मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाध्य भएर लेवी तिर्दै एमाले कपिलवस्तुका अटेर जनप्रतिनिधि, एउटैको भागमा ७२ हजारसम्म

बाध्य भएर लेवी तिर्दै एमाले कपिलवस्तुका अटेर जनप्रतिनिधि, एउटैको भागमा ७२ हजारसम्म

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

कपिलवस्तु । एमाले कपिलवस्तुबाट ७९ वैशाखमा स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई अहिले लेवी तिर्न भ्याइनभ्याई छ । सबै काम छोडेर उनीहरुको पहिलो काम लेवी तिर्ने छ भन्दा फरक नपर्ला । आजसम्म चुपचाप बसी पार्टीको अनुशाषनविपरित नियमित लेबी नतिरेकाहरुले अहिले धमाधम लेबी तिर्न तँछाडमछाड गर्नुको कारण हो सम्मुखमा आएको १० औँ जिल्ला अधिवेशन ।

पार्टीले विगत २ बर्षदेखिको लेबी तिर्न बाँकी रहेका स्थानीय तहका कुनै पनि जनप्रतनिधिलाई यसपटक प्रतिनिधि र उम्मेदवार नबनाउने निर्णय लिएको थियो । सो पार्टीको निर्णयसंगै जिल्लाका १० स्थानीय तहका जनप्रतिनिधि लेबी तिर्न बाध्य भएका हुन् ।
पार्टीको सो कठोर निर्णयसंगै पार्टीमा लाखौँ कोष जम्मा हुने भएको छ ।

एक नेताका अनुसार ती अटेर जनप्रतिनिधिहरु लाजकाजले अहिले लेबी तिर्न वडा, नगर र जिल्ला कमिटिका कार्यालयमा धाइरहेका छन् ।
अपि टाइम्सले प्राप्त गरेको जानकारी अनुसार एक जना जनप्रतिनिधिको भागमा ७२ हजारसम्म लेबी रकम तिर्न बाँकी रकम रहेको छ ।

पार्टीले उम्मेदवार बनेर निर्वाचित भएकाहरुमध्ये नगरप्रमुख र उपप्रमुखको लागि मासिक २५०० र ३०००, वडा अध्यक्षलाई मासिक १५ सय, कार्यपालिका सदस्यलाई मासिक १००० र वडा सदस्यलाई मासिक ५०० का दरले लेवी रकम तोकेको छ ।

यसरी हेर्दा एउटा नगरप्रमुख या पालिका अध्यक्षको भागमा २ बर्षको ७२ हजार, नगर उपप्रमुखको भागमा २ बर्षको ६० हजार, एउटा वडा अध्यक्षको भागमा २ बर्षको ३६ हजार, एउटा कार्यपालिका सदस्यको भागमा २ बर्षको २४ हजार र एउटा वडा सदस्यको भागमा २ बर्षको १२ हजार तिर्नुपर्ने हिसाब बाँकी छ । वडा कमिटी र नगरकमिटिबाट लेवी तिरेको प्रमाणित सिफारिरस गरेपछि मात्र प्रतिनिधि बन्न योग्य हुने गरी पार्टीले निर्णय गरेको थियो ।

वडा सदस्यले वडा कमिटि, वडा अध्यक्ष/कार्यपालिका सदस्यले नगरकमिटि र नगरप्रमुख, उपप्रमुखले जिल्ला कमिटिमा लेवी रकम बुझाउनु पर्ने छ । ती नेताले बताए अनुसार कतिपय प्रमुख र उपप्रमुखले नै लेवी तिरेका छैनन् भने अधिकांस वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्यले पनि लेवी तिरेका छैनन् । कपिलवस्तुमा लगभग १ सय १५ जना जति जनप्रतिनिधि छन् ।

‘पार्टीका वैठकमा नियमित सहभागि नहुने, नियमित लेवी नतिर्नेहरुलाई पार्टीमा अनुशाषनको प्रश्न उठ्ने गर्दछ’, ती नेता भन्छन् ‘आजसम्म लेवी नतिर्नेहरु अनुशाषनहिन, अटेर र अवसरवादी हुन् । यस्तामाथि पार्टीले थप कडाई गर्नुपर्दछ । जरिवानासहित रकम तिराउनुपर्दछ ।’

बिभिन्न कमिटीमा बस्न नपाउन र उम्मेदवार बन्न नपाउने स्थिति सिर्जना भएपछि मात्र उनीहरु लेबी तिर्न बाध्य भएकाले तिनलाई पार्टीले स्पष्टिकरण पनि सोध्नु पर्ने इमान्दार नेता कार्यकर्ता बताउँछन् ।

पार्टीको जिल्ला अधिवेशन हुन अब एक साता मात्र बाँकी छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले वैशाख २६ गते अधिवेशनको उद्घाटन गर्दैछन् । मुलुकको अस्थिर र विचारशुन्य राजनीतिका कारण अहिले पार्टीका नेता कार्यकर्तामा निरासा छ । त्यहि निरासाका कारण लेवि तिर्ने लगायतका काममा सदस्यको रुची नभएको बताइन्छ । यसको चपेटामा मुख्य गरी एमाले, काँग्रेस र माओवादी छन् ।