चन्द्रकान्त न्यौपाने
काठमाडौँ । आजभन्दा १० दिनअघि लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीकि माता इन्द्रकला पन्थीको ८२ बर्षको उमेरमा निधन भयो । बुटवल निवासी इन्द्रकलाको निधन भएपछि पन्थी परिवारले अन्त्येष्टिको बारेमा अझै सोच्न भ्याएको थिएन । उहाँहरुसंगै लक्ष्मणघाट, रिडी र त्रिवेणी अप्सनमा थियो । कतिपयले त्रिवेणी लैजाने सल्लाह गरिरहेका थिए भने रिडी र लक्ष्मणघाटको बारेमा पनि पन्थी परिवारमा सल्लाह भइरहेको थियो । त्यहि दिन सांसद पन्थीलाई लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोख बहादुर महरालाई विश्वासको मत दिनैपर्ने बाध्यता पनि संगै थियो । घरमा शव राखेर पन्थी मुख्यमन्त्रीलाई विश्वासको मत दिन दाङको देखुरी पुगेर फर्के ।
फर्कने बेलामै आमाको अन्तिम संस्कार गर्ने ठाउँ पनि निश्चित भयो । सांसद पन्थी अचानक मोडिए र रोजे बाणगंगाको लक्ष्मणघाट । कपिलवस्तुमै आफ्ना धेरै शुभचिन्तक रहेको एउटा कारण, त्रिवेणी, रिडी जान अबेर भइसकेको अर्को कारणका कारण पनि पन्थी परिवार अन्तिम संस्कारको लागि लक्ष्मणघाटमै आउन तयार भयो ।
लक्ष्मणघाटमा आउने सल्लाहसंगै सोहि दिन नै साँझ साढे ५ बजे इन्द्रकलाको शव लिएर लक्ष्मणघाटमा सयौँ मलामीहरु आए । बुटवलबाट बनगाईचोक आएर मनहरापुलसम्म जान कुनै कठिन थिएन मलामीहरुलाई । बुटवलबाट बनगाई आउनभन्दा कठिन पुलको पश्चिमपट्टी शव दाह गर्न जाने ठाउँसम्मको करिब ३०० मिटर छिचोल्न भयो मलामीहरुलाई । कारण थियो लक्ष्मणघाटको अन्तिम संस्कार गर्ने स्थानसम्म पुग्ने बाटोको अस्तब्यस्तता र त्यहाँको भद्रगोल ।
वैशाखको हावाहुरी, बन्दै गरेको बाटो, सवारी पार्किङको लागि अब्यवस्थित, गाडीका चक्का नै गढ्ने धुलोको रास र यत्रतत्र फोहर छरिएको । कतै वियरका बोत्तल त उस्तै प्लाष्टिकका बोत्तल पनि । धुलोको मुस्लो छिचोल्दै बल्लतल्ल पुलको पश्चिमपट्टी शव दाह गर्ने स्थानसम्म मलामीहरु पुग्न सफल भए । कतिपयका सवारी त्यहिँ धुलोमा भासिए र फँसे । कतिलाई निकाल्नै निकै मुस्किल भयो । त्यहाँ यति धुलो थियो कि कसैले मास्क, कसैले कमिज, टोपीले मुख र नाक छोपेर जोगिएका थिए भने कतिपयलाई तुरुन्तै रुखाखोकी लागेको थियो ।
त्यो हविगत, धुलो र पार्किङको अस्तब्यस्तताले पछि मलामी गएका मानिसहरुले सवारी बाटोमै तेश्राए । मनहरा, कोपवा जाने बाटो एकछिन जाममा नै पर्यो भन्दा हुन्छ । त्यहाँ गाडी राखेर मलामीहरु धुलो खाँदै शव दाहगर्ने स्थानसम्म पुगे ।
प्रदेशकै लोकप्रिय नेता तथा पूर्वमन्त्रीको आमाको मृत्युवरण भएको हुनाले अन्तिम श्रद्धाञ्जलीको लागि मुख्यमन्त्री जोख बहादुर महरा, एक दर्जन सांसद, बिभिन्न पालिकाका प्रमुख, वडाअध्यक्ष, राजनैतिक दलका नेता, कार्यकर्ताले त्यहाँको चउर भरिभराउ थियो । बनगाईदेखि लक्ष्मणघाटसम्म नै त्यो दिन भीँड थियो ।
शव दाह गर्नेस्थानसम्म पुगेपछि पनि न त त्यहाँ बस्ने स्थान छ नत पार्किङ नत शव दाह गर्नको लागि ब्यवस्थित ठाउँ । त्यस्तैत्यस्तैमा चन्द्रकलाको अन्त्येष्टि गरियो ।
लक्ष्मणघाटको यो हविगत देखेपछि सांसद, नेता, मेयर, नेताकार्यकर्ता आफै लज्जित भए । एकातर्फ पन्थी परिवार दागवत्तिको कार्य भइरहेकोको थियो अर्कातर्फ भने त्यहि धुलाम्य र अब्यस्थित बाटो, स्थानको बारेमा टिकाटिप्पणी गरिरहेका थिए । एक जना मलामीले त्यो अस्तब्यस्तता देखेर स्थानीय सरकारलाई भन्नु भनिरहेका थिए ।
