मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टिकटको ग्यारेन्टीपछि पछि हटे थारु, अध्यक्षमा शर्मा र खनालको भीडन्त

टिकटको ग्यारेन्टीपछि पछि हटे थारु, अध्यक्षमा शर्मा र खनालको भीडन्त

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

बाणगंगा । सहमति टरेपछि नेकपा (एमाले) कपिलवस्तुको नयाँ नेतृत्व चुनावबाट आउने भएको छ । यसको लागि आज विहान ८ बजेदेखि निर्वाचन प्रक्रियाको थालनी हुने एमाले कपिलवस्तुले जनाएको छ ।

सुरुमा अध्यक्षमा आकांक्षी ३ जना रहे पनि विश्राम थारु अन्तिममा आएर पछि हटेका छन् । उनी पछि हटेपछि अब डम्बर शर्मा र बाबुराम खनालबीच अध्यक्षमा भीडन्त हुँदैछ । नवौँ अधिवेशनमा पनि शर्मा र खनाल चुनावमा भिँडन्त भएको थियो । जसमा शर्माले खनाललाई ५२ मतले पराजित गरेका थिए ।

यसकारण पछि हटे थारु
अध्यक्षबाट पछि हटेपछि थारुले शर्मालाई साथ दिएको बुझिएको छ । तिन जनाको भीडन्तमा थारुको सहभागिताले आफूलाई समस्या हुने ठानी शर्मा पक्षले थारुलाई पछि हटाएको समाचार श्रोत छ । उनलाई आगामी स्थानीय तह या प्रदेश सभा सदस्य पदको चुनावमा टिकट ग्यारेन्टीको आश्वासनपछि थारु पछि हटेको नेताहरु बताउँछन् ।

उसो त उद्घाटन सत्रमा पनि ओलीले नेताहरुलाई त्याग गर्न आग्रह गरेका थिए । अहिले त्याग गर्नेलाई स्थानीय, प्रदेश र संघमा पनि ठाउँ रहेको बताएका थिए । टिकट दिने विषय बाहिर सार्वजनिक नगरे पनि आन्तरिक रुपमा नेताहरुबीच यहि समझदारी बनेको हुन सक्ने बताइन्छ । थारुले यसअघि पनि बाणगंगा नगरप्रमुख, प्रदेशसभा र समानुपातिक सुचिमा आफूलाई ठाउँ दिन आग्रह गरेका थिए ।

तर थारुले भने पार्टीमा लडाई गर्न नहुने र आफ्नै कारण थप समस्या नहोओस् भनेर पछि हटेको बताएका छन् । नेताहरुले थारु अध्यक्षको लागि योग्य ब्यक्ति रहेको बताउँदै उनको त्यागलाई राम्रो रुपमा बुझेका छन् ।

अरु कुन पदमा कसको भीडन्त ?

यस्तै एउटा उपाध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । भेषराज शर्मा र शंकर पाण्डेबीच उपाध्यक्ष पदमा चुनाव हुनेछ ।

सचिवमा पनि सिबी गहतराज र विश्व कार्की बीच प्रतिस्पर्धा हुँदैछ । एउटा उपसचिव पदका लागि ७ जनाको उम्मेदवारी परेको छ । यसका लागि कमल क्षेत्री, गोविन्द आचार्य (विकास) देवीबहादुर पोख्रेल, विष्णु प्रसाद गौतम, शारदानन्द यादव, विनोदकुमार चौधरी प्रतिस्पर्धामा छन् ।

१२ जना खुल्ला जिल्ला सदस्यका लागि ४३ जना चुनावी मैदानमा छन् । १५ जना महिला सदस्य सर्वसम्मत भएका छन् ।

पालिका तर्फका खुल्ला, महिला, दलित, आदीवासी जनजाती लगायतका पदमा पनि चुनाव हुँदैछ ।