मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘बुद्धभूमि मोही’ अब कपिलवस्तुको मौलिक पहिचान बोत्तलको ४०

‘बुद्धभूमि मोही’ अब कपिलवस्तुको मौलिक पहिचान बोत्तलको ४०

अपि टाइम्स

बुद्धभूमि । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु गरेको छ । उक्त उद्योगले वैैशाख पहिलो हप्तादेखि दैनिक एक हजार लिटर महीको व्यावसायिक उत्पादन र बिक्रि सुुरु गरेको हो ।

५० करोड लगानीमा ९ वर्ष अघि सञ्चालनमा आएको नेपालकै दोस्रो ठूलो डेरी उद्योगले नेपालमै पहिलोपटक बोतलिङ र लेभलिङ गरी महीको व्यवसायिक उत्पादन सुरु गरेको दाबी गरेको छ । उद्योगले एक लिटरको बोतलमा मही बजारमा ल्याएको छ ।

सुरुवाति चरणमा कपिलवस्तुका २ वटा स्थानीय तहका बजार क्षेत्रमा दैनिक एक हजार लिटर मही बिक्रि भइरहेको उद्योगका सञ्चालक जनक न्यौपानेले बताए । ‘बुद्धभूमि’ ब्रान्डमा बजारमा आएको महीको उपभोक्ता मूल्य ५० रुपैयां कायम गरेको छ । बोतल र स्टिकरमा मात्र १५ रुपैयाँ खर्च भएकाले उद्योगको प्रतिबोतल लागत ४० रुपैयाँ रहेको न्यौपानेले बताए ।

अहिलेलाई उत्पादन गरेको ५ दिनसम्म मही उपभोगयोग्य हुने उद्योगले जनाएको छ । ‘दैनिक उत्पादन हुने एक हजार लिटर मही ५ दिन अगावै बिक्रि भएको छ, बजारबाट एकदमै राम्रो रेस्पोन्स आएको छ’, न्यौपानेले भने ।

बजारमा पाइने बहुराष्ट्रिय र अन्य कम्पनीका चिसो पेय पदार्थको विकल्पमा उपभोक्ताले महीलाई राम्रो भनेर सकारात्मक प्रतिक्रिया आएपछि उत्साहित भएको न्यौपानेले बताए ।

महीको बिक्रि वितरण प्रदेशभर र भविष्यमा देशभर गर्ने लक्ष्यसहित खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट महीको छुट्टै अनुज्ञापत्र लिने प्रक्रिया अघि बढेको र लगानी थपेर काम गर्न लागेको उद्योगका अध्यक्ष थानेश्वर न्यौपानेले बताए ।

महीको व्यवसायिक उत्पादन सफल भएमा किसानको दुध बिक्रि नहुने समस्या हट्ने उद्योगका अर्का सञ्चालक कमल न्यौपानेले बताए । हाल ५० हजार लिटर दुध बिक्रि गरिरहेको उद्योगले भविष्यमा धुलो ९पाउडर० दुध उत्पादन र महीको उत्पादन बढाएर दैनिक एक लाख लिटर दुध व्यवस्थापन गर्ने योजना रहेको न्यौपानेले बताए । उनले यसलाई कपिलवस्तुको मौलिक पहिचानको रुपमा विकास गर्ने बताए ।

नारायणी पूर्वमा ७ वटा पाउडर दुग्ध उद्योग रहेका तर नारायणी पश्चिममा एउटा पनि पाउडर दुग्ध उद्योग नभएकाले सरकारले यसका लागि अनुमति दिनुपर्ने उनको माग छ । यो उद्योगका लुम्बिनी प्रदेशमा ८१ स्थानमा दुध संकलन केन्द्र सञ्चालनमा छन् भने १५ हजार किसान आबद्ध छन् । उद्योगले २ सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।