मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिनादिन नपुग्दै लुम्बिनीका वनमन्त्री विवादमा, किन मागियो राजिनामा ?

महिनादिन नपुग्दै लुम्बिनीका वनमन्त्री विवादमा, किन मागियो राजिनामा ?

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

कपिलवस्तु । आइतबार वैज्ञानिक वन ब्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघले कपिलवस्तुको बाणगंगामा एउटा कार्यक्रम राखेको थियो । कार्यक्रमको नाम थियो, ‘लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री अर्जुन केसीको स्वागत,
सम्मान तथा अन्र्तक्रिया ।’ महासंघमा आवद्ध रहेका कपिलवस्तुका अधिकांस वनका अध्यक्ष, पदाधिकारीहरु वनमव्त्रीलाई आफ्नो कुरा सुनाउन भन्दै खादा र माला लिएर विहान ७ बजेदेखि नै लामवद्ध भएर मायादेवी रिसोर्टमा कुरेर बसेका थिए । करिब ३ /४ सय जनाको कार्यक्रममा सहभागिता थियो ।

मन्त्री आउने कार्यक्रमले उत्साहित बनेका सबै वनकर्मी मन्त्री विहान ९ बजेसम्म पनि मन्त्री नआएपछि निरास थिए । मन्त्री समयमा नआएपछि वनकर्मीहरुले कारणबारे सोध्दै थिए । कतिपयले कार्यक्रम समयमै सुरु नभएकोमा खिन्नता प्रकट गरिरहेका थिए । कतिपय त घर फर्कदै थिए ।

मन्त्री आउन भएको ढिलाईबारे बुझ्ने काम पनि भइरहेको थियो । कतिपयले मन्त्री नआउने भन्दै थिए भने कतिपयले आउनुहुन्छ भनेर आश्वासन दिइरहेका थिए । मानिसहरुमा मन्त्री नआउने हल्ला पनि चलिरहेको थियो । खाना नखाएर विहानै कार्यक्रममा आएका वनकर्मी मन्त्रीको अनिश्चितताले खाजा खान थाले । यतिखेरसम्म करिब पौने ९ भएको थियो । त्यसको करिब १५ मिनेटपछि करिब नौ बजे मन्त्री केसी मायादेवी रिसोर्टको परिसरमा आए तर भित्र कार्यक्रममा सहभागि नहुने बताए । मन्त्रीले ‘बाहिरबाटै जान्छु’ भनेपछि वातावरण बिग्रँदो थियो । यसको कारणबारे अलिकति जानकारी पाइरहेकाहरु मन्त्रीले राजनीति गर्न थालेको बताउँदै थिए ।

एकैछिनमा हलभित्रबाट सबै मान्छे बाहिर आए, मन्त्रीले आफ्नो ब्यस्त समय र सहभागिता हुन नसक्नेबारेका कारण बताइहेका थिए । भित्रको भव्य कार्यक्रममा खादा मालाले सम्मान गर्ने तयारी गरेर बसेको आयोजकको निद्रा त्यतिबेला हराम भयो, जब मन्त्रीले ‘म भित्र जान्नँ’ भने । नभन्दै मन्त्री भित्र गएनन् । मन्त्रालयका सचिवलाई खटाएर बाहिरबाटै खादा ग्रहण गरेर विदा भए ।

त्यसपछि मन्त्रीविनैको कार्यक्रम सुरु भयो । मन्त्रीको लागि स्वागत तथा सम्मान लेखिएको अक्षर नै कागजले छोपेर अन्र्तक्रिया शब्द राखेर औपचारिक कार्यक्रम सुरु भयो । औपचारिक कार्यक्रममा बोल्ने वनसम्वद्ध ब्यक्तिले वनमन्त्री केसीको
राजिनामा नै माग गरे । उसो त मन्त्रीसंग बाहिरै केहि ब्यक्तिसंग नोकझोँक चलेको थियो । मन्त्री ज्यूले अपमान गरेको भन्दै एक जना वनका अध्यक्षले नै मन्त्री केसीकै अघि झोँक्किएका थिए ।

महासंघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज रेग्मीले मन्त्रीले गरेको अपमान भन्दै नमजा आएको बताए । मन्त्रीको स्वागत गरेर आफ्ना समस्या राख्ने गरी जिल्लाभरीका वनका साथीहरु उत्साहित भएर सहभागि भएको कार्यक्रममा मन्त्रीको
अनुपिस्थतिले निरासा थपेको बताए । सहभागिको तर्फबाट आफ्ना कुरा राख्न मञ्चमा ढेका कोइलीचौर सामुदायिक वनका अध्यक्ष कुन्तामणी भुसालले मन्त्रीको राजिनामा नै मागे ।

आफूहरु कुनै केटाकेटी नभएको भन्दै मन्त्रीले चार पाँचसय वनकर्मीलाई खेलौना बनाएको भन्दै राजिनामा मागेका हुन् । मन्त्रीले आफूहरुको घोर अपमान गरेको भन्दै उनले मन्त्रीले मुल्य नै चुकाउने स्थति नआउला भन्न नसकिने बताए । उनको यो भनाइमा सहभागिले तालि बजाएर ऐक्यवद्धता जनाए । कार्यक्रममा सहभागि भएका धेरै ब्यक्तिले वनमन्त्रीले आफूहरुमाथि अपमान नै गरेको बताइरहेका थिए ।

यता मन्त्रालयका सचिव मोहनराज काफ्ले, बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्याल, डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदी, वडा नम्ब्र २ का वडा अध्यक्ष विष्णु पौडेलले मन्त्रीको बचाउमा गर्दै बोले । नगर प्रमुख अर्याल त मन्त्रीको ढाल नै बने । उनले मन्त्रीको ब्यस्तता र विवादित कार्यक्रम रहेको भन्दै सहभागि हुन नसकेको कुरा नबुझेर राजिनामा माग्नु गलत रहेको बताए । महासंघसंग मन्त्रीको राजिनामा माग्ने हैसियत नभएको भन्दै आगामी दिनमा सच्चन उनले सुझाव दिए ।

मेयर अर्यालले वनका विषयमा सामुदायिक वनहरुको संगठन सामुदायिक वन उपभोक्ता महासंघ ( फेकोफेन) र वैज्ञानिक वन ब्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघका कुनै कार्यक्रममा मन्त्रीलाई जान छुट नरहेको, माथिबाट यी २ संस्थाका कार्यक्रममा जान अनुमति नभएको कुरा स्पष्ट पार्दै आयोजकलाई झपारे । केहिदिन अघि फेकोफेनको कार्यक्रममा पनि मन्त्री सहभागि नभएको भन्दै अन्यथा नलिन आग्रह गरे ।

वनका सचिव र डिएफओ सुवेदीले मन्त्रीज्यूको राजिनामा माग्नु राम्रो नभएको बताए । वनका नियम कानुन बताउँदै उनीहरुले वन ऐन र नियमअनुसार काम गर्न सुझाए । फेकोफेन र महासंघ आपसमा लड्ने कुरा राम्रो नभएको उनीहरुको भनाई छ । वनको उत्पादन र आम्दानी सामुदायिक कार्यमा खर्च गर्न उनीहरुले आग्रह गरे । फेकोफन र वैज्ञानिक वन उपभोक्ता महासंघको आपसको लडाइले मन्त्रीलाई समेत अफ्ट्यारो र विवादमा पारेको हुँदा यसो नगर्न उनीहरुको सुझाव थियो ।

