मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोफसल बाहिरका बालेनको दर्जा पाउँदै मेयर थापा, के गरे त्यस्तो काम ?

मोफसल बाहिरका बालेनको दर्जा पाउँदै मेयर थापा, के गरे त्यस्तो काम ?

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा पनि काठमाडौँका लोकप्रिय मेयर बालेन्द्र शाहको पथमा हिँड्न थालेका छन् । मेयर पदमा जित हासिल गर्ने वित्तिकै शिक्षा क्षेत्र सुधारको मिसन बोकेका मेयर थापाले अहिले लिएका बिभिन्न निर्णयले लुम्बिनी प्रदेशमै सनसनी मच्चिएको छ । पछिल्लो समय भएका बिभिन्न लोकप्रिय निर्णयका कारण स्थानीयले मेयर थापालाई मोफसल बाहिरका बालेन भन्न थालेका छन् ।

नगरपालिकाभित्रका जनप्रतिनिधि, कर्मचारी र सरकारी क्षेत्रमा काम गर्ने ब्यक्तिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनै पर्ने गरी बनाएका बाध्यकारी नियम बनाएका मेयर थापाले माध्यमिक तहसम्म मातहतका सबै विद्यालयमा अनिवार्य निशुल्क शिक्षा कार्यान्वयन गराउने गरी काम गरिरहेका छन् । अघिल्लो शैक्षिक सत्रमा लिएका यस्ता निर्णयले अहिले त्यहाँका सामुदायिक विद्यालयको भर्नादर नै बढेको छ ।

सरकारी विद्यालयमा अध्यापन गराउने शिक्षकले राजनीति गर्न नहुने निर्णय कार्यान्वयन गराउन डटेर लागेका उनले कुनै राजनीतिक दलको सदस्य लिएको भए ५ दिन भित्र राजीनामा दिन शिक्षकहरुलाई कडा निर्देशन दिइसकेका छन् । दलको सदस्यता लिएका शिक्षकले यदि उक्त समयभित्र दलको सदस्यता नत्यागेको भेटिए कारबाहीको लागि सिफारिस गर्ने उनको चेतावनी छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पत्रअनुसार शिवराजमा कार्यान्वयन गराउन नगर प्रमुख थापा लागि परेका हुन् ।

यस्तै नीजि विद्यालयको भर्नामा पनि उनले कडाई थालेका छन् । विद्यालयको मासिक शुल्क नगरले तोक्ने बताइसकेका उनले एकपटक भर्ना भएर अध्ययन गरिरहेको विद्यार्थीलाई पटकपटक भर्नाको नाममा शुल्क नलिन कडा निर्देशन दिइसकेका छन् । नगर शिक्षा समितिको बैठक बसेर एक पटक भर्ना भएर पढिरहेका विद्यार्थीलाई नयाँ शैक्षिकसस्त्रमा पुनः भर्नाको नाममा शुल्क नलिन चेतावनी छ । यदि कसैले भर्नाको नाममा शुल्क लिएको भए तुरुन्त अभिभावकलाई रकम फिर्ता गर्न निर्देशन दिएको छ ।

नगर प्रमुख अजय थापाले एक निर्देशनमार्फत् भनेका छन् ‘संस्थागत विद्यालयले विद्यार्थी भर्ना हुँदा एकपटक मात्र जुन कक्षामा भर्ना हुने हो सोही कक्षाको स्वीकृत मासिक शुल्कको एक महिनाको शुल्क लिन पाइने व्यवस्था भएकोमा केही विद्यालयहरुले पुराना विद्यार्थीलाई समेत भर्ना शुल्क लिएको बुझिएकाले कानून विपरित लिइएको भर्ना शुल्क यथाशिघ्र फिर्ता हुने व्यवस्था मिलाउन निर्देशन छ ।’

यस्तै नगर प्रमुख थापाले नीजि विद्यालयले लिने शुल्क पनि नगरले तोक्ने बताएका छन् । नगरपालिकाबाट शुल्क तोकिएपछि मात्र नीजि विद्यालयले मासिक शुल्क लिनुपर्ने उनको भनाई छ । मेयर थापाका यी निर्णय निजी विद्यालयको लागि टाउको दुखाई बनेको जनप्रतिनिधि बताउँछन् ।

मेयर थापाले नीजि विद्यालयका शिक्षकमाथि चरम श्रम शोषण भएको भन्दै अर्को निर्देशन पनि जारी गरेका छन् । एक पत्र पठाउँदै उनले शिक्षकलाई दिइने मासिक पारिश्रमिकको विवरण पठाउन पनि नीजि विद्यालयलाई ताकेता गरेका छन् । उनको यस निर्णयले लुम्बिनी प्रदेशमा नै चर्चा पाउन थालेको छ । मेयर थापाले आगामी बर्षसम्म सबै सामुदायिक विद्यालयमा उच्च सुधार आउने दावी गरे । मेयर थापाले नगरभित्रको दरबन्दी मिलान कार्य पनि लगभग सकेका बताइएको छ ।

नगर प्रमुख थापाको मिसनमा त्यहाँको कर्मचारी तप्का पनि डटेर लागेको छ । प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले पनि नगर प्रमुख थापाको शिक्षा क्षेत्र सुधार गर्नको लागि लिएको कदममा साथ दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव जितेका मेयरलाई अधिकांस राजनैतिक दलका वडा अध्यक्षहरुले पनि साथ दिएका समाचार श्रोत बताउँछ । काठमाडौँका मेयर बालेन्द्र शाहले पनि शिक्षा क्षेत्र सुधार्न यस्ता धेरै निर्णय गरेका छन् । मेयर थापाले पनि उनकै मार्ग पछ्याएको हुनाले बालेनसंग तुलना गर्न थालिएको स्थानीय बताउँछन् ।

सानैमा दुख गरेर पढेको, जनताको सुख दुख पनि बुझेको हुनाले नगरबासीप्रति कहिल्यै बेइमानी नगर्ने उनले अपिटाईम्समार्फत् बताए । नगरपालिकामा भ्रष्टाचार न्यूनीकरण गर्न पनि मेयर थापा लागि रहेको बताइन्छ ।