मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँ कमिटिको सहसचिव, मेयरमा हारदेखि राष्ट्रिय सभाको उपाध्यक्षसम्म ‘घिमिरे’

गाउँ कमिटिको सहसचिव, मेयरमा हारदेखि राष्ट्रिय सभाको उपाध्यक्षसम्म ‘घिमिरे’

अपि टाइम्स

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । बुधवार भएको उपाध्यक्षको निर्वाचनमा घिमिरे कांग्रेस उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा ३९ मतसहित घिमिरे उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदले मत दिएका छन् । उपाध्यक्षकी अर्की प्रतिस्पर्धी कांग्रेसकी पुडासैनीले १६ मत मात्र पाइन् ।

अनेमसंघमा रहँदा उनी जिल्ला कमिटी सचिव, पार्टी इलाका कमिटी सदस्य, अनेम संघ जिल्ला सचिव भएर समेत काम गरेकी थिइन् ।

२०४७ सालमा अनेमसंघ हुँदै राजनीति प्रवेश गरेकी घिमिरे २०७८ सालमा नेकपा (एमाले) केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । त्यस्तै उनी तत्कालीन नेकपाको केन्द्रीय सदस्य, २०६८ मा नेकपा एमालेको कपिलवस्तु जिल्ला कमिटी सचिव, २०६६ मा पार्टी जिल्ला कमिटी उप सचिव, २०६२ मा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य र २०५९ मा जिल्ला कमिटी सदस्य भएर काम गरेकी थिइन् ।

उपाध्यक्ष घिमिरेले कपिलवस्तुका महिला आन्दोलनमा अग्रणी भूमिका खेखेकी उनी एमाले पोलिटब्युरो सदस्यको जिम्मेवारीमा छन् । उनी १८ वर्षको उमेरमा अखिल नेपाल महिला सङ्घ (अनेमसंघ) कोपवा गाउँ कमिटीको सहसचिव हुँदै राजनीतिक यात्रा सुरुवात गरेकी थिइन् । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बाणगंगा नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेबाट उम्मेदवार बनेर नेपाली कांग्रेसका उम्मेदवार मङ्गल प्रसाद थारुसँग ४ सय ६० मतले पराजित भएकी थिइन् । उपमेयरसहित ११ मध्ये ७ वडामा एमालेका उम्मेदवार विजयी हुँदा उनी पराजित भएकी थिइन् । त्यो वेला पार्टीभित्र अन्तर्घात गरी हराइएको चर्चा चलेको थियो । 

२०७६ सालमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा भने घिमिरे लुम्बिनीबाट विजयी भएकी थिइन् । तत्कालीन नेकपाबाट निर्वाचित उनी नेकपा विभाजन भएर माओवादी केन्द्र र एमाले बन्दा एमालेमै रहेकी थिइन् । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ८ हजार तीन सय ३८ मत प्राप्त गर्दै उनले काँग्रेस उम्मेदवार गिरिजादेवी न्यौपानेलाई पराजित गरेकी थिइन् । कपिलवस्तुको वाणगंगा निवासी घिमिरेको जन्मस्थान भने अर्घाखाँची जिल्ला हो ।

मेयर पदमा हार भोग्न बाध्य भए पनि उनी कहिल्यै निरास भइनन् । निरन्तर राजनीतिमा होमिएकी उनी सधैँ शीर्ष नेतृत्वको नजिक रहिन् । पार्टीमा योगदान पनि भएकी अनि शीर्ष नेतृत्वको छत्र छायामा रहेका कारण पनि उनी यो सफलतासम्म पुगेको उनी निकटस्थहरु बताउँछन् । पार्टीमा जतिसुकै उतारचढाव आए पनि उनले मूल धार भने कहिल्यै छोडिनन् । कतिपयले घिमिरेको राजनीतिक छलाङलाई उनको भाग्यसंग पनि दाँज्ने गर्दछन् ।