गोल मिस गरेपछि मछिन्द्रका कप्तान विमल घर्तीमगर
कपिलवस्तु। ए डिभिजन क्लब मछिन्द्रलाई सडन डेथमा पराजित गर्दै हनामी बीएफसी क्लव चितवन प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बाणगंगा स्थित बुद्ध रंगशालामा आइतबार भएको खेलको निर्धारित ९० मिनेटको समयसम्म दुवैतर्फबाट गोल नहुँदा खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा चितवन ५–४ गोल अन्तरले विजयी भयो । टोलीका कप्तान तथा स्टार खेलाडी विमल घर्तीमगरको टोलीलाई पराजित गर्दा चितवनका खेलाडी निकै खुसी देखिन्थे ।
हनामीका लागि अभिषेक महतो, नेपोल्डन, सुजित बुढाथोकी, आशिष सुमन, भविन्द्र मल्लले गोल गरेभने राम शाही, अनिल खड्का र अमृत श्रेष्ठले बललाई गोलपोष्टको दिशा देखाउन सकेनन् ।
यता मछिन्द्र एफसीका लागि विशाल तामाङ, चन्द दास, छिरिङ लामा र आशिष श्रेष्ठले गोल गरे। कप्तान विमल घर्तीमगर, विजय भुजेल, पासाङ लामा र अजय चौधरीको बललाई चितवनका गोल किपर भविन मल्लले उत्कृष्ट ढंगबाट रोक्न सफल भए । गोल गर्न नसक्दा विमल घर्तीमगर निकै दुखी देखिन्थे । उनै मल्ल खेलको म्यान अफ द म्याच भएर १० हजार रुपैयाँ प्राप्त गरे।
त्यसअघि दुवै टोलीले उत्कृष्ट खेल खेलेका थिए । हावाले प्रभावित बनाएको खेलमा ९० मिनेटसम्म गोलको प्रयास भए पनि दुवै टोलीले गोल गर्न सकेनन् । ए डिभिजन क्लव मचिन्द्रलाई चितवनले दबाबमा राखेको थियो । प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा नेपाल पुलिस क्लब र सहारा फुटबल एकेडेमी, पोखरा भिड्ने आयोजक कपिलवस्तु जिल्ला फुटबल संघले बताएको छ ।
प्रतियोगिताको विजेता टोलीले ११ लाख ११ हजार १११ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ ५५ रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख तथा विधागत उत्कृष्ट खेलाडी, प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतिक्रिया