आफ्नो स्वार्थ सिद्ध गर्नको लागि २ संस्था बनेका बताइएको छ । महासंघकी अध्यक्ष रेनु सेनले वैज्ञानिक वन ब्यवस्थापनले अहिले मुलुकमा धेरै राम्रो काम भएको । वनकै कारण गाउँठाउँको विकास भएको बताउँदै आफूहरुमाथि राज्यले अझै पनि हेलाको भावले हेर्ने गरेको उनले बताइन् । मन्त्रीको स्वागत कार्यक्रम राखेर उनैलाई स्वागत गर्न नपाउँदा सबै जना दुखि भएको सेनले बताइन् । वैज्ञानिक वन र यसका संचालकमाथिका कुनै पनि प्रहार अब सह्य नहुने उनको चेतावनी छ ।

गत वैशाख १२ गते विनाविभागीय मन्त्रीको सपथ खाएका मन्त्री केसीले केहिदिनपछि वनमन्त्रालयको जिम्मेवारी पाएका थिए । उनी मन्त्री भएको १ महिना पनि पुरा भएको छैन । एक महिना पुरा नहुँदै मन्त्री विवादमा पर्नु, राजिनामा माग
गर्नुपर्ने अवस्था आउनु राम्रो नभएको मायादेवी साझेदार बनका अध्यक्ष दिनेश जैसवालले बताए । वनमा काँडाले घोच्दा पनि नदुखेका वनकर्मी मन्त्रीको अपमानले दुखेका उनले सुनाए । वनमा रेहेका विवाद, ऐन र नियममा रहेको अस्पष्टामाथि आज छलफल गर्ने भन्दै कार्यक्रम गरे पनि मन्त्रीले धोका दिदा निरास हुनुपरेको उनले बताए ।

खासमा के हो विवाद ?

मुलुकमा अहिले बिभिन्न प्रकृतिका वन छन् । आइतबारको विवाद भनेको सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफेन) र वैज्ञानिक वन ब्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघबीचको जुँगे लडाई हो । यी २ संस्थाले एकले अर्काको अस्तित्व स्वीकार गर्न नसकेको स्थिति छ । फेकोफनको कार्यक्रममा सहभागि नभएकाले महासंघको कार्यक्रममा सहभागि नभएका मन्त्रीनिकट श्रोत बताउँछ । फेकोफनका ब्यक्तिले महासंघको कार्यक्रममा जान नहुने गरी दबाब बढाएको कार्यक्रममा सहभागिले बताएका थिए भने पार्टीले पनि मन्त्रीलाई उचाल्ने काम गरेको कतिपय बताउँथे ।

यहि कारणले गर्दा मन्त्रीलाई अफ्ट्यारो परेको बताइन्छ । यता महासंघका अधिकांस सदस्यले मन्त्री भएपछि सबैको साझा ब्यक्ति भएकाले सबै कार्यक्रममा जानुपर्ने र पूवाग्र्र्र्रह पाल्न नहुने सुझाव दिन्छन् ।

‘कार्यक्रममा आएर बस्न नभ्याए पनि मंचमा पुगेर आफ्नो बाध्यताबारे सुनाएको भए हामी कन्भिन्स हुन्थ्यौँ तर मन्त्री ज्यू त चारपाँच सय मान्छेको मान मर्दन हुने गरी बाहिरबाटै जानुभयो । हामीले त्यसरी विवादमा पार्न खोजेका थिएनौँ । उहाँलाई किन अफ्ट्यारो लागेको हो हामीले बुझ््न सकेनौँ । तर उहाँले जे गर्नुभयो नराम्रो गर्नुभयो । मन्त्री फेकोफनमा पनि जानुपर्दछ । हामीकहाँ पनि आउनुपर्दछ । यहाँ जान्छु, त्यहाँ जान्छु भन्न मिल्दैन’, महासंघका लुम्बिनी प्रदेश अध्यक्ष दीपक थापाले भने । ‘यसबारे गम्भीर छलफल हुने र प्रदेश कार्यालयमै गएर कुरा गर्ने उनले बताए ।’ यता मन्त्रीले संसद वैठक लगायतका कारण देखाउँदै बाहिरिएका थिए ।