मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडाअध्यक्ष पौडेल जाँगेमै खाली खुट्टा गोठालो, सरलता कि स्टण्डबाजी ?

वडाअध्यक्ष पौडेल जाँगेमै खाली खुट्टा गोठालो, सरलता कि स्टण्डबाजी ?

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
काठमाडौँ । च्यातिएको ठाउँमा टालो तुनेको सेतो कमिज (पोशाक) लगाएर केहि दिनअघि शिक्षामन्त्री सुमना श्रेष्ठ भाइरल बनिन् । शिक्षामन्त्रीको त्यो लवाईलाई कतिपयले स्वभाविक र श्रेष्ठको सरलतासंग जोडे भने कतिपयले सस्तो लोकप्रियताको लागि श्रेष्ठले जानीजानी यस्तो काम गरेकोे भनी कटु आलोचना भयो । श्रेष्ठले मात्र होइन अरु नेता, मन्त्री र सांसदले बेलाबेलामा यस्तै कामहरु गरेर चर्चामा आउने काम गरेका छन् ।

यसैबीच कपिलवस्तुका एक जना वडा अध्यक्षले पनि एउटा यस्तै काम गरेका छन् । जसका कारण उनको सामाजिक संजालमा अहिले चर्चा भईरहेको छ । बाणगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा नगर प्रवक्ता विष्णु पौडेल खाली खुट्टा गोठालो बनेको विषयले चर्चा पाएको हो । पौडेलले कोठी जंगलमा आफु जनताको सेवक र गाईको गोठालो बनेको भन्दै खाली खुट्टासहितका तस्वीर मंगलबार सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरे । ती तस्वीरसंगै उनले लेखेको गीति स्टाटस (सन्देश) पनि निकै रमाइलो छ । यसैलाई लिएर अहिले चर्चा छ ।

उनको लेखाई छ ”आज विहानै मौलिक भााक जुर्यो । विश्वास गरी सरर जनताले भोट हालो । अहिले त म सररर जनता र गाईको गोठालो । गाई चराउँदै सररर कोठीको वनैमा, धेरै खुसी सररर लाई राछ मनैमा ।”

यो सन्देशसहितका तस्वीरमा उनी खाली खुटट अर्थात् चप्पल नलगाई गोठालो बनेको देखिन्छ । एउटा लौरो हातमा लिएर टेकेका उनले सेतो कमिज र जाँगे लगाएका छन् । सामाजिक संजालबाट पौडेलको यो तस्वीर सार्वजनिक भएपछि कतिपयले यसलाई वडा अध्यक्षको स्वभाविकता र सरलतासंग जोडेका छन् भने कतिपयले स्टण्डबाजी गर्न खोजेको बताएका छन् ।

यो समाचार तयार पार्दासम्म वडा अध्यक्ष पौडेलको पोष्टमा ६१ प्रतिक्रिया आएका छन् । केहि आलोचनात्मक प्रतिक्रियाबाहेक धेरेले वडा अध्यक्षको प्रसंसा गरेका छन् । वडा अध्यक्षको काम निकै राम्रो भएको भन्दै सरल वडा अध्यक्ष भन्ने प्रतिक्रिया आइरहँदा कतिपय प्रतिक्रियामा स्टण्डबाजी गरेको सन्देश बुझ्न सकिन्छ ।

फेसबुकमा नविन शर्मा नाम गरेका प्रयोगकर्ता लेख्छन् ‘दीर्घकालिन् योजना बनाउन पर्यो हजुर । यसरी गाईगोठालो बनेर कतिदिन सक्नुहुन्छ र ?’
नारायण घिमिरेको प्रतिक्रिया छ, ‘काठको निश्चित पैसा उठाएर २ / ३ जना कर्मचारी राखी दीर्घकालिन गौमाताको ब्यवस्था गर्नुपर्दछ ।’
माधव सापकोटाको भने फरक प्रतिक्रिया छ । ‘कलियुगको कृष्ण बन्नु भाछ हाम्रो सर त’, उनले लेखेका छन् । दुर्गा बिसी नाम गरेका एक जनाले वडा अध्यक्ष पौडेलको मुक्तकण्ठले प्रसंसा गरेका छन् । उनी लेख्छन् ‘मिसन ८४ को पक्का मेयर साब दाजु गो अहेड ।’

लक्ष्मण बहादुर कार्कीले गाईहरु बस्ने गोठ अब निर्माण गर्न जरुरी छ भनेर लेखेका छन् । पौडेललाई चिन्ने नेताहरुले भने उहाँ सानैदेखि मिहिनेती रहेको, गाईगोरुको गोठालो भएरै जनतामा सेवा गरेको भन्दै लामो प्रतिक्रिया जनाउन जायज ठानेनन ।

चिकित्सा क्षेत्रका कतिपय डाक्टरहरुले खेतमा जाँदा चप्पल जुत्ता अनिवार्य लगाउनुपर्ने भन्दै वडा अध्यक्ष पौडेलले त्यो तस्वीर स्टण्डकै लागि राखेको हो कि भन्ने अर्थमा लिएका छन् । स्वास्थ्यको दृष्टिकोणबाट र चोटपटकबाट बच्न पनि यस्तो बेला जुत्ता चप्पल लगाउनु अनिवार्य रहेको उनीहरु बताउँछन् ।

यता वडा अध्यक्ष पौडेलले भने स्टण्डबाजी गर्न आफुले कहिल्यै नजानेको भन्दै आफु हिजो पनि त्यहि परिवेशमा हुर्किएको कारण अहिले त्यो गर्ने कुरा कुनै अनौठो नभएको बताए । पहिलेपहिले पनि आफूले यस्ता धेरै कार्य गरेको उनको भनाई छ । जुत्ता चप्पल नलगाउनु, जाँगेमा देखिनुलाई सरलतासंग जोड्न सकिए तापनि सार्वजनिक पद धारण गरेका ब्यक्तिहरु यसरी सार्वजनिक नहुँदा नै राम्रो हुने कतिपयको भनाई छ ।

स्थानीयका अनुसार बाणगंगाको प्रमुख समस्या छाडा पशु चौपाय रेहेको र तिनको ब्यवस्थापन अहिले कोठी जंगलमा भइरहेको छ । त्यहाँ सयौँ गाईगोरु छन् तिनको अवस्था, खानपान, हेरचाहको लागि दैनिक रुपमा वडा अध्यक्ष त्यहाँ जाने गरेको र मंगलबार विहानको दृश्य पनि त्यसैको निरन्तरता रहेको भन्दै यसलाई स्टण्डबाजीसंग जोड्न नहुने उनीहरुको भनाई छ ।