मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालेनको डोजरले भत्कायो ५१ वटा घर–टहरा, सटर र पर्खाल

बालेनको डोजरले भत्कायो ५१ वटा घर–टहरा, सटर र पर्खाल

अपि टाइम्स

काठमाडौँ — काठमाडौं महानगरपालिकाले सडक अतिक्रमण गरेर बनाइएका ५१ वटा घर–टहरा, सटर र पर्खाल भत्काएको छ । आइतबार दिउँसो डोजर लगाएर गौशाला र वाग्मती करिडोरको तीनकुनेमा बनाइएका त्यस्ता संरचना भत्काएको हो ।

गौशाला क्षेत्रमा ३० वटा सटर पूर्ण रूपमा र ६ वटा पक्की घरको अगाडिपट्टिको भाग भत्काइएको काठमाडौं नगर प्रहरीका एसपी दिनेश अर्यालले बताए ।

उता वाग्मती करिडोरको तीनकुनेस्थित प्रहरी चौकी आसपासका १३ वटा सटर, टहरा र वालहरू भत्काइएको छ । सडक भाग मिचेर बनाइएका संरचना हटाइएको हो । अतिक्रमित सडक खाली गराउने कार्य निरन्तर जारी राख्ने एसपी अर्यालले बताए । ‘कसैले मुआब्जा नै लिइसकेको, कसैले नक्सापास नगरेको, सडकको भाग ढाकेर बनाएको हुनाले त्यस्ता संरचना हटाइएको हो,’ उनले भने, ‘आइतबारबाट त्यस्ता संरचना हटाउन सुरु गरिएको छ, वाग्मती करिडोरको सडक मिचिएका सबै संरचना अब दिनदिनै हटाउँदै जानेछौं ।’

काठमाडौं उपत्यकाभित्रका नगरपालिका र नगरोन्मुख पालिकामा गरिने निर्माणसम्बन्धी मापदण्ड अनुसार वाग्मती नदी किनारामा घर–संरचना निर्माण गर्दा दायाँबायाँ २०र२० मिटर छोड्नुपर्ने प्रावधान छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले स्थानीयलाई विभिन्न माध्यमले सूचित गरिएको भए पनि अटेर गरेर अवैधानिक संरचना नहटाएकाले महानगरपालिका डोजर चलाउन बाध्य भएको बताए । ‘हामीले सात दिनअघि नै सूचना गरेका हौं, तोकिएको समयमा नहटाएपछि आफैंले हटाउन थाल्यौं,’ उनले भने, ‘अनधिकृत संरचना पूर्ण रूपमा नभत्काएसम्म यो क्रम निरन्तर चलिरहन्छ ।’