मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनकारी कृष्ण कुँवर, रेडियो मायादेवीलाई १० धुर जग्गा दिने

मनकारी कृष्ण कुँवर, रेडियो मायादेवीलाई १० धुर जग्गा दिने

अपि टाइम्स

काठमाडौँ । स्थापनाको लामो समयपछि रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जले जग्गा प्राप्त गरेको छ । रेडियो संचालक संस्था नव छहारी सामाजिक विकास संस्थाका अध्यक्ष कृष्ण कुँवरले आफुले जग्गा दिने बताएपछि रेडियोको आफ्नै जग्गा हुने भएको हो ।

मंगलबार रेडियोले पिपरास्थित सुपा देउराली मन्दिरमा आयोजना गरेको शुभकामना आदाप्रदान तथा वनभोज कार्यक्रममा अध्यक्ष कुँवरले वडा नम्बर ४ गजेहडामा आफ्नो १० धुर जग्गा संस्थाको नाममा पास गरिदिने घोषणा गरे ।
आफ्नो भवन नहुँदा भाडा तिर्नुपर्ने समस्याले रेडियोलाई अफ्ट्यारो परेपछि अध्यक्ष कुँवरले रेडियोको दिगोपनाको लागि आफ्नै जग्गा हुनुपर्ने बताउँदै चाँडै जग्गा पास गर्ने र त्यसको आवश्यक प्रकृया थाल्न आग्रह गरे ।

उनले भने ‘यो हाम्रै सम्पत्ति हो । मैले गजेहडाको १० धुर जग्गा दिने घोषणा गर्दछु । बाँकी भवन निर्माण गर्न पालिका र संघसंस्थाले सहयोग गर्नुहुनेछ भन्ने विश्वास गरेको छु । मैले जग्गा दिएर मात्र हुँदैन, सबैले सहयोग गरेमा चाँडै रेडियोको आफ्नै भवन बन्ने छ । अर्को बर्ष यस्तो कार्यक्रम रेडियोको आफ्नै भवनबाट गर्न प्रयास गर्नेछौँ ।’

संस्थाका संस्थापक अध्यक्ष र बाणगंगा मावि गजेहडाको अध्यक्षसमेत रहेका कुँवरले शिक्षा र मिडियाको विकास भए मात्र नगरको विकास हुने बताए । रेडियोलाई अब लुम्बिनी प्रदेशकै उत्कृष्ट रेडियो बनाउने गरी काम गर्नुपर्ने उनको भनाई छ ।

कार्यक्रमकी प्रमुख अतिथि बाणगंगा नगरपालिकाकी नगर उपप्रमुख रिता चौधरीले मनकारी अध्यक्ष कुँवरलाई धन्यबाद दिइन् । रेडियोको लागि जग्गा प्राप्ती निकै राम्रो कुरा रहेको बताउँदै रेडियोको थप विकासको लागि आफूले पनि सहयोग गर्ने उनको भनाई छ । संचार माध्यमले खबरदारी गर्ने कुरा राम्रो भए पनि सत्यतथ्य बुझेर गर्न उप मेयर चौधरीको आग्रह छ । मिडियाले समाचारको सत्यता अध्ययन गरेर समाचार सम्प्रेषण गर्दा जनताले विश्वास गर्ने बताइन् । पछिल्लो समय नगरले राम्रो गरिरहेकाले खबरदारीसंगै नगरको विकासको कुरा लेख्न पनि उनले आग्रह गरिन् ।

कार्यक्रममा ढिलोगरी पुगेका मेयर चक्र अर्यालले रेडियोलाई जग्गा प्राप्त हुनु निकै राम्रो कुरा रहेको भन्दै कुँवरलाई धन्यबाद दिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, नगर प्रवक्ता विष्णु पौडेले, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री, कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, संघका पूर्वअध्यक्ष उमानाथ पौडेल, नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई लगायतले बोल्दै रेडियो मायादेवी यस क्षेत्रकै अग्रणी रेडियो भएको बताए ।

कोरोना कालमा रेडियोले गरेको काम र खबरदारी प्रदेशमै उत्कृष्ट रहेको भन्दै त्यहि उर्जा निकालेर अघि बढ्न उनीहरुको सुझाव छ । रेडियोलाई अध्यक्ष कुँवरले जग्गा दिएर दिगोपनाको ग्यारेन्टि भएको उनीहरुले बताए । धेरै संघसंस्थामा आवद्ध र सबैलाई सहयोग गर्ने कुँवर निकै मनकारी रहेको कार्यक्रममा सहभागिले बताए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय पिपराका इन्सपेक्टर गोपाल रायमाझी, पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य, उद्योग बाणिज्य संघका निवर्तमान महासचिव मनोज पौडेल, नेपाल किसान ट्याक्टर समितिका अध्यक्ष झविन्द्र खनाल, पत्रकार महासंघ सचिव जानु पाण्डे, प्रेस युनियनका अध्यक्ष खगप्रसाद चापागाइ, समाजसेवी रामु पोख्रेल, दल बहादुर कुँवर, रेडियोका स्टेसन म्यानेजर हरि घिमिरे, रेडियोका शेयर धनी, संचालक समितिका सदस्य, कर्मचारी गरी १५० बढीको सहभागिता रहेको थियो ।

रेडियोका उपाध्यक्ष माधव भाट क्षेत्रीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको संचालन कार्यकारी निर्देशक चन्द्रकान्त न्यौपानेले गरेका थिए । रेडियाकोे २०७१ सालमा उद्घाटन भएको थियो ।