मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निशुल्क स्वास्थ्य विमा गराउने पहिलो वन बन्यो ‘श्रृङ्गीघाट’

निशुल्क स्वास्थ्य विमा गराउने पहिलो वन बन्यो ‘श्रृङ्गीघाट’

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर ४ बुङचीकी बन्दना थारु सधैँका दिनमाभन्दा शुक्रबार विहान औधि खुसी देखिन्थिन् । उनको मुहार खुसीको चमकले भरिएको थियो ।

सोही वडाको दरखास्त टोलका बलदेव थारुको मुहारमा पनि कम्ता खुसी थिएन । सोही वडाकै धन बहादुर कार्की, नर्मदा पन्त, माधव थारु, सोनिया थारु, रिता चौधरी, जुद्ध बहादुर रासकोटी, पविता थारु पनि हातमा रहेको कार्ड हेर्दै रुखको छहारीमुनी बसेर मुसुमुसु मुस्कुराउँदै थिए ।

किनकि श्रृङ्गीघाट सामुदायिक बन उपभेक्ता समितिले पहिलोपटक उनीहरुको निशुल्क स्वास्थ्य विमा गरिदिएको छ । त्यहि स्वास्थ्य विमाको कार्ड प्राप्त गरेपछि खुसी भएका हुन् । उनीहरु मात्र होइन वनमा उपभोक्ता रहेका अति विपन्न परिवारका एक सय जनाको घरपरिवारमा अहिले यस्तै खुसी छरिएको छ ।

नगरकै ठुलोमध्येको वनमा १४ मौजा छन् । तिनै १४ मौजबाट ७७ जनाका दरले अति विपन्न परिवार छनौट गरेर निशुल्क स्वास्थ्य विमा कार्यक्रम सुरु गरिएको वनका अध्यक्ष वनका अध्यक्ष शुशिल सिंह ठकुरी (गणेश) ले बताए ।
उनका अनुसार ५ जना सदस्य रहेको परिवारको लागि प्रतिपरिवार ३५ सयको दरले गत जेठबाट लागु हुने गरी वनले स्वास्थ्य विमाको कार्ड बनाइदिएको छ । यो कार्ड लिएर तोकिएका अस्पतालमा जाँदा १ लाख रुपैयाँसम्मको उपचारमा कुनै शुल्क नलाग्ने अध्यक्ष ठकुरीले जानकारी दिएका थिए ।

वनको काम केवल रुख, रोप्ने, कटान गर्ने मात्र नभएर आफ्ना उपभोक्ताको जीवन रक्षा गर्ने पनि रहेको हुँदा स्वास्थ्य विमाको अवधारण अघि सारिएको अध्यक्ष वनले उपभोक्ताको स्वास्थ्य र शिक्षाको विकासमा महत्वपूर्ण ढंगबाट काम गरिरहेको अध्यक्ष ठकुरीले बताए ।

स्वास्थ्य विमा प्राप्त गरेकाहरुले पनि वनलाई धन्यबाद दिए । आर्थिक अवस्था कमजोर भएर कतिपय अवस्थामा उपचारबाट बञ्चित नै हुनुपरेको अवस्था स्मरण गर्दै वन्दना थारुले आफू मात्रै होइन परिवारका अन्य सदस्यले पनि अब निशुल्क स्वास्थ्य उपचार पाउने भन्दै खुसी ब्यक्त गरिन् ।

अहिले सय जनाबाट विमाको सुरुवात गरे पनि विस्तारै अन्य उपभोक्तामाझ पनि लैजाने वनको दावी छ ।
कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ४ का वडाअध्यक्ष छवि रेश्मी, विशिष्ट अतिथि वडा नम्बर १ का वडाअध्यक्ष सञ्जु शारु, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री लगायतले वनले सुरु गरेको स्वास्थ्य विमा कार्यक्रम निकै प्रभावकारी रहेको बताए ।

स्वास्थ्य विमाले कुनै पनि परिवारको स्वास्थ्य जोखिम कम गर्न निकै ठुलो भूमिका निर्वाहा गर्ने भएकाले यसको महत्व बुझ्नुपर्ने उनीहरुको भनाई छ ।
जिल्ला विमा अभिकर्ता ठाकुर पोख्रेलले वनबाट नागरिकको निशुल्क स्वास्थ्य विमा गरेको पहिलो उदाहरण श्रृङ्गीघाट वन रहेको भन्दै प्रसंसा गरे । उनले वनलाई धन्यबाद दिँदै स्वास्थ्य विमाको महत्व पनि बुझाए । आफूले अहिलेसम्म वनले स्वास्थ्य विमा गराएको कतै नसुनेको र नपढेको बताउँदै पोख्रेलले स्वास्थ्य विमा गर्दा ठुलो स्वास्थ्य जोखिम टर्नेे बताए ।

बाणगंगा नगरपालिका र त्यस मातहतका वडाले गर्ने काम पनि वनले गर्नु आफैमा उदाहरणीय भएको भन्दै उनले बाणगंगा नगरले नागरिकको स्वास्थ्य विमा गराउने सवालमा काम नै नगरेको दावी गरे । स्वास्थ्य विमा गराउने सवालमा नगर र वडाको नेतृत्वको भूमिका लज्जास्पद नै रहेको उनले बताएका थिए ।

वनकी सचिव शुष्मा खाँणले कार्यक्रम संचालन गर्दै शिक्षा र स्वास्थ्यको क्षेत्रमा वनले निकै राम्रोसंग काम गरिरहेको सुनाइन् ।
वनमा आवद्ध रहेका सबै ब्यक्ति सम्पन्न नभएको र कतिपयको स्वास्थ्य उपचार गर्ने अवस्था पनि नभएको हुँदा यस कार्यक्रमले लाभ दिने वनका सदस्य हरि पौडेलले विश्वास लिए । कार्यक्रममा वनका सल्लाहाकार जंग बहादुर क्षेत्री, शालिकराम भुसाल लगायतले बोलेका थिए । कतिपय उपभोक्ता र वनका सदस्यले स्वास्थ्य विमाबारेका जिज्ञासा राखेका थिए । लुम्बिनी प्रदेशका वनमा अझै यस्तो कायृक्रम सुरु भएको तथ्याङ्क छैन ।

स्वास्थ्य विमा कार्ड प्रदान गरेपछि वनका पदाधिकारी र अतिथिहरु