मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले कपिलवस्तुको अधिवेशनः अध्यक्षमा पुनः पोख्रेल आउने सक्ने यस्तो छ सम्भावना

एमाले कपिलवस्तुको अधिवेशनः अध्यक्षमा पुनः पोख्रेल आउने सक्ने यस्तो छ सम्भावना

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

कपिलवस्तु । वैशाख २६ र २७ गते एमाले कपिलवस्तुको १० औँ जिल्ला अधिवेशन हुँदैछ । अधिवेशनलाई लिएर अहिले माहौल तातिरहेको छ । चुनाव लड्ने नेताहरुले चुनाव प्रचारप्रसारको लागि घरदैलामो हिँड्न थालेका छन् । यसपटक पनि अध्यक्षको लडाई पेचिलो बन्ने देखिन्छ ।

वर्तमान अध्यक्ष डम्बर शर्मा, उपाध्यक्ष तथा संविधान सभा सदस्य विश्राम चौधरी र पुराना नेता बाबुराम खनाल अध्यक्षको दौडमा छन् । तिनै जनाको प्रचार तीव्र छ । केन्द्रका नेताहरु बोकेर उनीहरु चुनावमा छन् । तिन नेताहरुको सक्रियता हेर्दा सहमति हुने सम्भावना देखिन्न, चुनावबाटै अध्यक्ष चयन हुने प्रबल सम्भावना छ ।

तर शीर्ष नेताहरुले भने सहमतिबाट नै नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । चुनावले पार्टीमा गुट खडा हुने र भोलिको दिनमा पार्टीलाई थप संकट पर्ने भएकाले सहमतिमै नेतृत्व छान्न जिल्ला र प्रदेश नेतृत्वलाई दबाब छ ।
एक नेताका अनुसार अध्यक्षको दौडमा रहेका ३ नेताले नै अहिलेसम्म आफ्नो अड्डी छाडेका छैनन् । तर अधिकांस नेताकार्यकर्ताको चाहाना सहमतिमा नेतृत्व चयन होओस् भन्ने रहेको छ ।

अध्यक्ष शर्माले अझै एक कार्यकाल आफुले काम गर्न इच्छा गरेका छन् भने विश्राम थारुले उपाध्यक्ष बनिसकेकाले यसपटक स्वभाविक रुपमा अध्यक्षमा आफ्नो पालो भएको बताउँदै आएका छन् । यता बाबुराम खनालले आफूले पार्टीमा योगदान दिए पनि अहिलेसम्म कुनै पद नपाएकोले आफूलाई यसपटक अध्यक्षमा स्विकार गर्न नेताहरुलाई आग्रह गरेका बताइएको छ । यसअघि अध्यक्ष हुँदा खनाल शर्मासंग ५२ मतले पराजित गरेका थिए ।

शर्माले २ सय ३८ मत प्राप्त गर्दा खनालकोे १ सय ८६ र नेत्रराज अधिकारीले १ सय मत आएको थियो । निर्वाचित भए पनि शर्माले खासै राम्रो काम नगरेकाले नेताकार्यकर्ताले विकल्प खोजेका छन् । तर विकल्पमा आउने उम्मेदवार थारु र खनाल होइनन् । अर्को कोहि खोज्नुपर्दछ, श्रोत बताउँछ । थारुले पनि आफूले पार्टीको सेल कमिटि, गाउँ कमिटि, जिल्ला कमिटि उपसचिव हुँदै हालसम्म विभिन्न समयमा योगदान गरेकाले अहिलेको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेका छन् ।

खनालले पहिलो अधिवेशनको घाइते पात्र आफु रहेको, यसअघि पनि हारेको हुनाले आफ्नो पक्षमा सहमति गर्न नेतृत्वलाई आग्रह गरिरहेका छन् ।

यदि यी तीन नेताको जुँगे लडाइ जारी रहेको अवस्थामा सहमतिको लागि पूर्व अध्यक्ष झविलाल पोख्रेललाई पनि अघि सार्न सकिने सम्भावना रहेको उक्त विश्वस्त श्रोतले अपि टाइम्सलाई बतायो ।

‘पार्टीमा लामो समय योगदान गरेर पनि पोख्रेलले कुनै लाभको पद पाउनु भएको छैन । नेताहरु लडेर गुटबन्दी बढाएर पार्टी बर्बाद हुने स्थिति भयो भने बाध्य भएर पोख्रेललाई अघि सार्नुपर्ने हुन्छ’ ती नेताले थपे ‘उहाँ आउँदा सर्वसम्मति हुने निश्चित छ ।’

