मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनी प्रदेशमा मन्त्रीमण्डल विस्तार हुँदै, एमाले कपिलवस्तुबाट को परे ?

लुम्बिनी प्रदेशमा मन्त्रीमण्डल विस्तार हुँदै, एमाले कपिलवस्तुबाट को परे ?

अपि टाइम्स

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार सरकार विस्तार गर्न थालेका छन्। नेकपा एमालेका चार जना, नागरिक उन्मुक्ति, जनता समाजवादी पार्टी र स्वतन्त्रबाट एक–एक जनालाई समेटेर सरकार विस्तार गर्न थालिएको हो। सत्ता गठबन्धन दलमध्ये नेकपा एस मात्रै सरकारमा सहभागी छैन।

एमालेबाट आज भूमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुनकुमार केसी र रत्नबहादुर खत्री मन्त्री बन्न थालेको एमाले संसदीय दलका नेता लीला गिरीले जानकारी दिए। उनीहरू सबैले आज बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिनेछन्।

मन्त्रालयको भागबन्डा नमिलेको हुँदा एक जनाबाहेक अन्य सबै नयाँ मन्त्रीले बिनाविभागीय मन्त्रीको रूपमा शपथ लिन लागेका हुन्।

बाँकेबाट प्रतिनिधित्व गर्ने नेकपा माओबादी केन्द्रकी कृष्णा केसीले मन्त्री बन्न अस्वीकार गरेकी छन्। भागबन्डा पुर्‍याउन मन्त्रालय फोड्दै दश वटा मन्त्रालय पुर्‍याउने कुरा आफूलाई मन नपरेको यसअघिकी सहरी विकास मन्त्री केसीले बताइन्।

‘केही काम नगर्ने खाली मन्त्री मात्रै हुने मलाई मन परेन,’ उनले भनिन्, ‘आफूले काम गरी देखाउन नसक्ने अवस्थामा मन्त्री भई के बदनामी कमाउनु भन्ने लाग्यो।’

केसीले आफूले मागेको मन्त्रालय नपाएको हुँदा मन्त्री बन्न अस्वीकार गरेकी स्रोत बताउँछ। केसीलाई ऊर्जा तथा खानेपानी मन्त्री बन्न प्रस्ताव गरिएको थियो।

त्यस्तै, बाँकेबाट प्रतिनिधित्व गर्ने जसपाका नेता भण्डारीलाल अहिरलाई फेरि पनि कृषि मन्त्रालयको जिम्मेवारी तोकिएको छ। यसअघिका सरकारहरूमा पनि अहिरले सोही मन्त्रालय सम्हालेका थिए। एकै वर्षमा तीन पटक सरकार फेरिँदा लगातार तेस्रो पटक सोही मन्त्री बन्दै आएका व्यक्ति हुन् अहिर।

नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीले पनि बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिन थालेका छन्।

नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य र रोल्पाबाट स्वतन्त्र रूपमा निर्वाचित भए पनि माओवादी रोजेका दिपेन्द्र पुनले बिना विभागीय मन्त्रीका रूपमा चैत २३ गते शपथ लिएका थिए। आज आचार्यलाई अर्थ र पुनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

महरा चैत २३ गते ४८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। लुम्बिनीमा हाल ८६ सांसद छन्। बहुमत सिद्ध गर्न ४४ सांसद चाहिन्छ। योसँगै मन्त्रालयको संख्या दश पुग्ने छ।