्न ।’
अर्कोतर्फ कपिलवस्तुमा रास्वपाको संगठन विस्तार पनि त्यति हुन सकेको छैन । खेलकुदमन्त्रीलाई यसरी बोलाइँदा रास्वपाको शक्ति विस्तारमा सहयोगी हुन सक्ने र आफ्ना पार्टीलाई नै असर पर्न सक्ने भयले विराजभक्तलाई ल्याउनबारे नसोचेर एमाले र काँग्रेसतर्फ नै लाग्न बाध्य भएका समाचार श्रोत छ ।
संघका अध्यक्ष तिलक थापा काँग्रेसकै भए पनि क्रियाकलाप हेर्दा उनी केहि गर्ने खालका देखिन्छन् । उनको कार्यकालमा संघमार्फत् राम्रो काम भएको छ भने फुटवल खेलाडीले पनि उनको नेतृत्वमा बिभिन्न प्रतियोगितामा राम्रो नतिजा हासिल गरिरहेका छन् ।
यस्तो अवस्थामा थापाले लोकप्रिय खेलकुद मन्त्रीबारे नसोचेका होइनन् होला तर आफै पार्टीको नेता भएका र पार्टीबाट पनि दबाब आउन सक्ने भएकाले नैतिक रुपमा खेलकुदमन्त्रीतर्फ लाग्न नसकेका हुन सक्छन्, सरोकारवाला भन्छन् । थापाले पनि आफ्नो जोड खेलकुदमन्त्रीमाथि रहेको भन्दै अन्यथा नसोच्न आग्रह गरे । यता रास्वाका कतिपय नेताहरुले राजनैतिक कारणले आफ्नो पार्टीका खेलकुदमन्त्रीलाई नबोलाइएको हुन सक्ने बताए ।
अध्यक्ष थापाले राजैतिक कारणले आफूहरले बोलाउँदै नबोलाएको भन्ने कुरा झुटो रहेको प्रष्ट्याए । कार्यक्रममा कुन मन्त्री आए आएनन्लाई ठुलो रुपमा हेर्न नहुने आयोजकमध्येका केहि ब्यक्ति बताउँछन् । तर सर्वसाधारण भने राजनैतिक आग्रह पूर्वाग्रहबाट माथि उठेर खेलकुदजस्ता क्षेत्रमा राजनीति गर्न नहुने सुझाउँछन् ।
एक जना खेलप्रेमीले भने ‘अहिलेका भाइरल मन्त्री पनि हुन् विराजभक्त । उनको समय थियो थिएन हामीलाई थाहा भएन तर उनलाई ल्याउन प्रयाससम्म पनि नभएको सुनेका छौँ । उहाँले अहिले राम्रो काम पनि गरिरहनुभएको छ । विराजलाई ल्याएको भए आयोजकलाई नै राम्रो हुने थियो । आयोजकका एक जना सदस्यले यसलाई नियतसंग नजोड्न आग्रह गरे ।
प्रतिक्रिया