मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बलियो कित्तामा खनालः जिल्ला इन्चार्ज भट्टराई शर्मातिर, थारु भने एक्लो

बलियो कित्तामा खनालः जिल्ला इन्चार्ज भट्टराई शर्मातिर, थारु भने एक्लो

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

कपिलवस्तु । नेकपा एमालेको १० औँ जिल्ला अधिवेशन वैशाख २६ र २७ गते चन्द्रौटामा हुँदै छ । जिल्ला अध्यक्षसहित बिभिन्न पदका आकांक्षीहरू अहिले प्रतिनिधिको घरघरमा अन्तिम भेटघाटमा ब्यस्त छन् भने शीर्ष नेताहरुलाई रिझाउन पनि उत्तिकै लागि परेका छन् । अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा अहिले कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

जिल्ला अध्यक्षका लागि वर्तमान अध्यक्ष डम्मर शर्मा, उपाध्यक्ष विश्रामप्रसाद थारु र जिल्ला उपाध्यक्ष बनिसकेका बाबुराम खनाल दौडमा छन् । यस्तै उपाध्यक्ष पदको लागि बाणगंगा नगर इन्चार्ज शंकर पाण्डे, जिल्ला कमिटी सचिवालय सदस्य भेषराज पाण्डे र पिताम्बर खनालबीच प्रतिस्पर्धा हुँदै छ ।

सचिवमा सचिवालय सदस्य तथा जिल्ला निर्वाचन विभाग प्रमुख विश्व कार्की, हालका सचिव सिबी गहतराज र बुद्धभूमि नगर इन्चार्ज देवीप्रसाद बेलवासेबीच कडा प्रतिस्पर्धा हुने पक्का भएको देखिन्छ ।
उपसचिव पदमा दर्जन बढी आकांक्षी छन् । चर्चामा आएका ब्यक्तिको अन्तिम चुनावी कसरत जारी छ । सबैले चुनाव आआफ्नो पक्षमा पार्ने दावी गरिरहेका छन् । चुनाव भएको खण्डमा जिल्लाका ९६ वडा र २३ वटा जनबर्गिय संगठन तथा आयोजक कमिटिबाट आएका ५ सय बढी प्रतिनिधिले मत खसाल्नेछन् ।

एमालेको केन्द्र र प्रदेश नेतृत्वले सर्वसम्मतको पेलान गरिरहेको छ । केन्द्रको नीतिमा पनि चुनावबाट भन्दा सर्वसहमतिबाट नेतृत्व चयन प्राथमिकतामा पर्ने गरेको छ । कपिलवस्तु क्षेत्र नम्बर १ बाट सांसद भएर अहिलेको सरकारमा भूमि सुधार तथा सहकारी मन्त्री बनेका बललराम अधिकारी नवलपरासी जिल्लाको इन्चार्ज हुन् । चुनाव हुने स्थितिकाबीच केहि दिन अघि नवलपरासीमा अधिकारीले सर्वसम्मतिबाट नेतृत्व चयन गर्न सफल भएका थिए ।

त्यसैले मन्त्री अधिकारी र राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेको योजना सर्वसहमतिबाट नेतृत्व चयन गर्ने रहेको देखिन्छ । झुकाव एकातिर भए पनि घिमिरे र अधिकारी भने अझैसम्म कसैको पक्षमा खुलेर लागेका छैनन् । यता प्रदेश सांसद विष्णु पन्थी पनि अझैसम्म खुलेका छैनन् । पन्थी पनि अहिलेसम्म पर्ख र हेरको अवस्थामा छन् । २७ गतेपछि को कता भन्ने कित्ता क्लियर हुनेछ ।

मन्त्री अधिकारी पनि सहमतिबाटै कपिलवस्तुमा नेतृत्व चयन हुने दावी गर्दछन् । तर अधिकारीले भनेको जस्तो यहाँ सहमति हुने बातावरण बिग्रँदै गएको छ । यसको प्रमुख कारकमा यहाँको इन्चार्जको जिम्मा पाएका खिमलाल भट्टराइको भूमिका देखिन्छ । भट्टराईले अघोषित रुपमा एक जनालाई बोकेर हिँडेका छन् । एक जना जिम्मेवार नेता भन्छन् ‘इन्चार्ज खुलेको देखिँदैन तर उहाँले कसलाई बोकेर हिँड्नु भएको छ, सबै नेताकार्यकर्ताले चाल पाइसके । इन्चार्ज नै एक ब्यक्तिको पक्षमा खुलेर लाग्दा सहमति हुने वातावरण बिग्रँदै गइरहेको छ ।’

समाचार श्रोतका अनुसार खिमलाल डम्बर शर्मालाई अध्यक्ष बनाउने तयारीमा छन् । सकेसम्म सहमतिबाट गराउने, शर्मामा सहमति नभए चुनावबाटै भए पनि शर्मालाई नै अध्यक्ष बनाउने गरी भट्टराई लागेका छन् । ती नेता भन्छन् ‘यो विषय पछि उजागर हुनेछ, भट्टराईको डम्बरप्रति झुकाव रहेको अहिले छर्लङ्ग छ, खुलेको छैन भनेर ढाँट्न नखोज्दा हुन्छ ।’

इन्चार्जको यस्तो भूमिका भए पनि जिल्लाका शीर्ष नेता तथा केन्द्रसम्मै शक्ति संचय गर्न सफल राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे, मन्त्री बलराम अधिकारी भने अझै खुलेर कसैको समर्थनमा लागेको देखिन्न ।

भट्टराई शर्माको पक्षमा देखिँदा विश्राम थारुको पक्षमा अहिलेसम्म प्रभावशाली नेताहरु कोहि खुलेका छैनन् । थारुले आफू निकटका ब्यक्ति लिएर एक्लै घरदैलोमा होमिएका एमालेका नेताहरुले अपि टाइम्सलाई बताए ।

यता अहिलेसम्मको अवस्था हेर्दा भने अध्यक्षमा बाबुराम खनाल बलियो कित्तामा परेको देखिन्छ । किनभने खनालको पक्षमा पुर्व अध्यक्ष झविलाल पोख्रेल नै खुलेर लागेका छन् । पोख्रेल जिल्लामा राम्रो मत भएका पाका नेता मानिन्छन् । पोख्रेलसहित प्रदेश सदस्य धर्म भुसाल, खुम प्रसाद आचार्य, कपिलवस्तु नगर नेतृ सरिता आचार्य लगायत खुलेर लाग्दा अहिलेसम्म खनाल सेभ जोनमा देखिएको नेताको भनाई छ ।

पर्ख र हेरको स्थितिमा रहेका सांसद विष्णु पन्थिको पनि झुकाव खनालतर्फ नै रहेको नेताकार्यकर्ता बताउँछन् । खनालको पक्षमा सहमति नभएर चुनावै भए पनि खनालले नै जित हासिल गर्न सक्ने अनुमान गर्न सकिन्छ । तर चुनाव हुने स्थितिमा प्यानल कसरी बन्छ ? भन्नेले जित हार निर्धारण गर्ने कतिपय नेताहरु बताउँछन् ।

यसअघि पनि चुनाव हारेका, पहिले सुब्बाको जागि छाडेर पार्टीको संगठन निर्माणमा लागेका, स्वच्छ छवि भएका र पुरानो पनि भएको हुनाले खनालको पक्षमा सहानुभूति भोट आउने आंकलन गर्न सकिन्छ । शर्मा र खनालतर्फ नेता खुल्दा विश्राम एक्लो देखिएको सहजै अनुमान गर्न सकिन्छ । अहिलेसम्म थारुको पक्षमा शीर्ष र प्रभावशाली नेता नखुल्दा अन्तिमसम्म उनको अडान कायम रहन्छ या रहँदैन त्यो निश्चित छैन । यदि थारु पछि हटेको खण्डमा पेलेर भए पनि सहमति जनाउने शीर्ष नेतृत्वको तयारी छ । थारुको प्रचार हेर्दा उनी पछि हट्ने स्थितिमा देखिन्न् । शीर्ष नेता नखुले पनि उनैहरुको आग्रहमा थारु अध्यक्षको उम्मेदवार बन्न लागेको समाचार श्रोत बताउँछ ।

अध्यक्षको जुँगे लडाई र गुटकै योजनामा उपाध्यक्ष र सचिव पदका उम्मेदवार सार्वजनिक भएको खुलासा भएको छ । नाम नबताउने शर्तमा एक जना नेताले अपि टाइस्लाई भने, ‘बाबुराम खनाल पक्षबाट बाणगंगा नगरपालिका इन्चार्ज शंकर पाण्डे चुनावमा होमिएका हुन् । पूर्व अध्यक्ष पोख्रेल पनि खनाल पक्षमा लागेका, पाण्डे र पोख्रेलबीच पारिवारिक निकट सम्बन्ध रहेको कारणबाट पनि प्रष्ट हुन्छ कि उपाध्यक्षका प्रत्यासी पाण्डे खनाल प्यानलका हुन् भनेर, उनले थपे यो विषय चुनावी प्यानलले देखाउने छ ।’

यता उपाध्यक्षका अर्का प्रत्यासी भेषराज पाण्डे र सचिव पदका प्रत्यासी विश्व कार्की अध्यक्ष शर्मा प्यानलबाट चुनावमा होमिएका बताइन्छ । ती नेता थप्छन् ‘अहिले भेषराज पाण्डे र विश्व कार्की संगै चुनावको लागि मत माग्दै हिँडेका छन् । उनीहरु चन्द्रौटा, शिवराज, विजयनगर, कृष्णनगर लगायतका क्षेत्रमा पुगेर शर्मासंगै आफूहरुलाई भोट माग्दै हिँडेका नेताकार्यकर्ताले हामीलाई सुचना दिएका छन् ।’

चुनाव भए उपाध्यक्ष पदमा भेषराज खनाल कमजोर हुनेछन् भने पाण्डेद्धयमा ठुलो प्रतिस्पर्धा हुनेछ । उपाध्यक्षका उम्मेदवार भेषराज पाण्डे प्रदेश क को संयोजक हुन् भने शंकर पाण्डे बाणगंगा नगर इन्चार्ज हुन् । एउटै नगरबाट दुई जनालाई यसरी भीडन्त गराउनुमा पनि तिनै नेताको गुट कारण रहेको सजिलै बुझ्न सकिन्छ ।

यस्तो अवस्थामा सचिव पदका प्रत्यासीका देवी बेलबासे झवि र बाबुराम प्यानलबाट खडा हुनेछन् । उपसचिव पदमा भने आधादर्जन बढी आकांक्षी छन् । उपसचिवको हकमा अहिलेसम्म कुनै शीर्ष नेता खलेका छैनन् ।

चुनाव भएमा एमाले कपिलवस्तुमा गुटबन्दी थप मौलाएर जाने भन्दै कार्यकर्ताको जोड सहमतिमा नेतृत्व चयन रहेको बुझ्न सकिन्छ । यसअघि डम्बर शर्मा अध्यक्ष भए पनि उनले कार्यकर्ताको चाहानाअनुसार काम नगरेको, गुट हावी गराएको लगायतका आरोप छन् । तयसैले चुनावको स्थिति आउन नदिनेगरी भूमिा खेल्न शीर्ष नेतृत्वलाई नेताकार्यकर्ताको आग्रह छ ।

नेताहरुको टसमस नगर्ने प्रवृत्तिले चुनाव हुने पक्का छ तर केन्द्रले भने सहमतिको लागि दबबा दिइरहेको छ । भोलि साँझसम्म पनि सहमतिको अन्तिम प्रयास हुने नेताहरु बताउँछन् । पर्सी विहानसम्म सहमति नभए चुनावी प्रकृया सुरु हुने बताइएको छ ।