मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दमकल खरिदको विषय कपिलवस्तुका वनमा प्रवेश, पालिकालाई पनि थप्नुपर्ने दबाब

दमकल खरिदको विषय कपिलवस्तुका वनमा प्रवेश, पालिकालाई पनि थप्नुपर्ने दबाब

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाडौँ । केहिदिन अघि बाणगंगाका बिभिन्न स्थानमा आगोलागिका घटना भए । एक्कासी आगो लागेपछि नगरपालिकामा रहेको एक मात्र बारुणयन्त्रले पालोपालो गरेर बिभिन्न स्थानको आगलागी नियन्त्रण गर्यो । कतिपय स्थानमा बारुणयन्त्र समयमा नपुगेको हुनाले धेरै धनको क्षति भइरहेको छ ।

सोमबार पनि बाणगंगाको वडा नम्बर ८ पुलचोकको दक्षिणतिर बगरको बस्तीमा एक्कासी आगलागी भयो । करिब १२ लाखको क्षति हुनेगरी भएको आगलागी नगरको एउटा दमकलले नियन्त्रण गर्न सकेन कपिलवस्तु र शिवराज नगरपालिकाबाट आएका थप ३ दमकल, स्थानीय र प्रहरीको सहायताले अग्नी नियन्त्रणमा आयो ।

समयमा आगो नियन्त्रणमा नआउँदा घर गोठ जलेर खरानी भएका छन् भने बंगुर लगायतका पशुचौपाय पनि जलेर मरेका छन् । अन्य भौतिक संरचना, खाद्यान्ह, लत्ता कपडाहरुमा पनि ठुलो क्षति भएको छ । यो समस्या बाणगंगामा मात्र होइन जिल्लाका अन्य ९ पालिकामा पनि उस्तै छ ।

यी घटनाले जिल्लाका स्थानीय तहमा बारुण यन्त्रको अभाव भएको महसुस गराएको छ । त्यस्तै २ दिनअघि यशोधरा गाउँपालिका र शुद्धोधन गाउँपालिकामा आगलागी हुँदा ५० घर टहरा जलेर नष्ट भएका थिए । मायादेवी गाउँपालिका–२ अविरावमा आगलागी हुँदा जय सराफ पासी र गुर्देयाल पासीको गोठ जलेर क्षति भएको थियो ।

हुन त फागुन, चैत्र र वैशाख महिना हावाहुरीको समय र आगलागी हुने समय हो । यसबेला धेरै आगलागीका घटना भइरहन्छन् ।

लामो खडेरी र सुख्खापनाले गर्दा यसपटक धेरै घटना भए । एक दिनमा ३ ४ वटा दमकलले पनि थेग्न नसक्ने गरी घटना भए । यिनै घटनाले पालिकाहरुमा थप दमकल आवश्यक भएको हो कि भन्ने अनुभुति गराएको छ ।
सोमबार बाणगंगाको बगरमा भएको आगोलागिमा नगरकै अर्को दमकल भइदिएको भए थप क्षतिबाट रोकिन सक्ने स्थानीय बासिन्दा बताउँछन् ।

स्थानीय भन्छन् ‘आगलागीको घटनाबाट अहिले त मानिसको क्षति भएको छैन तर आगो लागेर समयमा नियन्त्रण नआउँदा कसैको ज्यान गइहाल्यो भने नगरपालिकाहरुले के जवाफ दिन्छन् ? त्यसैले नगरहरुमा कमसेकम पनि २ वटासम्म सुविधासम्पन्न दमकल स्ट्याण्डबाई राख्नुपर्दछ ।’

अहिले घटेका घटनाहरुले पालिकाहरुलाई समेत झकझक्याएको छ । तर धेरै बारुणयन्त्र खरिद गर्ने विषय भने यो जटिल विषय भएको उनीहरु बताउँछन् । बाणगंगा नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेलले विपत्ति भन्ने कुरा बाजा बजाएर नआउने भएकाले यसको आंकलन गर्न नसकिने बताए ।

यसपटक लामो खडेरी र सुख्खापनाका कारण आगोलागिका घटना धेरै हुँदा थप एउटा बारुण यन्त्र आवश्यक हुने अनुभुति गरेको बताए । उनले भने, ‘२ वटासम्म बारुण यन्त्र चाहिने यसपटक अनुभूति भयो । २ वटा राख्न सकिन्छ तर यसमा जनशक्ति लगायत सबै विषय जोडिने रहेछन् । किन्न भन्दा पनि राख्न समस्या हुने रहेछ ।’
उनले आगामी बर्षमा सके एउटा थप्ने नभए पनि अन्तरपालिका समन्वय गरेर यसको अभाव महशुस हुन नदिने गरी तयारी गर्ने दावी गरे ।
यता कतिपयले आगोलागिका घटना वनहरुमा बढी हुने भएको हुँदा वनहरुमै दमकलको ब्यवस्था हुनुपर्ने बताउँछन् । जलवायु परिवर्तनको असर बढ्दै गएको, पानीको मात्रा कम हुँदै गएकाले यस बर्षमाभन्दा आगामी बर्षमा आगलागीका घटना बढ्न सक्ने भएकाले वनहरुले यस विषयमा सोच्नु पर्ने उनीहरुको भनाई छ ।

डिभिजन वन कार्यालय तौलिहवा कपिलवस्तुका सहायक वन अधिकृत खिल बहादुर तामाङले वनमा दमकलको विषय अब छलफलको विषय भएको बताए । अहिले आगलागी हुने मुख्य कारणमा मौसमको दोष रहेको बताउँदै समयमा फायरलाइन निर्माण नहुँनु, प्रज्वलनशिल वस्तुहरु वनमा लिएर जानु, समितिहरु चनाखो नहुनु जस्ता विषयले वनमा आगोलागिका घटना बढेको तामाङले बताए ।
मौसम प्रतिकुल बन्दै गइरहेकाले आगामी दिनमा यो समस्या थप बढ्न सक्ने भएकाले वनहरुले सल्लाह गरेर अब दमकल राख्ने विषयमा छलफल अघि बढउनु पर्ने उनले बताए ।

उनले भने ‘यो खर्चिलो प्रविधि छ, एउटा वनले किन्न सक्दैन । किनेर मात्र हुँदैन थप जनशक्ति पनि आवश्यक हुन्छ । वनहरु मिलेर या क्लवस्टर–क्लष्टर मिलेर दमकल खरिद गर्नुपर्ने आवश्यकता यसपटक महसुस भएको छ ।’

अब यस विषयमा गम्भीर संवाद हुने उनको भनाई छ । आगो नियन्त्रण पनि वन संरक्षणभित्रको कार्य पर्ने हुनाले दमकल खरिद पनि त्यहि शीर्षकमा पर्ने तामाङले बताए । पालिका र वनहरुले मिलेर काम गर्दा आगोलागिका थप घटनाबाट बच्न सकिने उनको भनाई छ ।
अहिले पनि जेठसम्म आगलागीका घटना हुने भएकाले पालिका र वनहरु एक आपसमा मिलेर अघि बढ्नु पर्ने बताए । उनी बताउँछन् । कपिलवस्तुका अरु पालिका र वनहरुले पनि अब यस विषयमा छलफल गर्ने बताएका छन् ।