मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मृगौला र क्यान्सर पीडितमाथि बाणगंगाको झन् पीडा

मृगौला र क्यान्सर पीडितमाथि बाणगंगाको झन् पीडा

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाडौँ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ झुँगा निवासी हरि न्यौपाने दुवै मृगौला पीडित विरामी हुन् । आमा मनकला न्यौपानेले आफ्नो एउटा मृगौला दान गरे पछि न्यौपाने बाँचेका छन् । आर्थिक अवस्था कमजोर भएका न्यौपानेले अहिले सानो फ्रेस हाउस संचालन गरी जीवन गुजारीरहेका छन् । हरेक दिन औषधी खाइरहनुपर्ने उनलाई थोरैथोरै रकम पनि अहिले निकै आवश्यक छ ।

वडा नम्बर ४ झुँगाकै चन्द्र बहादुर कुँवर ह्विलचेयरमा हिँड्छन् । खुट्टाको जटिल अप्रेसन गरेका ५९ बर्षका कुँवर त्यति धेरै बोल्न पनि सक्दैनन् । उनी पनि मृगौला पीडित हुन् ।
बाणगंगाका हरि र चन्द्रजस्ता मुलुकभरका यस्ता मृगौला पीडित र क्यान्सर पीडित विरामीको लागि भनेर नेपाल सरकारले औषधी खर्चवापत् राहतस्वरुप मासिक ५/५ हजार भत्ता दिने कानुनी ब्यवस्था गरेको छ । मृगौला र क्यानसर पीडित विरामीले यो पैसा सिधै पाउँदैनन् उनीहरुले स्थानीय सरकारमार्फत् पाउने गर्दछन् । केन्द्रले स्वास्थ्य मन्त्रालयमार्फत् नगरपालिकाको खातामा जम्मा गरेपछि त्यो रकम स्थानीय तहले आफूहरुको तथ्याङ्कमा रहेका विरामीको खातामा जम्मा गर्ने प्रकृया छ ।

तर कपिलवस्तुको बाणगंगा नगरपालिकाले भने गत बर्षदेखि ती विरामीले पाउनुपर्ने भत्ता पठाउन सकेको छैन । नगरको तथ्यांकमा रहेका मृगौल र क्यान्सर पीडित विरामीले उक्त औषधी खर्चबापत्को भत्ता नपाएपछि बाध्य भएर मिडियामा आएका छन् ।

उनीहरु पटकपटक नगरपालिका धाए, स्वास्थ्य र लेखा शाखाको ध्यानाकर्षण गराए तर गत वैशाखदेखि रोकेर राखेको भत्ता दिने छाँट नदेखिएपछि कुँवर र न्यौपानेले मिडियामा आउन बाध्य भएको बताउँछन् । नगरले नदिएर जिल्ला स्वास्थ्य कार्यालयसम्म पनि धाउनु परेको उनीहरु बताउँछन् ।

मृगौल पीडित चन्द्र बहादुर कुँवरका छोरा सरोज कुँवरले अपिटाइम्ससंग भने, ‘नगरका मान्छेले सुरुमा पैसा आएको बताए । बाणगंगाको स्वास्थ्य शाखासंग गएर बुझ्दा गत पुषमा खातामा पैसा आएको भन्थ्यो । पुसबाट माघ भने, माघबाट फागुन, फागुनबाट फागुन ३०, अहिले कहाँ गयो पैसा भन्दा फरकफरक कुरा आउन थाले अनि हामी मिडियामा आएका हौँ ।’

सरोजले थपे ‘स्वास्थ्य शाखाले भन्छ सिस्टममा पैसा आएको छ, लेखामा गएको छ । लेखा शाखाले भन्छ खातामा पैसा छैन । गर्दागर्दा भित्र सुटुक्क बोलाएर यो पैसा नगरको विविध खर्चमा काटियो भन्छन्, साला चोरहरुले गर्ने भएनन्, कसका कुरा सहि हुन् भगवान् जानुन्, ध्यानाकर्षण गरिदिनु पर्यो मिडियाबाट सर ।’

कुँवरको प्रश्न छ हाम्रो पैसा यसरी नगरले विविध शीर्षकमा खर्च गर्न पाउँछ ? हामीलाई नगरले अत्याचार गरेको कि पैसा खान खोजेको ? छिमेकी पालिकाले ३/३ महिनामा १५/१५ हजार पैसा दिन्छन्, हामीहरुको पैसा रोकेर राखेका छन् । आजभोलि शंका लाग्न थाल्यो भ्रष्टाचार भएको त होइन ?

हरि न्यौपानेले पनि नगरपालिकाको यो तरिका ठिक नभएको भन्दै चाँडै पैसा भुक्तानी गरिदिन आग्रह गरेका छन् । मृगौला पीडितको रकम रोक्दा भ्रष्टाचार गर्न लागेको हो कि भनेर आसंका सिर्जना गर्ने अवस्थामा आफूहरु पुगेको उनले बताए । हरिले भने ‘मृगौलाको फलोअप गर्न पटकपटक काठमाडौँ धाउनुपर्ने हुन्छ । दैनिक औषधी खानुपर्ने हुन्छ । त्यहि माथि पाउनुपर्ने रकम पनि नगरपालिकाले नदिएर जालझेल गर्न खोज्छ, नगरले जानाजान पीडामाथि पीडा थप्ने गरेको छ ।’

अर्का एक जना क्यान्सर पीडितले भने ‘हामीले त मासिक ५ हजार तिनतिन महिनामा पाइन्छ भनेर बुझेका छौँ । कताबाट आयो, आएन हामीसंग सम्बद्ध विषय होइन । हामीले पैसा पाएनौँ । हामीले भन्ने भनेको नगरपालिकालाई हो । वैशाखदेखि खै पैसा पाएका छैनौँ ।’
उनले थपे ‘अघिल्लो आर्थिक बर्षमा पनि सबैले दबाब दिएपछि अन्तिममा बल्ल भत्ता पाएका थियौँ । घरमै आएर दिनुपर्ने रकम बारबार देऊदेऊ भन्दा पनि नगरले दिँदैन, के गर्न खोजिएको हो बुझिएन, विविध खर्चमा रकम गयो भन्दा हामीले अचम्म मानेका छौँ ।’

यस विषयमा नगरपालिकाको स्वास्थ्य शाखासंग बुझ्दा नगरको कारण पैसा नरोकेको पाइयो । स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल भन्छन् ‘मृगौला पीडितको पैसा रोकिनुमा हाम्रो दोष छैन । हामीले फाइल रेडी बनाएर पठाएका छौँ ।माथिबाट खातामा पैसा जम्मा हुनासाथ हामीले उनीहरुको खातामा पठाउँछौँ । मृगौला र क्यान्सर पीडितको पैसा हामीले रोकेका होइनौँ, कोलनिकाले रोकेको हुन सक्छ, थप लेखा शाखामा बुझ्नू ।

यस विषयमा प्रमुख प्रशासकीय अधिकृत भक्तीराम मरासिनीले भने प्रष्टसंग सत्य कुरा बताए । उनका अनुसार नगरपालिकाकै असंवेदनशिलताका कारण मृगौला पीडितले पैसा नपाएर गुनासो गरिरहेका छन् ।
उनले भने ‘नगरपालिकाका साथीहरुले ढंग नपुर्याउँदा मृगौला पीडितहरुले दुख पाउनुभएको रहेछ ।’ उनले थपे ‘पैसा निकासा नआएर हो । आएपछि दिन्छौँ, यतिकिन पैसा हालिदिएको, त्यहि पनि चौमासिक निकासा गर्दोरहेछ । पैसा हाल्देतो भनेको हालिदिन्छु भनेका छन् । त्यहाँ कति आएको छ छिटै बाँड्छौँ अनि अरु पैसा असारमा हुन्छ । त्यस्तो केहि होइन ।’

प्रमुख प्रशासकीय अधिकृत मरासिनीले यस्तो हुनु पछाडिको कारणबारे थप प्रष्ट पार्दै भने ‘पहिला नगरपालिकाले पैसा छुट्याउनि हो केरे, साथीहरुले पैसा छुट्याएन्छन्, शोधभर्न शीर्षकमा पैसा देखिएन, ढंग नपुर्याएर गुनासो आएको छ । १० वटा लाखसम्म राख्देको भए शोधभर्न हुन्थ्यो, सामाजिक सुरक्षा मोडलमा सरकारले पनि लगेन, स्थानीय तहमा कुरो नबुझेर यस्तो हुन्छ । अब ४ महिनाको रकम बाँड्छौँ । अब शोधभर्ना मागेपछि असारसम्म पैसा आउँछ ।’ उनले अब ३६ लाख रुपैयाँ पैसा बाँड्ने बताए ।

नगरमा भएका विरामीको तथ्यांक थाहा पाएपछि नगरले आन्तरिक श्रोतबाट बजेट छुट्याएमाआगामी दिनमा समस्या नहुने उनले बताए । बुधबार पनि मृगौला र क्यान्सर पीडित विरामीहरु आफ्नो कार्यकक्षमा आएर झगडा गरेको मरासिनीले बताए ।

नगरका स्वास्थ्य अधिकृत भक्ती पाण्डेले नगरपालिकाको आंकडामा १४० जना मृगौला र क्यान्सर पीडित रहेको बताए । गत ११ महिनादेखि हिसाब गर्दा क्यानसर र मिर्गौला पीडितको करिब ७७ लाख रुपैयाँ अड्किएर बसेको छ । आफ्ना आसेपासे र कार्यकर्ताको लागि बिभिन्न बाहना र शीर्षकमा बजेट बाँड्ने नगरले क्यानसर र मृगौल पीडितको लागि आन्तरिक श्रोतबाट बजेट छुट्याउन नसक्नु गम्भिर भुल रहेको सरोकारवाला बताउँछन् । आफ्नो नगरका नागरिक बचाउन केन्द्रको मुख ताक्नै पर्ने हो भने नगरलाई किन कर तिर्ने जनताको प्रश्न छ ।