मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुणगान, ढाकछोप र बार्गेनिङ पत्रकारिता पेशामाथिकै अपराध होः अध्यक्ष बस्नेत

गुणगान, ढाकछोप र बार्गेनिङ पत्रकारिता पेशामाथिकै अपराध होः अध्यक्ष बस्नेत

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

कपिलवस्तु । नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारहरुले पित पत्रकारिता गर्न नहुने बताएका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा भएको सम्पादकसंगको संवाद कार्यक्रममा पछिल्लो समय पित पत्रकारिता मौलाएकाले यसको नियमनमा काउन्सिल रहेको अध्यक्ष बस्नेतले बताए । पत्रकारिता विश्वकै संवेदनशिल पेशा भएको हुँदा यसलाई दुरुपयोग गर्न नहुने उनले बताए ।

पत्रकारिता गर्ने बिभिन्न शैली रहने कुरा उल्लेख गर्दै अध्यक्ष बस्नेतले पत्रकारले गुणगान, ढाकछोप र बार्गेनिङ पत्रकारिता गर्नै नहुने बताए । यस्तो पत्रकारिता गर्ने ब्यक्तिले पेशाको नै बदनाम गराउने भएकाले कपिलवस्तुमा पनि यस्तो भएको भए तुरुन्त सच्याउन उनको आग्रह छ ।

‘यदि कुनै पत्रकारले मन परेको मान्छेको गुणगान मात्र गाइरह्यो, गलत कुराको ढाकछोप गरिह्यो र पैसाको मोलमोलाई गरेर समाचार लेख्ने काम गर्यो भने, साथीहरु बुझ्नुस त्यो पेशामाथिकै अपराध हो, उनले भने, ‘यस्तो शैलीले समाजलाई बनाउने भन्दा पनि विगार्ने काममा उद्धत छ, यस्तो अपराध गर्न पत्रकारलाई छुट हुँदैन ।’

मुलुकभर यस्तो पत्रकारिता बढेकाले यसबारेका सयौँ उजुरीको सामना काउन्सिलले गरिरहन परेको उनले जानकारी गराए । समाजमा रहेका विविधि कुराको खोज गर्नु, चिनाउनु र खबरदारी गर्नु पत्रकारिताको धर्म भएको अध्यक्ष बस्नेतको भनाई छ ।

यहि सन्देश बोकेर आफूहरु देश दौडाहामा होमिएको काउन्सिलका सदस्य ठाकुर बेलबासे बताउँछन् । ‘असल पत्रकारहरु गरिब हुने गर्दछन् । पत्रकारले धनी बन्छु भन्ने सोँच राख्न हुँदैन । पत्रकारले कमाउने भनेको पैसा होइन सामाजिक सम्मान हो । असल पत्रकारिता गर्दा बाँच्नै नसकिने भन्ने होइन, बाँचिन्छ तर पित पत्रकारिता गरेर धनी ब्यक्ति पनि अपराधि सरह हुन्छ’, प्रशिक्षणको क्रममा उनले भने । आगामी ३ महिना कपिलवस्तुको पत्रकारिताको अध्ययन गरिने भएकाले संवेदनशिल भएर समाचार सम्प्रेषण गर्न अध्यक्ष बस्नेतले सुझाव दिए ।