संयोगले त्यतै बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्र अर्यालले पनि सुनिरहेका थिए । स्थानीयको आलोचना सुनेर मेयर अर्याल अक्क न बक्को स्थितिमा देखिन्थे । उतापट्टी अरु मानिस पनि पन्थीकी आमाको अन्तिम संस्कारको कुरातिर भन्दा लक्ष्मणघाटको त्यो हविगतको बारेमा कुरा गरिरहेका थिए । त्यतै सांसद, कपिलवस्तु, बुद्धभूमि, विजयनगर लगायतका जनप्रतिनिधि, मै हुँ भन्ने नेता कार्यकर्ता थिए । उनीहरु पनि यी कुरा सुनेर लज्जित भइरहेका थिए ।
मलामी गएका धेरै जनाले यहि विषयमा कुराकानी गरेपछि नेताहरुलाई लाजको घुम्टो लुकाउनै सकसको स्थिति पनि त्यहाँ देखिन्थ्यो । शव बसाल्ने उचित स्थान नहुँदा पन्थी परिवारले पनि त्यहाँ दुख पाइरहेको देखिन्थ्यो । सर्वसाधारणको मृत्युमा यति धेरै मान्छे नहुँने भएकाले नेताका मातापिता, छोराछोरी मर्दा बल्ल नेतालाई रियलाइज भएको भन्दै मलामी गएका एक जनाले ब्यङ्ग्यसमेत कसेका थिए ।
राम लक्ष्मणको किंवदन्तीसंग जोडिएको हुनाले लक्ष्मणघाटलाई पश्चिम नेपालमा पशुपतिनाथसरहको महत्वपूर्ण धार्मिक स्थलको रुपमा हेर्ने गरिन्छ । त्यसकारण पनि कुनै पनि ब्यक्तिको महाप्रस्थान यहिबाटो हुँदै गराउनुपर्ने भन्दै दाङ, कपिलवस्तु, रुपन्देही, अर्घाखाची, पाल्पा, गुल्मीसम्मका मानिसहरुले आजभोलि लक्ष्मणघाटलाई रोज्ने गरेका छन् । त्यहाँ दैनिक शव दाह हुन्छ भन्दा फरक पर्दैन । कहिलेकाहिँ त ५ । ७ जनासम्मको अन्त्ेष्टि त्यहाँ हुने गरेको काम गर्नेहरु बताउँछन् ।
प्रदेशकै चर्चित धार्मिक र अन्त्येष्टिस्थललाई अहिलेसम्म ब्यवस्थित गराउन नसकेकोमा त्यहाँ सहभागि जनप्रतिनिधि, ठुलाठुला नेताहरु नाङ्गिएको सर्वसाधारणले बताउँदै थिए । आज यो हविगत धेरैले देखेको हुनाले अब लक्ष्मणघाटले प्राथमिकता पाउँछ कि भन्ने कतिपयलाई आशा छ । त्यहाँ बुद्धभूमि नगरपालिकाले एउटा विद्यूतीय शव दाह गर्ने संरचना बनाएको छ तर त्यसको नियमित रेखदेख नहुँदा त्यो पनि बेकामे बनेको छ भन्दा फरक पर्दैन ।
त्यो संरचना हेर्दै धेरैले बाणगंगा नगरपालिकाले लक्ष्मणघाटको ब्यवस्थापन र सौन्दर्यीकरणमा ध्यान नदिएको आरोप लगाए । स्थानीयका यस्तै आरोप र आलोचना सुनेर उभिरहेका मेयर चक्रपाणी अर्यालले नगरले गर्दै नगरेको भन्ने कुरा झुट रहेको बताए । आरोप लगाउने स्थानीयसंगै उनले आजको दृश्यले आफूलाई पनि अलिकति नराम्रो अनुभुति दिलाएको भन्दै आगामी दिनमा राम्रो गरिने बताए । सामुदायिक बनबाट काठको ब्यवस्थापनदेखि त्यहाँ सघाउने कर्मचारीलाई नगरले तलब दिएर राखेको भन्दै धेरै गर्न बाकी रहेको मेयर अर्यालले बताए ।
वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीले अहिले बाटो पीच हुँदै गरेको बताएका छन् । मलामीको सहायताको लागि प्रतिक्षालय लगायतका संरचना बनाइरहेका गिरीले त्यो दिनपछि आफूहरु थप चिन्तित रहेको बताए । उक्त दिन काठमाडौँ रहेका गिरीले त्यहाँको अस्तब्यस्तताबारे आफूले पनि सुनेको बताए । आगामी दिनमा नगरले पर्याप्त बजेट विनियोजन गर्ने र जिल्लाका अरु पालिकालाई पनि बजेट छुट्याउन आग्रह गर्ने उनले बताए ।
यता मेयर अर्यालले आगामी दिनमा सौन्दर्यीकरण लगायत ब्यवस्थापनमा थुप्रै काम हुने बताएका छन् भने संघ र प्रदेश का सांसद र नेताले पनि यो हविगतपछि अब लक्ष्मणघाटको विकासको लागि लागि पर्ने प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया