मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु आएर ओलीले भने- पार्टीभित्र नो ग्रुपिजम, गुटबन्दी मुर्दावाद !

कपिलवस्तु आएर ओलीले भने- पार्टीभित्र नो ग्रुपिजम, गुटबन्दी मुर्दावाद !

अपि टाइम्स

कपिलवस्तु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाट नेतृत्व चयन गर्न जिल्ला नेतृत्वलाई आग्रह गरेका छन् । चुनाव हुँदा पार्टीभित्र गुट सिर्जना हुने र पार्टी विग्रने भएकाले गुट बनाउन नहुने बताए । पार्टीभित्र गुट बनाउने छुट अब कसैलाई नभएको उनको भनाई छ । नेकपा एमाले कपिलवस्तुको १० औँ अधिवेशनको उद्घाटन गर्दै ओलीले ओलीले अहिले धेरै ठाउँमा आकांक्षी धेरै भएको विषय उल्लेख गर्दै सकेसम्म निर्वाचनभन्दा सहमतिमै नेतृत्व छान्न आग्रह गरे ।

उनले भने ‘लडे पनि एउटाबाहेक अरूको सिङ भाँचिने नै हो, जित्नेको पनि सिङ हल्लिएर रहने हो, त्यसैले धैर्यता गरौँ, पालो सबैको आउँछ, सकेसम्म चुनावमा नजानुस्, धैर्यता र समझदारी बनाउन सिक्नुस् । उपाय नलागे निर्वाचनका लागि ढिलाइ नगर्नुहोस्’ ओलीले भने–‘म १४ वर्ष जेल बस्दा केही ढिलो भएन, एक कार्यकाल पर्खनुस्, अर्कोमा पालो आइहाल्छ नि । भइएन छ भने अर्को ठाउँमा अवसर पाइन्छ नि । सकेसम्म एकले अर्कोलाई त्यागेर अगाडि बढ्नुस् पार्टीले कुनै दिन मूल्यांकन गर्छ, गर्छ ।’

अध्यक्ष ओलीले नेतृत्वको लागि माथिबाट कसैलाई केही आश भरोसा नदिइएको प्रष्ट पारे । ‘माथिबाट कसैको कसैलाई समर्थन वा विरोध हुँदैन । जसले सहमतिमा टुङ्गाउँछ वा जसले बढी भोट ल्याउँछ उसैलाई समर्थन हुन्छ, तर जित्नेले कुनै घमन्ड गर्न पाउनेछैन ।’ उनले भने । अध्यक्ष ओलीले कपिलवस्तुमा पार्टीले गरेको प्रगतिको सम्मान गर्दै उचित जिम्मेवारी पनि दिएको जनाए ।
ओलीले पार्टी फुटाएकाहरुको बेहाल भएको सुनाए । उनले भनेका थिए ‘हिजो गलत मनसायबाट पार्टी फुटाउनेहरू कहीँबाट सञ्चालित थिए, अहिले उनीहरूको के हालत भएको छ, केही स्वार्थी व्यक्ति पार्टीमा हुँदा कति धेरै क्षति पुरायो भन्ने विषय सबैलाई प्रष्ट छ ।’

‘पार्टीभित्र गुट बनाउने छुट कसैलाई छैन, यसले कसैलाई फाइदा हुँदैन, पार्टीलाई फाटो ल्याउँछ, एमालेलाई गुटबन्दी स्वीकार्य छैन, योबारे सबै नेता कार्यकर्ता स्पष्ट हुनुपर्छ, अब गुटबन्दीविरुद्ध सबै नेता कार्यकर्ता लागौँ । नो ग्रुपिजम, यसले पार्टीलाई ध्वस्त बनाउँछ, गुटबन्दी मुर्दावाद भनौँ’ ओलीले भने ।

‘हिजो एमालेभित्र रहेका केही स्वार्थीलाई पचेन, डाहा भयो, उनीहरू कहाँबाट सञ्चालित भएका हुन् र ? गलत मनसायले पार्टी फुटाए, कम्युनिष्ट पार्टीको सरकार ढलाएर दक्षिणपन्थीलाई बुझाए, अझै पनि महसुस गरेका छन् वा छैनन् ?’ एमाले अध्यक्ष ओलीले भने–‘कपिलवस्तुले त्यो सबै षडयन्त्रविरुद्ध बनेको गठबन्धनविरुद्ध एकजुट भएको हो पार्टी केन्द्रले कपिलवस्तुलाई उच्च सम्मान गरेको छ । अब पनि त्यो सम्झनुपर्‍यो ।’

‘कपिलवस्तुले उल्लेख्य प्रगति गरेको छ, अवसर पनि पाएको, देशमै ८ मन्त्री हुँदा १ पाएको छ, राष्ट्रिय सभाको उपाध्यक्ष यहीबाट हुनुहुन्छ, प्रदेशमा पनि मन्त्री यहाँबाट हुनुहुन्छ,’ ओलीले भने ‘अहिलेको अधिवेशन सामान्य होइन । लुम्बिनीजस्तो ठाउँमा रहेको प्रदेशमा एमालेको एकल बहुमत नहुनु राम्रो होइन । अनेक थरी शिला खोज्नुपरेको छ सरकार बनाउन, अरुबेला सामान्य हुने पार्टी सरकार बनाउँदा तौल बढी हुन्छ, त्यसैले पार्टीलाई बलियो बनाउने गरी लाग्नुस्, ३ वटै तहमा स्पष्ट बहुमत ल्याउने मिसनमा जुट्नुहोस् ।’

उनले मिसन ०८४ सामान्य नभएको बताउँदै एमालेको बहुमत नभएकाले धेरै विकासका काम हुन नसकेकोले अब पूर्ण बहुमतका साथ तीनै तहमा सरकार बनाउने योजनामा साथ दिन आग्रह गरे ।

’एमालेको काँधमा लोकतन्त्रको प्रवर्द्धन गर्ने, सुशासन ल्याउनेसँगै विकास र समृद्धिको जिम्मेवार छ, यसका लागि एकल सरकार नभई सम्भव छैन, यो कुरा बुझेर अघि बढ्न आग्रह छ । राष्ट्रियताको रक्षाका लागि, पनि एमालेलाई बलियो बनाउनुपर्दछ । तीनै तहमा बहुमत बनाउन नसके विकास असम्भव छ ।, अहिलेको अवस्थामा त यति काम गरेका छौँ, बहुमत भए कति गर्थ्यौ होला रु’ ओलीले भने ।

अधिवेशन उद्घाटनमा एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल, पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज खिमलाल भट्टराई, नेताहरू मङ्गलप्रसाद गुप्ता, बृजेश गुप्तालगायतले सम्बोधन गरेका थिए । दुई दिनसम्म चल्ने अधिवेशनमा ५५९ जना प्रतिनिधि रहेका छन् । नेपाल प्रेसबाट