‘पार्टीमा बेदाग छवि बनाएका, ‘हो’ लाई हो र ‘होइन’ लाई होइन भन्न सक्ने एक मात्र निष्पक्ष नेता अहिलेको अवस्थामा पोख्रेल नै हुनुहुन्छ, उहाँ अघि सर्दा पनि अध्यक्षको दौडमा रहेका ३ नेता पनि नैतिक रुपले झविको समर्थनमा आउन सक्नुहुन्छ’ एक जना भर पर्दा नेता थप्छन् ‘यो सम्भावना रहनुको पनि अर्को कारण छ ।’

त्यो कारणबारे उनी थप्छन् ‘झवि जि लाई वडाबाट प्रतिनिधि पठाइएको छ । यदि प्रतिनिधि नपठाएको भए त्यो सम्भावना रहँदैनथ्यो । अब प्रतिनिधि भएपछि चुनावमा उम्मेदवार बन्न बाटो खुलेको छ, अन्तिम अवस्थामा यस्तो पनि नहोला भन्न सकिन्न ।’

यसबारे जानकारी लिन पोख्रेललाई फोन गर्दा उनको फोन उठेन । आफ्नोतर्फबाट उहाँको यस्तो इच्छा नभएको तर नेताकार्यकर्ताको अन्तिम चाहाना त्यहि रहेको अवस्थामा नाई भन्न नसक्ने मुडमा पोख्रेल रहेको समाचार श्रोत छ ।

अध्यक्षका प्रत्यासी शर्मा, थारु र खनामध्ये पोख्रेलले खनालको समर्थन गर्दै आएको देखिन्छ । यसअघि शर्मा अध्यक्ष बन्दै गर्दा पार्टीमा बिभिन्न गुट मौलाएको देखिन्छ । अध्यक्ष शर्मा गुट मत्थरतिर भन्दा झन् सिर्जनातिर लागेको हुँदा चुनावले पार्टी थप बिग्रने हो कि भन्ने चिन्ता आम नेता कार्यकर्तामा छ । तुलनात्मक रुपमा संगठन निर्माण, गुटबन्दी अन्त्य, शुसासन कायममा अन्य अध्यक्षभन्दा पोख्रेल सफल अध्यक्ष रहेका धेरै नेताहरु बताउँछन् । पोख्रेलबारेको त्यो उपयुक्त सम्भावना भए पनि नेताहरुको प्रचार तीव्र रहेकाले त्यो सम्भावना नरहेको एक नेताले बताए ।

बाहिर एमाले कपिलवस्तु एक ढिक्का देखिए पनि राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, मन्त्री बलराम अधिकारी, बर्तमान अध्यक्ष शर्मा, प्रदेश सांसद विष्णु पन्थी, सांसद गिरीलालधारी न्यौपाने पनि आआफ्नो गुटको नेताको अघिपछि रहँदा कार्यकर्तालाई अन्यौल छ ।

ती नेता भन्छन् ‘झवि जि हुँदा पार्टीमा त्यति गुट थिएनन् जति डम्बर जि हुँदा भयो । थारु पनि उस्तै गुट सिर्जना गर्ने प्रकृतिका, खनाल नेतृत्व गर्न नसक्ने अवस्थाका रहेका कारण सरप्राइजको रुपमा अध्यक्षमा झविजिको सम्भावना देखिन्छ ।’

यस्तै उपाध्यक्षमा पनि आकांक्षिहरु धेरै छन् । उपाध्यक्ष पदका लागि बाणगंगा नगर इन्चार्ज शंकर पाण्डे, जिल्ला कमिटी सचिवालय सदस्य भेषराज पाण्डे र पिताम्बर खनालको नाम चर्चामा रहेको छ । तिनमध्ये पाण्डेद्धय बढी दौडिएका छन् । नेताहरुका अनुसार उपाध्यक्ष पदमा अरु पनि आउन सक्नेछन् ।

जिल्ला सचिव पदमा पनि अध्यक्ष्माजस्तै कडा प्रतिस्पर्धा हुन सक्ने देखिन्छ । नेकपा एमाले सचिवालय सदस्य तथा जिल्ला निर्वाचन विभाग प्रमुख रहेका विश्व कार्की, हालका सचिव रहेका सिबी गहतराज र बुद्धभूमि नगर इन्चार्ज देवीप्रसाद बेल्वासे अहिलेसम्म चर्चामा छन् । चुनाव भए कार्की र गहतराजबीच नै प्रतिस्पर्धा हुन सक्छ । जित सुनिश्चित रहेको दावीसंगै सबै प्रचारमा छन् ।
अधिवेशनको समुद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने भन् भने जिल्लाका ९६ वडा र २३ वटा जनवर्गीय संगठन तथा आयोजक कमिटीबाट गरी ५ सय बढी प्रतिनिधिहरु अधिवेशनमा सहभागी हुँदै छन् ।